Thursday 3 July 2014

117. No. 85 पहिलो श्लोकको वांकी अन्तःकरणमा धन र पदको, त्यस्तै, लोभ रहेको कारणले हामीहरु धेरै धनी

No. 85

पहिलो श्लोकको वांकी

अन्तःकरणमा धन र पदको, त्यस्तै, लोभ रहेको कारणले हामीहरु धेरै धनी (लखपति, करोडपति) र ठूला ठूला पदमा रहेका (नेता, मन्त्रि)लाई श्रेष्ठ पुरुष भन्ने ठान्छौं र उनीहरुलाई धेरै आदरको दृष्टिले हेर्छौं । अन्तःकरणमा जड वस्तुहरुको महत्व भएका व्यक्तिहरु न आफैं श्रेष्ठ हुन्छन्, न श्रेष्ठ व्यक्तिको महत्व बुझ्न सक्छन् । उनीहरुले श्रेष्ठ मान्ने व्यक्ति पनि वास्तविक श्रेष्ठ हुँदैन । साँच्चि नै श्रेष्ठ नहुँदा पनि अरुले श्रेष्ठ मानिदिंदा ती धनी तथा ठूला कहलाइने पुरुषहरुको आचरणको प्रचार समाजमा स्वतः नै हुन्छ । जस्तो, समाजमा धनी व्यक्तिको प्रचार भइदिंदा ती व्यक्तिहरुले जुन जुन जुक्तिले धन कमाउने र जम्मा गर्ने गर्छन्, ती जुक्तिहरुको प्रचार , जति नै गोप्य भए पनि, समाजमा भइरहेको हुन्छ । यही कारण, हालसालै झूठ, कपट, वेइमानी, धोखा, आदिको निकै प्रचार भइरहेको पाइने गरेको छ ।

अर्कोतिर, अन्तःकरणमा कामना, ममता, आसक्ति, स्वार्थ, पक्षपात आदि दोष नभएका व्यक्तिहरुमा नाशवान् पदार्थहरुको महत्व हुँदैन र केही लिने भाव पनि हुँदैन । यस्ता व्यक्तिहरुको  वचनको प्रभाव अरुमा स्वतः पर्छ र उनीहरु त्यस्ता व्यक्तिहरुको वचन अनुसार स्वयं आचरण गर्न थाल्छन् ।  त्यस्तो श्रेष्ठ मनुष्य स्वयं आफ्नो वर्ण र आश्रम अनुसार आचरण गर्छ र अरु वर्ण आश्रमका व्यक्तिहरुकोलागि पनि ऊ आफ्ना वचनहरुद्वारा शास्त्र, इतिहासको प्रमाणले यस्तो शिक्षा दिन्छ, 'आफ्नोलागि केही नगरेर सम्पूर्ण प्राणीहरुको हितको भावले आफ्नो आफ्नो कर्तव्यको पालन गर्नु सुगम र श्रेष्ठ साधन हो।'  त्यस्ता श्रेष्ठ पुरुषका वचनहरुवाट प्रभावित भएर अरु वर्ण, आश्रमका व्यक्तिहरु पनि आफ्नो-आफ्नो कर्तव्यको पालन गर्न थाल्छन् ।

श्रेष्ठ पुरुषलाई श्रेष्ठ मान्ने व्यक्तिहरु नै श्रेष्ठ पुरुषको आचरण गर्छन् । साँच्चिकै श्रेष्ठ पुरुषलाई पनि श्रेष्ठ नमान्ने व्यक्तिहरु उसको आचरण अनुसार आचरण गर्न सक्तैनन् ।

श्लोक २२
हे पार्थ ! मलाई तीनै लोकहरुमा न त कुनै कर्तव्य छ र न (कुनै) प्राप्त गर्ने योग्य (वस्तु) अप्राप्त छ, तर पनि म आफ्नो कर्तव्यकर्ममा नै लागिरहन्छु।
भगवान एक लोकमा मात्रै सीमित हुनुहुन्न, त्यसैले उहाँ तीनै लोकमा आफ्नो कुनै कर्तव्य नभएको कुरा गर्नुहुन्छ । तीनै लोकमा उहाँको कर्तव्य वांकी नरहनुको कारण, उहाँकोलागि केही पाउनु नै छैन । सम्पूर्ण प्राणीहरुवाट कर्म भइरहनु केही न केही पाउन नै हो । भगवान यहाँ अनौठो कुरो गर्नुहुन्छ, 'केही गर्न र पाउन वांकी नरहँदा पनि म कर्म गरिरहन्छु ।'
आफ़्नोलागि कुनै कर्तव्य नहुंदा पनि भगवान केवल अरुको हितकोलागि अवतार लिनुहुन्छ र साधु पुरुषहरुको उद्धार, पापी पुरुषहरुको विनाश र धर्मको संस्थापना गर्नकोलागि कर्म गर्नुहुन्छ ।  अवतार मात्रै होइन, भगवानको सृष्टि-रचना पनि सम्पूर्ण जीवहरुको उद्धारकोलागि नै हुन्छ । स्वर्गलोक पुण्यकर्महरुको फल भोगाउन हो र चौरासी लाख योनिहरु एवं नरक पापकर्महरुको फल भोगाउन हो । हाम्रो मनुष्यजीवन पुण्य र पाप--दुवैदेखि माथि उठेर आफ्नो कल्याण गर्नकोलागि हो । हामी पुण्य र पापदेखि माथि उठेर आफ्नो कल्याण गर्न त्यही वेला सक्छौं, जव हामी हाम्रोलागि केही गर्दैनौं । हामीवाट हुने सम्पूर्ण कर्म -- स्थूल शरीरद्वारा हुने 'क्रिया', सूक्ष्म शरीरद्वारा हुने 'चिन्तन' र कारण शरीरद्वारा हुने 'स्थिरता' -- केवल अरुको हितकोलागि नै हुनुपर्छ, आफ़्नोलागि होइन । कारण, हामीवाट कर्म हुने तिनै शरीर संसारका हुन्, हाम्रा होइनन् । यसैले कर्मयोगी शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदि सामग्रीलाई संसारको भन्ने मान्छ र यसैको सेवामा लगाउँछ । हामीले संसारको वस्तु संसारको सेवामा नलगाएर आफ्नो सुख-भोगमा लगाउँछौं भने हामीवाट ठूलो भूल हुन्छ । संसारको वस्तु आफ्नो मान्दा नै फलको इच्छा हुन्छ र फल प्राप्तिकोलागि नै हामीवाट कर्म हुन्छन्। अर्को शब्दमा, फल प्राप्तिको इच्छाले कर्म गरुन्जेल हाम्रोलागि कर्तव्य अर्थात् 'गर्न' वांकी रहन्छ ।
विचारै गर्ने हो भने, हाम्रो आफ्नोलागि कुनै पनि कर्तव्य छैन । हामीले पाउनु पर्ने वस्तु (परमात्मा) नित्य-प्राप्त छ र स्वयं (हाम्रो स्वरूप) पनि नित्य छ, तर कर्म र फल अनित्य अर्थात् उत्पन्न र नष्ट हुने स्वभावका छन् । अनित्य कर्मको सम्बन्ध नित्य (स्वयं)सँग कसरी हुन सक्छ ?  कर्मको सम्बन्ध 'पर' (शरीर-संसारसँग) छ, 'स्व'संग छैन । कर्म सदैव 'पर'द्वारा र 'पर'कोलागि नै हुन्छ । यसैले आफ़्नोलागि केही गर्नु नै  छैन । सबै मनुष्यकोलागि कुनै कर्तव्य छैन भने भगवानकोलागि कसरी कर्तव्य हुन सक्छ र ?
 
कर्मयोग द्वारा सिद्ध भएका महापुरुषकालागि पनि यही अध्यायमा भगवान भन्नुहुन्छ, त्यो महापुरुषकोलागि कुनै कर्तव्य छैन; किनकि उसको रति, तृप्ति, र सन्तुष्टि आफू आफैंमा हुन्छ । त्यसैले त्यो महापुरुषलाई संसारमा गर्नु अथवा नगर्नुमा कुनै प्रयोजन रहँदैन तथा उसको कुनै पनि प्राणीसँग किञ्चित् मात्र पनि स्वार्थको सम्बन्ध रहँदैन । यसो हुँदा पनि त्यो महापुरुष लोकसंग्रहकोलागि कर्म गर्छ । यही किसिमले भगवान यो प्रकरणमा आफ़्नोलागि भन्नुहुन्छ, 'कुनै पनि कर्तव्य नरहँदा तथा केही पाउन वांकी नरहँदा पनि म लोकसंग्रहकोलागि कर्म गर्छु ।'  यसको तात्पर्य, तत्वज्ञ महापुरुषको भगवानसँग एकता हुन्छ । जस्तो भगवान त्रिलोकीमा नै आदर्श पुरुष हुनुहुन्छ, त्यस्तै तत्वज्ञ महापुरुष संसारमा आदर्श हुन्छ ।
 
फेरि भगवान भन्नुहुन्छ, 'म उत्साह एवं तत्परताले, आलस्यरहित भएर, सावधानीपूर्वक कर्तव्य-कर्म गर्छु । म न त कर्मको त्याग नै गर्छु न उपेक्षा नै गर्छु ।'

भगवान र सन्त महापुरुषवाट  इन्जिनवाट  जस्तो कर्तव्य कर्म हुन्छ, जसले गर्दा सर्व-साधारण पनि उहाँहरुकै अनुसरण गर्छन् । अरु मनुष्यमा गर्ने र पाउने इच्छा रहन्छ । यदि भगवान र सन्त-महापुरुषले  कर्तव्य-कर्म नगरे अरु मनुष्य पनि आफ्नो आफ्नो कर्तव्य कर्म नगर्ने हुन्छन्, जसवाट उनीहरुमा आलस्य, प्रमाद आउँछ र उनीहरु अकर्तव्य गर्न थाल्छन् । फेरि ती मनुष्यहरुको इच्छा कसरी मेटिन्छ ? यसैले सम्पूर्ण मनुष्यहरुको हितकोलागि भगवान र सन्त-महापुरुषहरु द्वारा स्वाभाविक नै कर्तव्य कर्म हुन्छन् ।

भगवान सदैव कर्तव्य-परायण रहनुहुन्छ, कहिले पनि कर्तव्यच्युत हुनुहुन्न। हामी जस्ता साधकले कहिले पनि कर्तव्यवाट हट्नु हुन्न । कर्तव्यवाट हट्दा नै हामी भगवत-तत्वको अनुभव गर्न सक्तैनौं । नित्य कर्तव्य परायण हामीलाई भगवत-तत्वको अनुभव सजिलोसँग हुन सक्छ ।

No comments:

Post a Comment