Tuesday 18 March 2014

11 के छ प्रीमा?

 के छ प्रीमा?
तिम्रो चिठी  पायें, खुशी लाग्यो । मैले तिमीलाई केही भन्न सकेर तिमीलाई ज्ञान भनेको थाहा भएकोमा मा पनि अति खुशी छु । म आजकल यसरी नेपालीमा इमेल लेख्छु । 

म तिमीलाई आफुले जानेको र आफुले प्रयोगमा ल्याएर सफल हुन सकेको र प्रयोग गरिरहेको तर केही सफल हुनसकेको र केही सफल हुन नसकेको ज्ञानको वारेमा वताउँछु ।  

मैले तिमीलाई भन्न खोजेको र तिमीलाई राम्रो लागेको ज्ञानलाई अध्यात्म अथवा वेदान्त भन्छन । यो वेदान्त भनेको उपनिषद् हो । यो उपनिषद् वेदको सबभन्दा अन्तिम ज्ञान हो, अर्थात यो वेदान्त भन्दा श्रेष्ठ ज्ञान वेदमा छैन । आजकल दुनियाँमा कति कति गुरुहरु भेटिन्छन, तर ती सबै गुरुहरु चेला वटुल्न र पैसा कमाउनतिर लागेका हुन्छन । तर वेदान्तको ज्ञानले चेला वटुलदैन । अरु गुरुहरुले चेलाहरुलाई खुशी वनाएर आफ्नो मतलव सिद्ध गर्न खोज्छन, तर यो ज्ञानले हामीलाई  कुनै ज्ञान दिएर आफ्नो मतलव सिद्ध गर्न खोज्दैन । यो ज्ञानले त हामीलाई हाम्रो विचारलाई नै वदल्न सिकाउँछ । आफ्नो भावलाई नै सुधार गर्न सिकाउँछ । 

मुख्य कुरो, हामीलाई जान्नु पर्ने र गर्नु पर्ने केही पनि छैन । यो ज्ञान केही गरेर पाइने पनि हैन । हामीलाई थाहा भएकै कुरो हो, कुनै कुरोको इच्छा नगर्दा, कुनै व्यक्ति र सामान विचार नगर्दा सम्म हामीलाई कुन चिन्ता हुँदैन, कुनै पीर हुँदैन, कुनै शोक हुँदैन । हामीलाई कुनै व्यक्तिको विचार आयो भने, कुनै इच्छा लागेको कुरा गर्न मन लाग्यो भने र त्यो कुरो गर्न पाइएन भने अथवा हामीलाई कसैले कुनै काम गर्न वाधा दियो भने हामीलाई कति रीस उठ्छ, कति दिक्क लाग्छ । यसको मतलव यो भयो कि कुनै अर्को व्यक्तिले हामीलाई दुख दिन सक्तैन, हामीलाई दुख दिन सक्ने ताकत उसमा छँदै छैन । हामीले हाम्रो नकारात्मक सोचले आफुलाई दुःख दिईरहेका छौं । हाम्रो मुख्य काम नै आफ्नो मनलाई नियन्त्रणमा राख्नु हो ।  यही कारण यो वेदंतालाई विचार शास्त्र पनि भनिन्छ । 

हाम्रो एकातिर मन छ, अर्कोतिर परमात्मा हुनुहुन्छ, परमात्माको विचार गर्दा हामीलाई शान्ति हुन्छ, संसारको विचार गर्दा हामीलाई दुःख हुञ्छ । बुद्धिमान व्यक्तिले जुन कुरो विचार गर्दा आफ्नो मन शान्त हुन्छ, त्यही गर्नु पर्यो होइन र! 

रामजी र सीताजी अयोध्यावाट वनवास जाँदा  वाटोमा वास वस्नु परेछ । उहाँहरु एउटा रुखमुनि सुत्नु भएछ । त्यो वेलामा रामजीको साथी केवटलाई धेरै दुःख भएछ । उनले भनेछन, 'त्यो कैकेयीले गर्दा रामजीले दुःख पाए' । तर, लक्ष्मंजीले केवटलाई भनेछन, 'कसैले पनि कसैलाई सुख दिन सक्तैन । यदि कसैले यस्तो मान्छ भने उ कुबुद्धि हो, जुन सुकै कुरा पनि म आफूले गर्छु र गरें भन्नु त व्यर्थको अभिमान नै हो, जुनसुकै व्यक्तिले जे जति नै सुख अथवा दुःख पाएको उसैले गरेको राम्रो र नराम्रो कर्मको नै फल हो' । 

यो कुरोवाट हामीलाई थाहा भयो, हाम्रो मुख्य कर्तव्य नै आफूले आफूलाई सुख दिनु हो । गीतको छैठौं अध्यायमा भगवानले अर्जुनलाई यही कुरा भन्नु भएको छ । हामी आफू सुखी भयौं भने हाम्रो परिवार सुखी हुन्छ, हामी आफू दुःखी भयौं भने हाम्रो परिवार दुःखी हुन्छ । यसो गर्दा, हामी एक जना सुखी अथवा दुःखी हुँदा हामी वरिपरीका कम्तीमा पनि चार या पांच जना सुखी अथवा दुःखी हुने भए । 

यस्तै छन्, प्रीमा मेरा कुरा, तिमीले यो चिठी पढेपछि मेरो चिठी पाएको खवर मात्रै गरयौ भने पनि म मौका मिल्ने वित्तिकै अर्को चिठी लेख्नेछु ।तिमीले खवर गर्दा अंग्रेजीमा गरे पनि हुन्छ । यही वीचमा तिमीलाई कुनै कुरा सोध्न मन लागे पनि सोधे हुन्छ । अरु पछि ।

तिम्रो

भान्जी दिदी       
 Song for Arati: https://dl.dropboxusercontent.com/u/65228724/Hajurmas%20Casatte%20Collection/a1%20bhaju%20prema%20se%20rama%20ka%20nam.mp3

         

No comments:

Post a Comment