Saturday 22 March 2014

14. अहिलेसम्म हामीले हाम्रो आफ्नो सुखदायी परिस्थितिमा

अहिलेसम्म हामीले हाम्रो आफ्नो सुखदायी परिस्थितिमा हामी संसारमा रहेर संसारका समस्त प्राणीहरुसंग कसरी व्यवहार गर्ने भन्ने कुरा थाहा पायौं । अर्को शब्दमा, हामी संसारमा सुखदायी परिस्थितिमा रहंदा आफ्नो शरीर, मन, बुद्धि, इन्द्रियहरुद्वारा मिलेका जे जति वस्तुहरु छन्, हामीले  तिनलाई संसारको सेवामा लगाउने । साधारणतया हामीलाई लाग्छ, हामीले कमाएको हाम्रो हो, हामी यसलाई जे मन लाग्यो त्यही गर्न सक्छौं । तर शास्त्रले हामीलाई भन्छ, तिमीले यो संसारमा पाएको कुरो तिम्रो आफ्नो होइन, संसारको नै हो । किनभने, ती वस्तु पाउन पनि तिमीले संसारका सहारा लिनुपर्छ । तिमीले मेरो भनेको शरीर, इन्द्रीयहरू, मन, बुद्धि, सम्पत्ति, घर, परिवार पनि तिमीले संसारवाट नै पाएका हौ । तिमी त यो संसारमा केही दिनकोलागि मात्रै आएका हौ । (यो कुरा गीतामा स्पष्टरूपमा  भनिएको छ)।  तिमीलाइ यी पदार्थ  आफूले मात्रै भोग्ने अधिकार तिमीलाई छैन ।  तिमीले ती वस्तुहरुलाई संसारको सेवामा लगाउनु पर्छ । त्यसपछि मात्रै ती वस्तु भोग्ने तिम्रो अधिकार छ । गीताको यो सिद्धान्त अनुसार जीवन निर्वाह गर्ने व्यक्तिलाई गीताले 'यज्ञ शिष्टासन' भन्ने नाम दिन्छ । त्यस्ता व्यक्तिहरुको अर्को नाम पनि गीताले दिन्छ, त्यो हो 'सन्त' । यस्तो जीवन विताएपछि मात्रै हाम्रो अन्तःकरणको 'कल्मष' मेटिने रहेछ । आफ्नो मनमा कल्मष हुँदा नै दुःख भएको हो, कल्मष हट्यो, दुःख हट्यो ।  'यज्ञ शिष्टासनः सन्तो मुच्यन्ते सर्व किल्विशै:। भुञ्जते ते त्वघम पापाः ये पचंत्यात्मकारणात' ।        

अव हामीलाई आइपरेको दुःखदायी परिस्थितिमा हामीले कसरी व्यवहार गर्ने  भन्ने कुराको चर्चा हुँदैछ । हामीले दुःखदायी परिस्थितिमा 'सुखको इच्छा' को त्याग गर्ने । हामीलाई दुःख पर्यो भन्नु नै परिरहेको सुख छुट्दा नै हो । सुख पाउञ्जेल हामी त्यही सुखमा रमाई रहेका हुन्छौं । जव सुख छुट्छ, हामी त्यसैलाई दुःख पर्यो भन्छौं । यसो विचार गर्दा वास्तवमा दुःख परेको छैन, पहिले भोगिरहेको सुख टुटेको मात्रै हो । दुःख पर्दा हामी पहिलेको सुख पाइएन, फेरि पाइयोस भनेर रोई कराई गर्छौं, जुन सम्भव नै छैन । यसो विचार गर्दा हामी भूतकाललाई वर्तमानमा ल्याउन खोज्छौं । त्यो पनि सम्भव छैन । त्यसैले, गीताले भन्छ, 'सुखको इच्छाको त्याग गर' । हामी सुख खोज्छौं, त्यो पाउन सक्तैनौं, दुःख खोज्दैनौं, तर त्यो चाहिं पाउँछौं । यही सुख नपाएको र दुःख परेको  भुमरीमा हामी फसिरहेका छौं । यही सन्दर्भमा गीता भन्छ, जीत हार, हानि लाभ, जय पराजय, सबै परिस्थतिमा 'सम' वनेर तिमी यो जीवन यात्रा गर, त्यसो गर्यौ भने तिमीलाई पाप लाग्दैन ।         

माथिको कुरावाट थाहा भयो, 'समता' नगरे पाप हुने रहेछ । 'पाप' लागे के हुन्छ, दुःख हुन्छ ।  सबै व्यक्ति  आफूलाई सुख नै होस्, दुःख नहोस भन्ने सोची रहेका  हुन्छन । तर, सोचेको जस्तो कसैलाई पनि अहिले सम्म भएकै छैन । त्यसैले, मलाइ सुख होस् भन्ने सोच्नु पनि पापको कारण भयो, किनभने दुःख नै पाप हो । त्यस्तै, मलाई सुख होस् भन्ने सोच्नु पनि पापको कारण भयो । किनभने, खोजेको छ सुख, तर पर्न आउँछ दुःख, यो पनि पापको कारण भएन त!  

यस्तै हुन्, हजुर, मेरा कुरा । अव अरुपछि ।

हजुरहरुको 
इन्दिरा

No comments:

Post a Comment