Friday, 23 January 2015

No. 240 पहिलो श्लोकको नै वांकी अंश

No. 240

पहिलो श्लोकको नै वांकी अंश 

स्मरण तीन किसिमले हुन्छ -- बोधजन्य, सम्बन्ध-जन्य र क्रियाजन्य । बोधजन्य स्मरणको कहिले अभाव हुँदैन । सम्बन्ध नछोडुन्जेल सम्वन्धजन्य स्मरण वनिरहन्छ । क्रियाजन्य स्मरण निरन्तर रहँदैन । यी तीनै प्रकारका स्मरणको विस्तार यसरी छ -- 

(१) बोधजन्य स्मरण -- आफ्नो हुनुपनालाई स्मरण गर्नु पर्दैन । तर शरीरसँग सम्बन्ध मानिएको एकता नै भूल हो । बोध भएपछि यो भूल मेटिन्छ, त्यसपछि आफ्नो हुनुपना स्वतः सिद्ध रहन्छ । गीतामा भगवानको वचन छ -- 'तिमी, म र यी राजाहरु पहिले थिएनन् भन्ने कुरा होइन र भविष्यमा रहँदैनन् भन्ने पनि होइन अर्थात् निश्चय नै पहिले थिए र निश्चित नै पछि पनि रहन्छन् । 'पहिले  सर्ग-महासर्गमा र प्रलय-महाप्रलयमा भएको प्राणी-समुदाय उत्पन्न भई भई नष्ट हुन्छ' ।  यसरी यही 'प्राणी समुदाय' परमात्माको अंश हो र 'उत्पन्न भई भई नष्ट हुने' शरीर हो । नष्ट हुने भागलाई विवेकपूर्वक सर्वथा त्याग गरियो भने आफ्नो हुनुपनाको स्पष्ट बोध हुन्छ । यो बोधजन्य स्मरण नित्य-निरन्तर वनिरहन्छ, कहिले नष्ट हुँदैन; किनकि त्यो स्मरण आफ्नो नित्य-स्वरूपको हो ।                   

(२) सम्बन्ध-जन्य स्मरण -- हामीले स्वयं मानेको स्मरणलाई सम्बन्ध-जन्य स्मरण भनिन्छ, जस्तो, 'शरीर मेरो हो, संसार मेरो हो'। यस्तो मानिएको सम्बन्ध नमेटिउन्जेल हामी 'यो मेरो शरीर हो' भन्ने मान्छौं । परन्तु वास्तवमा भगवान हाम्रो हुनुहुन्छ । हामीले जाने पनि उहाँ हाम्रो हुनुहुन्छ, नजाने पनि हाम्रो हुनुहुन्छ । हामी सबै उहाँकै अंश हौँ र उहाँ अंशी हुनुहुन्छ । हामी उहाँसँग छुट्टिन सक्तैनौं । हामीले आफ्नो शरीरसँग सम्बन्ध मानुन्जेल भगवानको यो वास्तविक सम्बन्ध स्पष्ट हुँदैन ।हामीले शरीर र संसारको सम्बन्धलाई पूरापूर अस्वीकार गरेपछि मात्रै हाम्रो भगवानसँगको सम्बन्ध स्वतः जाग्रत हुन्छ । त्यसपछि भगवानको स्मरण नित्य-निरन्तर वनिरहन्छ । 

(३) क्रियाजन्य स्मरण -- क्रियाजन्य स्मरण अभ्यासजन्य हुन्छ । जस्तो महिलाहरु आफ्नो शिरमा (टाउकोमा) जलको घडा राखेर हिंडदै आफ्ना दुवै हातहरु खुला राखी राखी (घडा नसमाती) अरु महिलाहरुसँग कुरा पनि गर्छन्, तर उनीहरुको ध्यान आफ्नो टाउकोमा रहेको जलको घडाप्रति सावधान रहिरहन्छ । (नट) जादुगर डोरीमा हिंडी हिंडी गाउँछ पनि, वोल्छ पनि, तर डोरीको ध्यान उसलाई हर हमेशा रहिरहन्छ । ड्राइभर मोटर कार चलाउँछ, हातले गियर पनि चलाउँछ, हैन्डल पनि घुमाउँछ र आफ्नो मालिकसँग कुरा पनि गर्छ । यसो गर्दा गर्दै उसको सडकको ध्यान पनि निरन्तर रहन्छ । त्यस्तै सम्पूर्ण क्रियाहरुमा भगवानको निरन्तर स्मरण राख्नु अभ्यासजन्य स्मरण हो । अभ्यास-जन्य स्मरण तीन किसिमका छन् । 

(क) संसारका काम गर्दा भगवानको स्मरण गर्ने -- यसमा सांसारिक कार्यको मुख्यता र भगवानको स्मरणको गौणता रहन्छ । अतः यसमा यो भाव रहन्छ, संसारको काम नविग्रोस्, राम्रो किसिमले भइरहोस् र साथ-साथै भगवानको स्मरण पनि भइरहोस् ।         

(ख) भगवानको कार्य गरी गरी संसारको कार्य गर्ने -- यसमा भगवानको स्मरणको मुख्यता र सांसारिक कार्यको गौणता रहन्छ । यसमा भगवानको स्मरणमा भूल नहोस् भन्ने सावधानी रहन्छ र संसारको कार्यमा भूल भइहाले पनि पर्वाह हुँदैन । कारण, साधकमा यो जागृति भइरहन्छ, संसारको काम सुध्रिए पनि अन्तमा रहने होइन र विग्रिए पनि अन्तमा रहने होइन । यसैले यसमा भगवानको स्मरणमा भूल हुँदैन । 

(ग) संसारको कार्यलाई भगवानको नै कार्य सम्झने -- यसमा काम-धन्दा गरिरहँदा पनि यौटा विलक्षण आनन्द रहन्छ कि 'मेरो अहोभाग्य हो, म भगवानको नै काम गर्छु, भगवानको नै सेवा गर्छु ।' अतः यसमा भगवानको स्मृति विशेषताले रहन्छ । जस्तो कुनै पिता आफ्नो छोरीको विवाह गर्ने वेलामा किसिम किसिमका वस्तुहरु किन्छ, किसिम किसिमका कार्यहरु गर्छ, धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिन्छ; तर अनेक प्रकारका कार्यहरु गर्दा पनि 'छोरीको विहे गर्नु छ' भन्ने कुरो उसलाई निरन्तर याद भइरहन्छ । आफ्नी छोरीमा भगवानको समान पूज्यभावपूर्वक सम्बन्ध नभए पनि उसलाई विवाहको काम गर्दा छोरीको विहेको सम्झना निरन्तर भइरहन्छ भने भगवानकोलागि कार्य गर्दा भगवानमा पूज्यभाव सहित आफ्नोपनको मीठो स्मृति निरन्तर वनिरहनुमा त भन्नु नै के पर्ला र ? 

भगवतसम्बन्धी कार्य पनि दुई प्रकारका हुन्छन् --

(१) स्वरूपले -- भगवानको नामको जप र कीर्तन गर्नु; भगवानको लीलाको श्रवण, ,पठन-पाठन  आदि गर्नु -- यो स्वरूपले भगवतसम्बन्धी काम हो । 

(२) भावले -- संसारको काम गर्दा पनि 'सबै संसार भगवानको हो भने संसारको काम पनि भगवानको नै भयो । यो काम भगवानकोलागि नै गर्ने हो, भगवानको प्रसन्नताकोलागि नै गर्ने हो । यो कामवाट मलाई केही पनि लिनु छैन । भगवानले मलाई जुन वर्णमा पैदा गर्नु भएको छ, जुन आश्रममा राख्नु भएको छ, त्यसैमा मलाई भगवानको आज्ञा अनुसार नै उचित काम गर्नु छ -- यस्तो भाव रहँदा त्यो काम सांसारिक हुँदा पनि भगवानको हुन्छ । 

भगवानले सातौँ अध्यायमा भन्नुभयो -- 'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः' । यसमा अर्जुनले यही वारेमा प्रश्न गरे । त्यसको उत्तरमा भगवानले भन्नुभयो, अन्तकालमा मेरो स्मरण गर्दै शरीर छोडने व्यक्तिले मलाई नै पाउँछ । तर यो नियम खालि मेरो प्राप्तिको विषयमा होइन । मनुष्य जस जसको पनि स्मरण गर्दै शरीर छोड्छ, ऊ त्यस त्यसलाई नै पाउँछ । यो सबैकोलागि सामान्य नियम हो । अन्तकाल जुन सुकै समयमा आउन सक्छ । यसैले मनुष्यले नित्य-निरन्तर, सबै समयमा मेरो स्मरण गर्नु पर्छ ।

No comments:

Post a Comment