Friday 29 August 2014

156. No. 123 श्लोक १७ कर्महरुको तत्व पनि जान्नु पर्छ र अकर्मको तत्व पनि जान्नुपर्छ तथा विकर्मको तत्व पनि

No. 123
श्लोक १७

कर्महरुको तत्व पनि जान्नु पर्छ र अकर्मको तत्व पनि जान्नुपर्छ तथा विकर्मको तत्व पनि जान्नुपर्छ; किनकि कर्महरुको गति गहन छ अर्थात् बुझ्न वडो कठिन छ ।
कर्म गर्दा पनि निर्लिप्त रहनु नै कर्मको तत्व जान्नु हो । कर्म स्वरूपले एकै देखिए कर्ताको अन्तःकरणको भाव अनुसार कर्मका तीन भेद हुन्छन् । ती हुन् -- कर्म, विकर्म र अकर्म । सकामभावले गरिएका शास्त्रविहित क्रिया 'कर्म' वन्छन्, फलेच्छा, ममता र आसक्तिदेखि रहित भएर केवल अरुकोलागि गरिएको कर्म 'अकर्म' वन्छ । विहित कर्म पनि अरुको अहित गर्ने अथवा उसलाई दुःख पुर्याउने भावले गरिएको छ भने त्यो कर्म पनि विकर्म वन्छ । निषिद्ध कर्म त 'विकर्म' हो नै ।
निर्लिप्त रहँदै कर्म गर्नु नै अकर्मको तत्व जान्नु हो । कामनावाट कर्म हुन्छन्, कामना धेरै वढेपछि विकर्म (पापकर्म) हुन्छन् ।       

दोश्रो अध्यायमा भगवानले भन्नुभयो, 'युद्ध जस्तो हिंसायुक्त घोर कर्म पनि शास्त्रको आज्ञाले र समतापूर्वक (जय-पराजय, लाभ-हानि र सुख-दुःख समान सम्झेर) गरियो भने पाप लाग्दैन । अर्को शब्दमा, समतापूर्वक कर्म हेर्दा विकर्म जस्तो देखिए पनि त्यो 'अकर्म' नै हुन्छ ।

शास्त्रनिषिद्ध कर्मको नाम 'विकर्म' हो । विकर्म हुनमा कामना नै हेतु हो । अतः विकर्मको तत्व हो -- कामना र विकर्मको तत्व जान्नु -- विकर्मको स्वरूपदेखि नै त्याग गर्नु तथा विकर्मको कारण कामनाको त्याग गर्नु ।
कुन चाहिं कर्म मुक्त गर्ने र कुन चाहिं कर्म वाँध्ने भन्ने कुराको निर्णय गर्न निकै कठिन छ । कर्म के हो, अकर्म के हो र विकर्म के हो -- यसको तत्व जान्न पनि ठूला-ठूला शास्त्रज्ञ (शास्त्रको जानकार) विद्वान पनि आफूलाई असमर्थ पाउँछन् । अर्जुन पनि यो तत्व नजानेको कारण आफ्नो युद्धरुप कर्तव्य-कर्मलाई घोर मान्छन् । अतः कर्मको गति (ज्ञान या तत्व) धेरै गहन छ ।

जुन कामनाले कर्म हुन्छन्, तीनै कामना धेरै वढ्दा 'विकर्म' हुन थाल्छन् । तर कामना नष्ट भएपछि सबै कर्म 'अकर्म' हुन्छन् । यो प्रकरणको खास तात्पर्य, 'अकर्म' जान्नमा नै छ र अकर्म हुन्छ कामनाको नाशवाट । कामनाको नाश भएपछि विकर्म हुँदै हुँदैन । विकर्मको विवेचनको जरुरत नै छैन । त्यसैले यो प्रकरणमा विकर्मको कुरा आएकै छैन । अर्को कुरो, पापजनक र नरकहरुको प्राप्ति गराउने विकर्म सँधै त्याज्य छ । यसैले पनि यसको विस्तार नगरिएको हो । तर, विकर्मको मूल कारण 'कामना'को त्याग गर्ने भाव यो प्रकरणमा मुख्य रूपले आएको छ ।

हाम्रोलागि अथवा अरुकोलागि, अहिले र परिणाममा कुन कर्मको के फल हुन्छ भन्ने बुझ्न धेरै गाहारो छ । कुनै कर्म गर्न मनुष्य आफ्नो हित सम्झन्छ, तर भइदिन्छ अहित । मनुष्य लाभकोलागि गर्छ, तर भइदिन्छ नोक्सान । ऊ सुखकोलागि गर्छ, तर पाउँछ दुःख । कारण कि कर्तृत्वाभिमान र फलेच्छा (सुखासक्ति) रहेकोले मनुष्य कर्महरुको गति बुझ्न सक्तैन ।  

Song of the Session: Guru_Ashtakam

No comments:

Post a Comment