Friday, 23 January 2015

No 142 श्लोक १० त्यो भक्तियुक्त मनुष्य अन्त समयमा अचल मनले योगबल द्वारा भृकुटीको वीचमा श्लोक ११ वेद्वेत्ताहरुले भन्ने 'अक्षर'लाई वीतराग यति प्राप्त गर्छन् र साधक यसको प्राप्तिको इच्छा गर्दै ब्

श्लोक १०

त्यो भक्तियुक्त मनुष्य अन्त समयमा अचल मनले योगबल द्वारा भृकुटीको वीचमा प्राणहरुलाई राम्रोसँग प्रविष्ट गरेर (शरीर छोडेपछि) त्यो परम दिव्य पुरुषलाई नै प्राप्त गर्छ । 

'प्रयाणकाले मनसाचलेन ……. स तं परं पुरुषमुपैति दिव्यम्' -- यहाँ भक्ति नाम प्रियताको हो; किनकि त्यो तत्वमा प्रियता (आकर्षण) हुँदा नै मन अचल हुन्छ । त्यो भक्ति अर्थात् प्रियता स्वयंसँग हुन्छ, मन-बुद्धिसँग होइन । 

अन्तकालमा कवि, पुराण, अनुशासिता आदि विशेषणहरुले भनिएको सगुण-निराकार परमात्मामा भक्तियुक्त मनुष्यको मन स्थिर हुनु अर्थात् सगुण-निराकार-स्वरूपमा आदरपूर्वक दृढ हुनु नै मन अचल हुनु हो ।

पहिले प्राणायामद्वारा पाइएको प्राणहरुलाई रोक्ने अधिकारको नाम 'योगबल' हो । त्यो योगबल द्वारा दुवै भृकुटीको वीचमा रहेको द्विदल चक्रमा रहेको सुषुम्णा नाडीमा प्राणहरु राम्रोसँग अडाएर ऊ (शरीर छोडेर दसौं द्वार) दिव्य परम पुरुष पाउँछ । 

'तं परं पुरुषमुपैति दिव्यम्' -- पदहरुको तात्पर्य हो, पूर्वश्लोकमा वर्णित दिव्य परम सगुण-निराकार परमात्मा प्राप्त हुन्छ उसलाई ।

यो प्रकरणमा सगुण-निराकार परमात्माको उपासनाको वर्णन छ । यो उपासनामा अभ्यासको आवश्यकता छ । प्राणायामपूर्वक मनलाई त्यो परमात्मामा लगाउनुलाई अभ्यास भन्छन् । यो अभ्यास अणिमा,महिमा आदि सिद्धि प्राप्त गर्ने नभएर केवल परमात्मा पाउन हो । यस्तो अभ्यास गरी गरी यस्तो अधिकार पाउनु कि जहिले चाह्यो प्राणहरुलाई रोक्न सकियोस् र मनलाई जुन वेला चाह्यो त्यही वेला जहाँ चाहियो त्यहीं लग्न सकियोस् । यस्तो अधिकार पाएको मनुष्यले अन्तकालमा प्राणहरुलाई सुषुम्णा नाडीमा प्रविष्ट गराउन सक्छ ।                             

साधकले पहिले यो निश्चय गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ), सब भन्दा अतीत परमात्म-तत्व सबैको प्रकाशक, सबैको आधार र सबैलाई सत्ता-स्फूर्ति दिने निर्विकार तत्व हो । त्यो तत्वमा नै साधकको प्रियता हुनुपर्छ, त्यो तत्वमा नै उसको मनको आकर्षण हुनुपर्छ । त्यसो भए उसको मन त्यतातिर स्वाभाविक नै लाग्नेछ । 

'भक्त्या युक्त'को तात्पर्य, संसारको आसक्ति मेटिएपछि त्यो साधकलाई परमात्मासँग मात्रै आकर्षण रहन्छ, ऊ भक्त हुन्छ । संसारी मनुष्य त अपरामा आकृष्ट हुने भएकोले 'विभक्त' अर्थात् भगवानदेखि छुट्टै हुन्छन्, तर भगवानमा लागेको साधक विभक्त रहँदैन, 'भक्त' अर्थात् भगवानसँग यौटै (अभिन्न) हुन्छ ।

'योग बलेन' भन्नुको तात्पर्य, पहिले गरिएको योगाभ्यासको कारण अन्त समयमा हुने अशक्त अवस्था उसलाई वाधा पुर्याउन सक्तैन, उसमा कुनै विकार पैदा गर्न सक्तैन। प्राणायाम आदिको बल 'योगबल' हो । 

श्लोक ११ 

वेद्वेत्ताहरुले भन्ने 'अक्षर'लाई वीतराग यति प्राप्त गर्छन् र साधक यसको प्राप्तिको इच्छा गर्दै ब्रह्मचर्यको पालन गर्छन् । यस्तो पद म तिम्रोलागि संक्षेपले भन्नेछु । 

'यदक्षरं ब्रह्मविदो वदन्ति' वेदहरु जान्ने पुरुष यसलाई अक्षर-निर्गुण-निराकार भन्छन्, यसको नाश कहिले पनि छैन र यो सदा-सर्वदा एकरूप, एकरस रहन्छ । यो तत्वलाई केही अघिको श्लोकमा 'अक्षरं ब्रह्म परमम्' भनिएको छ, त्यही निर्गुण-निराकार तत्वको यहाँ 'अक्षर' नामले वर्णन भएको छ । 

'विशन्ति यद्यतयो वीतरागा:' -- अन्त:करणमा रागको अत्यन्त अभाव भएको, अन्तःकरण महान् निर्मल भएको र हृदयमा अद्वितीय परम तत्व पाउने उत्कट लगन लागेको प्रयत्नशील यति महापुरुष त्यो तत्वमा प्रवेश गर्छन्, त्यो तत्व प्राप्त गर्छन् । 
                                          
'यदिच्छन्तो ब्रह्मचर्यम् चरन्ति' -- त्यस्ता यतिहरु खालि परमात्मतत्व मात्रै उद्देश्य भएका हुन्छन्, उनीहरु परमात्मप्राप्ति भन्दा अरु कुनै उद्देश्य नभएका हुन्छन् र परमात्मप्राप्तिको इच्छा राखेर ब्रह्मचर्यको पालन गर्छन् र सम्पूर्ण इन्द्रियहरुलाई संयम गर्छन अर्थात् कुनै पनि विषय उनीहरु भोगबुद्धिले सेवन गर्दैनन् ।   

'तत्ते पदं संग्रहेण प्रवक्ष्ये' -- सबै साधनहरुको आखिरी फल त्यो पद अर्थात् त्यो तत्व म तिमीलाई संक्षेपले भन्नेछु र राम्रोसँग भन्नेछु। संक्षेपले भन्नेको अर्थ हो, शास्त्रहरुमा सर्वपपरि विलक्षण भनेर वताइएको तत्व हरेक व्यक्ति पाउन सक्तैन -- यस्तो महिमा गाइएको पद (तत्व) कसरी प्राप्त हुन्छ भन्ने कुरो म तिमीलाई भन्नेछु । राम्रोसँग भन्ने भनेको -- ब्रह्मको उपासना गर्नेलाई ब्रह्म जसरी प्राप्त हुन्छ, त्यो किसिम म राम्रोसँग भन्नेछु ।

यो श्लोकमा गौणताले चारै आश्रमहरुको वर्णन लिन सकिन्छ । 'यदक्षरं वेद्विदो वदन्ति' पदहरुले गृहस्थाश्रमको संकेत गर्छन्; किनकि वेदहरुको अध्ययन गर्नु ब्राह्मणको खास काम हो । 'विशन्ति यद्यतयो वीतरागाः' पदहरुमा संन्यास र वानप्रस्थको संकेत छ । 'यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति' पदहरुमा ब्रह्मचर्याश्रमको संकेत छ । 

मुक्ति सबै वर्णहरु, आश्रमहरुवाट हुन सक्छ " यसैले भगवानले आश्रमहरुको विस्तारले वर्णन गर्नु भएन र वर्णहरूको वर्णन पनि कर्तव्यपालनको दृष्टिले गर्नुभएको हो । अर्जुन क्षत्रिय थिए र उनी युद्धरुप कर्तव्य-कर्म छोड्न चाहन्थे ।यसैले भगवानले अर्जुनलाई आफ्नो कर्तव्य-कर्ममा लगाउन वर्णधर्मको वर्णन गर्नुभएको हो । युद्ध गर्नु वर्णधर्म हो ।आश्रम धर्म होइन ।          

1 comment:

  1. यसपछिका अरू भाग पनि पोस्ट गर्नु हुन्छ कि..? आठौं अध्यायको एघारौं श्लोकपछिको श्लोक र अध्यायहरू अन्यत्र पनि कतै पोस्ट गर्नु भएको छ भने कृपया जानकारी गराउनु होला । अपेक्षामा छु ।

    ReplyDelete