Friday, 23 January 2015

No. 241 श्लोक ८ हे पृथानन्दन ! अभ्यासयोगले युक्त र अरु कुनै कुराको पनि चिन्तन श्लोक ९ सर्वज्ञ, अनादि, सवैमा शासन गर्ने, सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म

No. 241

श्लोक ८ 

हे पृथानन्दन ! अभ्यासयोगले युक्त र अरु कुनै कुराको पनि चिन्तन नगर्ने चित्तले परम दिव्य पुरुषको चिन्तन गर्दै शरीर छोड्ने मनुष्य त्यसैलाई (परम पुरुष) प्राप्त गर्छ । 

'अभ्यासयोगयुक्तेन' -- यो पदमा 'अभ्यास' र 'योग' दुई पद आएका छन् । संसारवाट मन हटाएर परमात्मामा वारम्वार लगाउने नाम अभ्यास र समताको नाम 'योग' हो -- 'समत्वं योग उच्यते' । अभ्यासमा मन लाग्यो भने प्रसन्नता हुन्छ र मन लागेन भने खिन्नता हुन्छ । यो अभ्यास त हो, तर अभ्यासयोग होइन । प्रसन्नता र खिन्नता दुवै नभए मात्रै प्रसन्नता हुन्छ । तर चित्तमा प्रसन्नता र खिन्नता भइ हाले पनि तिनलाई महत्व नदिएर केवल आफ्नो लक्षलाई मात्रै महत्व दिने हामीले । आफ्नो लक्षमा दृढ रहनु नै योग हो । हाम्रो चित्त यस्तो योगले युक्त हुनुपर्छ । 

'चेतसा नान्यगामिना' -- चित्त अरुतिर जाने हुनुहुन्न अर्थात् परमात्मा सिवाय अरु कुनै लक्ष हुनुहुन्न हाम्रो । 

'परमं पुरुषम् दिव्यं याति पार्थानुचिन्तयन्' -- यस्तो चित्तले परम दिव्य पुरुषको अर्थात् सगुण-निराकार परमात्माको चिन्तन गर्दै शरीर छोड्ने मनुष्य परमात्मा नै पाउँछ अर्थात् ऊ परमात्मा नै हुन्छ । 

अर्जुनले 'प्रयाणकाले च कथं ज्ञेयोसि नियतात्मभि:' भनेर प्रश्न गरेका थिए । त्यो प्रश्नको उत्तर दिएर अव यो श्लोकसँगै अरु केही श्लोकहरुमा अन्तकालमा भगवानको स्मरण गर्ने मनुष्यहरुको प्रकारको वर्णन गर्नुहुन्छ भगवान ।

श्लोक ९ 

सर्वज्ञ, अनादि, सवैमा शासन गर्ने, सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म, सबैको धारण-पोषण गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) सूर्य जस्तो प्रकाश स्वरूप अर्थात् ज्ञान स्वरूप -- यस्तो अचिन्त्य स्वरूपको चिन्तन गर्ने,

'कविम्' -- सम्पूर्ण प्राणीहरु र तिनका शुभ-अशुभ कर्महरु जान्ने भएकोले त्यो परमात्माको नाम 'कवि' अर्थात् सर्वज्ञ हो ।

'पुराणम्' -- त्यो परमात्मा सबैको 'आदि' (शुरु) भएकोले 'पुराण' भनिनु हुन्छ । 

'अनुशासितारम्' -- हामीले हेर्दा खालि आफ्ना आँखाले मात्रै हेर्छौं । हाम्रो आँखालाई शासन गर्ने मन छ, मन भन्दा माथि बुद्धि शासन गर्छ, बुद्धि भन्दा पनि माथि 'अहम्' र अझ सबैको  आश्रय, प्रकाशक र प्रेरक परमात्मा 'अनुशासिता' हो ।

अर्को भाव हो, जीवहरुको कर्म गर्ने स्वभाव अनुसार नै परमात्मा (वेद, शास्त्र, गुरु, सन्त आदि द्वारा) कर्तव्य-कर्म गर्ने आज्ञा दिनुहुन्छ र पाप-पुण्यरुप पुराना कर्महरुको (फल दिएर) नाश गर्ने भएकोले परमात्मा 'अनुशासिता' हुनुहुन्छ । 

'अणोरणीयांसम्' -- परमात्मा परमाणु भन्दा पनि अत्यन्त सूक्ष्म हुनुहुन्छ । तात्पर्य हो, परमात्मा मन बुद्धिको विषय हुनुहुन्न, मन-बुद्धि आदि परमात्मालाई पक्डन सक्तैनन् ।मन-बुद्धि प्रकृतिको कार्य भएकोले प्रकृतिलाई पनि पक्डन सक्तैनन् भने परमात्मा त त्यो प्रकृति भन्दा पनि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ । अतः त्यस्तो परमात्मा सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म हुनुहुन्छ अर्थात् सूक्ष्मताको पनि अन्तिम सीमा हुनुहुन्छ । 

'सर्वस्य धातारम्' -- परमात्मा अनन्तकोटि ब्रह्माण्डहरु धारण गर्नुहुन्छ, तिनलाई पोषण गर्नुहुन्छ । ती सबैलाई परमात्मावाट नै सत्ता-स्फूर्ति मिल्छ । अतः परमात्मा सबैको धारण-पोषण गर्ने भनिनुहुन्छ । 

'तमसः परस्तात्' -- परमात्मा अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ, अज्ञानदेखि पूर्णतया रहित हुनुहुन्छ । उहाँमा लेशमात्र पनि अज्ञान छैन, अझ उहाँ अज्ञानको पनि प्रकाशक हुनुहुन्छ । 

'आदित्यवर्णम्' -- त्यो परमात्माको वर्ण सूर्यको जस्तो छ अर्थात् उहाँ सूर्य जस्तो सबैलाई, मन-बुद्धि आदिलाई पनि प्रकाशित गर्नुहुन्छ । त्यो परमात्मावाट नै सबैलाई प्रकाश मिल्छ ।

'अचिन्त्यरुपम्' -- त्यो परमात्माको स्वरूप अचिन्त्य छ अर्थात् उहाँ मन-बुद्धि आदिको चिन्तनको विषय हुनुहुन्न । 

'अनुस्मरेत्' -- सर्वज्ञ, अनादि, सबैको शासक, परमाणु भन्दा पनि अत्यन्त सूक्ष्म, सबैको धारण-पोषण गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) र सबैलाई प्रकाशित गर्ने, अज्ञानदेखि पनि अत्यन्त पर (श्रेष्ठ) र सबैलाई प्रकाशित गर्ने सगुण-निराकार परमात्माको चिन्तनकोलागि यहाँ 'अनुस्मरेत्' भन्ने पद आएको हो ।

यहाँ 'अनुस्मरेत्' भन्नुको तात्पर्य हो, सम्पूर्ण प्राणी त्यही परमात्माको जानकारीमा हुनुहुन्छ; उहाँको जानकारी वाहिर केही पनि छँदै छैन अर्थात् त्यो परमात्मालाई सबैको सम्झना छ। त्यस्तो स्मरण परमात्मामा भएकोले मनुष्यले परमात्माको सँधै स्मरण गर्नुपर्छ ।

यहाँ शंका हुन सक्छ, अचिन्त्यको कसरी स्मरण गर्ने ? यसको समाधान हो, 'त्यो परमात्मतत्व चिन्तनमा आउँदैन' -- भन्ने दृढ धारणा नै अचिन्त्य परमात्माको चिन्तन हो ।                                                                                              
परमात्मालाई 'कविम्' भन्नुको तात्पर्य हो, उहाँको ज्ञान  वाहिर केही पनि छैन । 'पुराणम्' भन्नुको तात्पर्य हो, उहाँ अनादि हुनुहुन्छ, काल भन्दा पनि अतीत अर्थात् कालको पनि प्रकाशक हुनुहुन्छ । 'अनुशासितारम्' भन्नुको तात्पर्य हो, सबै स्वाभाविक नै त्यो परमात्माको शासनमा छन् । परमात्मा जीव र जगत् -- दुबैको शासक हुनुहुन्छ । 

उपनिषदमा पनि आउँछ, 'प्रकृति त विनाशशील छ र यो प्रकृति भोग्ने जीवात्मा अमृतस्वरूप अविनाशी छ । ती दुवै (विनाशी र अविनाशी)लाई यौटै ईश्वर आफ्नो शासनमा राख्छ ।'

'धातारम्' भन्नुको तात्पर्य, परमात्मा सबैको पालन-पोषण गर्नुहुन्छ । 'आदित्यवर्णम्' भन्नुको तात्पर्य, सूर्यमा स्वतः स्वाभाविक नित्य प्रकाश रहन्छ, त्यस्तै परमात्मामा स्वतः स्वाभाविक नित्य ज्ञान, बोध रहन्छ । परमात्मा ज्ञानस्वरूप हुनुहुन्छ र सबैको प्रकाशक हुनुहुन्छ । 'तमसः परस्तात्' भन्नुको तात्पर्य हो, परमात्मा अज्ञानदेखि अर्थात् अपरादेखि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ -- 'यस्मात्क्षरमतीतोहम्' ।       

No comments:

Post a Comment