No. 239
अर्को
कुरा, म केही दिनकोलागि भोलि दाङ जाँदैछु । त्यति वेलासम्म म हजुरहरुको
सम्पर्कमा रहन सक्तिन । त्यतावाट आएपछि अरु चिठी लेखिहाल्ने छु ।
पहिलो श्लोकको वांकी अंश
अन्तकालीन
गतिको विषयमा भगवानको न्यायकारिता र दयालुता दुवै भरिएका छन् । साधारण
दृष्टिले न्याय र दया -- दुवै परस्पर विरुद्ध जस्ता देखिन्छन् । न्याय
गरियो भने दया सिद्ध हुँदैन र दया गरियो भने न्याय सिद्ध हुँदैन । कारण कि
न्यायमा ठीक ठीक निर्णय हुन्छ, छुट हुँदैन र दयामा छुट हुन्छ । वास्तवमा
यो विरोध सामान्य र क्रूर पुरुषले वनाएको न्यायमा नै आउन सक्छ, भगवानले
वनाएको न्यायमा होइन । किनकि भगवान परम सुहृद र सम्पूर्ण प्राणीहरुको सुहृद
हुनुहुन्छ -- ' सुहृदम् सर्व भूतानाम्' । भगवानका सबै न्याय, कानून दयाले
परिपूर्ण छन् ।
मनुष्य अन्तकालमा जस्तो स्मरण
गर्छ, त्यही स्मरण अनुसार उसको गति हुन्छ । यदि कुनै मनुष्य कुकुरको विचार
गर्दै मर्छ भने ऊ क्रमशः कुकुर नै वन्छ । मनुष्यकोलागि यो भगवानको न्याय
भयो, किनकि भगवानले सम्पूर्ण मनुष्यलाई यो स्वतन्त्रता दिनुभएको छ कि 'ऊ
चाहे मेरो (भगवानको) स्मरण गरोस्, चाहे अरु कसैको स्मरण गरोस्' । यसैले यो
भगवानको 'न्याय' हो । जति मूल्यमा कुकुरको योनि मिल्छ, उति नै मूल्यमा
भगवान मिल्नु हुन्छ -- यो सम्पूर्ण मनुष्य प्रति भगवानको 'दया' हो ।
मनुष्यले भगवानको यो न्यायकारिता र दयालुतातिर ध्यान दियो भने भगवानमा उसको
आकर्षण हुन्छ ।
सातौँ अध्यायमा भगवानले 'यो यो
यां यां तनुम् भक्त:' पदहरुले उपासनाको विषयमा मनुष्यको स्वतन्त्रता वताउनु
भएको थियो । यो श्लोकमा भगवान मनुष्यहरूको गतिको विषयमा वताउनु हुन्छ ।
तात्पर्य हो, आफ्नो उपासना र गतिको विषयमा मनुष्य स्वतन्त्र छ र त्यसमा
भगवान आफ्नो दयालु स्वभावको कारण वाधक वन्नु हुन्न, भगवान मनुष्यलाई सहायता
गर्नुहुन्छ । मनुष्य आफैं आफूलाई मिलेको स्वतन्त्रताको दुरुपयोग गरेर
दुर्गतिमा जान्छ ।
मनुष्य शरीरको महत्ता यसैमा
छ, उसले जे खोज्यो त्यो पाउन सक्छ । मनुष्यले पाउन नसक्ने कुनै दुर्लभ पद
छैन । लाभ(सुख)को अन्त नभएको र दुःखको लेश पनि नभएको पद मनुष्य पाउन सक्छ ।
परन्तु भोग र संग्रहमा लागेर मनुष्य चौरासी लाख योनिहरुमा र नरकहरुमा
जान्छ । यसैले भगवान दुःखसँग भन्नु हुन्छ -- 'अप्राप्य मां निवर्तन्ते
संसारवर्त्मनि', 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' ।
मनुष्य अन्तकालमा जस्तो चिन्तन गर्छ, उसको गति त्यस्तै हुन्छ ।
तात्पर्य,
हामी मृत्युकालमा हामी जस्तो चाहन्छौं, त्यस्तो चिन्तन गर्न सक्तैनौं, तर
मनुष्य भित्र भएको वासना अनुसार नै उसको चिन्तन स्वतः हुन्छ र त्यही चिन्तन
अनुसार नै उसको गति हुन्छ । उसले सत्ता र महत्ता दिएको , तिनसँग सम्बन्ध
जोडेको, तिनवाट सुख लिएको वस्तु अनुसार नै उसको वासना वन्छ । संसारमा सुख
बुद्धि नभए संसारको वासना वन्ने छैन । वासना नभएपछि मृत्युकालमा जे सुकै
चिन्तन भए पनि भगवानको नै चिन्तन होला, किनकि सिद्धान्तले सबै भगवान नै हो
-- 'वासुदेवः सर्वम्' ।
'तं तमेवैति' -- जसरी
सियोको पछि पछि (त्यही वाटोवाट) धागो जान्छ, त्यही किसिमले मनुष्य पनि
अन्तकालको भाव अनुसार त्यही गतिमा जान्छ ।
श्लोक ७
यसैले तिमी हर समयमा मेरो स्मरण गर र युद्ध गर । ममा मन, बुद्धि अर्पण गर्ने भएपछि तिमी निःसन्देह मलाई नै पाउनेछौ ।
'तस्मात्सर्वेषु
कालेषु मामनुस्मर युध्य च' -- यहाँ 'सर्वेषु कालेषु' पदहरुको सम्बन्ध खालि
स्मरण मात्रैले छुट्छ, युद्धले छुद्तैन; किनकि युद्ध जुन वेला पनि हुन
सक्तैन ।कुनै पनि क्रिया निरन्तर हुँदैन, वेला वेलामा हुन्छ ।कारण कि
प्रत्येक क्रियाको आरम्भ र समाप्ति हुन्छ -- यो कुरो त सबैको अनुभव नै हो ।
परन्तु भगवतप्राप्तिको उद्देश्य भए भगवानको स्मरण जुन वेला पनि हुन्छ;
किनकि उद्देश्यको जागृति हरदम रहन्छ ।
जुन वेला
पनि भगवानको स्मरण गर्नु भनिएको तात्पर्य हो, प्रत्येक कार्यमा समयको विभाग
हुन्छ; जस्तो -- यो समय सुत्ने, यो समय उठ्ने हो , यो समय नित्य कर्म
गर्ने हो, यो समय जीविकाको निम्ति कर्म गर्ने हो, यो समयको भोजनको हो, आदि
आदि । परन्तु भगवानको स्मरण गर्न समयको विभाग हुनुहुन्न । भगवानको स्मरण त
हरहमेशा हुनु पर्छ ।
'युध्य च' भन्नुको
तात्पर्य, यहाँ अर्जुनको अगाडि युद्धरूप कर्तव्य-कर्म छ । यो कर्म
अर्जुनलाई स्वतः प्राप्त छ -- 'यदृच्छयाचोपपन्नम्' । यस्तै मनुष्यलाई
कर्तव्यरूपले प्राप्त भएको कर्म उसले भगवानको स्मरण गर्दै गर्नु पर्छ ।
त्यो वेला भगवानको स्मरण मुख्य हुन्छ र कर्तव्य कर्म गौण हुन्छ ।
'अनुस्मर'को
अर्थ हो, स्मरण पछि स्मरण भइरहोस् अर्थात् निरन्तर स्मरण भइरहोस् । अर्को
अर्थ हो, भगवान कुनै पनि जीवलाई विर्सनु हुँदैन । भगवानले सातौँ अध्यायमा
'वेदाहम्' भनेर वर्तमानमा सबै जीवहरुलाई स्वतः जान्ने कुरा गर्नु भएको छ ।
वर्तमानमा भगवान सबैलाई जान्नु हुन्छ भने भगवानले सम्पूर्ण जीवहरुलाई
सम्झनु त स्वाभाविक नै भयो । यदि हामीले पनि भगवानलाई सम्झ्यौं हाम्रो काम
सफल भयो ।
भगवानको स्मरणको जागृति हुन भगवानसँग आफ्नोपन हुनु पर्छ । यो आफ्नोपन जति दृढ भयो, त्यति नै भगवानको स्मृति वारम्वार आउनेछ ।
'मय्यर्पितमनोबुद्धि:'
-- ममा मन-बुद्धि अर्पित गरिदिनेको साधारण अर्थ हुन्छ, मनले भगवानको
चिन्तन होस् र बुद्धिले परमात्माको निश्चय गरियोस् । परन्तु यसो वास्तविक
अर्थ हो -- मन, बुद्धि, इन्द्रियहरु, शरीर आदिलाई भगवानको मान्ने, कहिले
भूलले पनि आफ्नो नमान्ने । कारण, सबै प्राकृत पदार्थहरु पनि भगवानका नै
हुन् । ती प्राकृत पदार्थहरुलाई आफ्नो मान्नु नै गल्ति हो । साधकले ती
पदार्थहरुलाई आफ्नो मानुन्जेल ऊ शुद्ध हुन सक्तैन; किनकि यिनीहरुलाई आफ्नो
मान्नु नै खास अशुद्धि हो । र यो अशुद्धिले नै अनेक अशुद्धिहरु पैदा
हुन्छन् ।
वास्तवमा मनुष्यको सम्बन्ध केवल
प्रभुसँग छ । प्रकृति र प्रकृतिको कार्यसँग मनुष्यको सम्बन्ध कहिले थिएन,
छैन, र रहने पनि छैन । किनकि, मनुष्य साक्षात् परमात्माको अंश हो; अतः उसको
सम्बन्ध प्रकृतिसँग कसरी हुन सक्छ ? यसैले साधकले आफ्नो मन र बुद्धि
भगवानको नै सम्झेर भगवानलाई नै अर्पण गरिदिने । त्यसपछि उसलाई भगवानको
प्राप्ति स्वाभाविक नै हुनेछ; किनकि प्रकृतिको कार्य शरीर, मन, बुद्धि,
आदिसँग सम्बन्ध जोडेको कारण नै ऊ भगवानसँग विमुख भएको थियो ।
अव
प्रश्न आउँछ, यी प्राकृत पदार्थ कस्ता छन् ? यो विषयमा दार्शनिकहरुको
मतभेद छ, तर 'ती हाम्रा होइनन् र हामी पनि तिनीहरुका होइनौं' भन्ने
वास्तविकतामा कुनै मतभेद छैन अर्थात् यो कुरालाई सबै दर्शनकारहरु मान्छन् र
अरु दर्शनकारहरु पनि ती पदार्थहरुलाई चाहे पृथ्वीको मानून्, चाहे
परमात्माको मानून्, तर दार्शनिक दृष्टिले ती पदार्थहरुलाई आफ्नो मान्न
सक्तैनन् । अतः साधकले ती सबै पदार्थहरुलाई ईश्वरको नै मानेर ईश्वरलाई
अर्पण गरिदियो भने 'म भगवानको नै थिएँ र भगवानको नै रहनेछु' भनेर भगवानसँग
नित्य सम्बन्ध जोड्ने ।
'मामेवैश्यस्यसंशयम्' --
ममा मन-बुद्धि अर्पण गर्ने भएपछि तिमी मलाई नै प्राप्त गर्नेछौ । यो कुरामा
कुनै पनि शंका छैन । कारण, म तिमीलाई नित्य प्राप्त छु । अप्राप्तिको
अनुभव त कहिले पनि प्राप्त नहुने शरीर र संसारलाई आफ्नो मान्दा, तिनीहरुसँग
सम्बन्ध जोड्दा नै हुन्छ । नित्यप्राप्त तत्वको कहिले अभाव छैन र हुन पनि
सक्तैन । यदि तिमी मन, बुद्धि र स्वयं मलाई अर्पण गर्छौ भने तिम्रो मसँग
भएको नित्य-सम्बन्ध प्रकट हुन्छ -- यसमा कुनै पनि शंका छैन ।
xx
हालै मैले हजुरहरुलाई पठाइरहेको गीताको अनुवादमा भएका वर्णनहरु हजुरहरुलाई
विश्वास गर्न गाहारो भैरहेको होला जस्तो लाग्छ वेला वेलामा मलाई । गीताका
सबै ज्ञान र साधन पद्धतिहरु हाम्रो व्यवहारमा आउन सक्ने र त्यही किसिमको
आचरण गर्न पनि गर्न सकिने छन् । तर यो ज्ञानले हामीलाई आफूमा आफैले आफ्नै
गल्तीहरु पत्ता लगाउन सक्ने शक्ति दिन्छ । त्यस्तै, आफूलाई दुःख परेको
अवस्थामा धैर्य गर्न सक्ने कला पनि सिकाउँछ । गीताको ज्ञानले हामीले आफ्नो
प्रचलनमा मानिआएका धर्म र गीताको ज्ञानमा ठूलो अन्तर छ भन्ने कुरो बुझ्न
पनि लगाउँछ । जे भए पनि हजुर, हाम्रो आफ्नो जीवन आफैं चलाउनु पर्छ हामीले ।
हाम्रो जीवन चलाउन अरुले मदत गर्लान्, अरुले सुख देलान्, अरुले सुख दिए म
सुखी हुन्थें भन्नु पनि दुराशा हो हाम्रो ।
No comments:
Post a Comment