Monday 17 March 2014

10. केही दिनअघि हजुरहरुसंग फोनमा कुरा गर्दा खुशी लाग्यो ।

प्यारो अत्ताजी 

केही दिनअघि हजुरहरुसंग फोनमा कुरा गर्दा खुशी लाग्यो । हजुरहरुको मप्रतिको सद्भावले मलाइ त आनन्द दिई हाल्छ, यसले हजुरहरुको नै कल्याण गर्छ । आजकल म यहाँ एउटा ठुलो महात्माको प्रवचन सुन्छु । त्यसमा भनिएको छ, कसैले कसैलाई नमस्कार अथवा 'भाग्या' गर्दा त्यो नमस्कार गर्ने मान्छेको नै कल्याण हुन्छ । 

म यहाँ धेरै समय केही न केही पढी अथवा सुनिरहन्छु । यही पढिरहेको र सुनिरहेको ज्ञान नै हजुरहरुलाई लेखिरहन्छु । यी ज्ञान मध्ये कति ज्ञान त मैले आफ्नो जीवनमा प्रयोग गरिसकेको हुन्छु, त्यसको नतिजा पनि थाहा पाइसकेको हुन्छु । तर, कुनै ज्ञान चाहिं मैले प्रयोग गर्न खोजेको, तर कहिले प्रयोग गर्न सफल हुन सकेको र कहिले प्रयोग गर्न सफल नभएको पनि हुन्छन, त्यसो भन्दैमा ती ज्ञान कामै नलाग्ने चाहिं होइनन, खालि मैले आफुले अझ प्रयास र अभ्यास गर्नु पर्ने हुन् । ठूला ठूला महात्माले भन्छन, वेदान्तको अथवा गीताको ज्ञान ठूला ठूला ऋषिहरूले र स्वयम् श्रीकृष्ण भगवानले पनि आफ्नो जीवनमा प्रयोग गरेर, त्यस वाट हुने फाइदा थाहा पाएर नै हामीलाई भनिएका छन् । यसैले, हामीले यी ज्ञानको महत्त्व बुझ्नु पर्छ, यिनीहरुलाई आफ्नो जीवनमा, व्यवहारमा लगाउन सक्नुपर्छ । हामी आफूले ती ज्ञानलाई जीवनमा, प्रयोगमा ल्याउन नसक्तैमा ती ज्ञानलाई नै कामै नलाग्ने भन्न सक्तैनौं । तर, कसैले आफूले व्यवहारमा नल्याएको, तर अरुलाई अर्ति उपदेश गरेको ज्ञानले न त भन्नेको नै कल्याण हुन्छ, न त सुन्नेको नै । त्यसैले, भन्नेलाई पनि त्यही ज्ञान काम लाग्छ, जुन ऊ आफूले प्रयोगमा ल्याएको होस्, र सुन्नेलाई पनि त्यही ज्ञान काम लाग्छ जुन वक्ताले (भन्ने मान्छेले) प्रयोगमा ल्याएको होस् । होइन भने त्यो ज्ञानमा कुनै रस नै हुँदैन । रस नै नभएको सुख्खा कुरा हामीलाई पनि राम्रो लाग्दैन, होइन र! त्यसैले, ज्ञान रसिलो हुन त्यो ज्ञान प्रयोगमा ल्याइएको हुनु पर्यो । 

अव अर्को प्रश्न हुन सक्छ, यो ज्ञान कसरी रसिलो हुने?  

यो ज्ञान रसिलो हुन सव भन्दा ठूलो कुरो, हामीलाई त्यो ज्ञानमा चाख हुनु पर्यो । कुनै कुरोमा चाख नभई कुनै पनि मान्छे त्यो काममा लाग्न नै सक्तैन । मान्छेले त्यही गर्छ, जुन उसले धेरै अघि देखि गरिरहेको हुन्छ । यो गर्ने र नगर्ने भन्ने कुरो राम्रो विषयमा पनि लागु हुन्छ, नराम्रो कुरोमा पनि लागु हुन्छ । जस्तो, कसैले कसैलाई  राम्रो हुने काम गर्ने गर्छ भने उसले यो काम धेरै अघिदेखि गरेको हुनुपर्छ । त्यस्तै, कसैले कुनै नराम्रो काम गर्छ भने उसले त्यो काम धेरै अघि देखि गरेको हुनु पर्छ । 

यही क्रममा कसैलाई खालि खाने, राम्रा राम्रा लुगा लगाउने चाख हुन्छ भने उसलाई यो वानी धेरै अघि देखि लागेको हुन सक्छ । तर, यदि कसैलाई आफ्नो भएकोमा चित्त बुझाउने, अरुको रीस नगर्ने, अरुको डाहा नगर्ने वानी वसेको छ भने उसको यो वानी धेरै अघिदेखि वसेको हुनु पर्छ । अझ भन्ने हो भने, हामीलाई यो ज्ञानमा चाख वस्न हामीले हाम्रो वालख कालदेखि नै कुनै यस्ता व्यक्तिसंग वस उठ गरेको हुनसक्छ, तर, त्यो समयमा ती घटनाहरुमा हाम्रो ध्यान त्यति नगएको हुन सक्छ । (यस्तो कुरालाई शास्त्रमा संस्कार भन्छन) । 

भनाइको मतलव, जुनसुकै व्यक्तिको जुनसुकै कुरोमा हुने चाख उसको त्यो विषयमा हुने निरन्तरता नै हो । गीतामा हामीमा भएका  राम्रा कुरालाई 'दैवी' सम्पत्ति र नराम्रा कुरालाई  'आसुरी' सम्पत्ति भनिएको छ । हामीले यो पनि बुझ्नु पर्छ, कुनै पनि व्यक्तिमा सबै राम्रै राम्रा  अथवा सबै नराम्रै नराम्रा कुरा हुँदैनन् ।  गुण र अवगुणको मिसावट नै मान्छे हो । खालि फरक यत्ति मात्रै हो, जसमा गुण को मात्रा धेरै र अवगुण को मात्रा थोरै हुन्छन, त्यस्ता व्यक्तिलाई चाहिं यस्तो भगवान सम्बन्धी ज्ञानमा श्रद्धा हुन्छ, त्यही श्रद्धाले उसलाई यो ज्ञानमा अघि वढ्न मदत गर्छ ।  

अहिलेको कुरावाट हामीलाई थाहा भयो, हामीलाई यो अध्यात्म ज्ञानमा लाग्न अवगुण भन्दा धेरै गुण हुनु पर्यो । यही कुराले नै हामी यो मार्गमा अघि वढ्न सक्छौँ । त्यसपछि त वाटो सजिलो हुन्छ । अनि त, एकातिर हाम्रो यो ज्ञान वढ्दै जान्छ, अर्कोतिर, हाम्रा अवगुण घट्दै जान्छन । तर, हामीले कहिले पनि विर्सन नहुने कुरो हो, हामीले यो ज्ञान पाउनको लागि चाहिं कोशीश गरिरहनु पर्छ, त्यसो भए हाम्रो कल्याण हुन्छ, कहिले लाग्ने, कहिले छोड्ने गर्यो भने हामीलाई पार लाग्न पनि गाह्रो हुन्छ । सबै विषयमा लाग्ने नियम पनि यही नै  हो । 

यो चिठी राम्ररी पढ्नुपर्छ र विचार पनि गर्नु पर्छ, किनभने यो शास्त्रको नाम नै विचार शास्त्र हो । यो कुरा पढेपछि पढ्ने व्यक्तिलाई कुनै प्रश्न आइदिए धेरै लाभदायक हुन्छ, त्यस्तो विचार आउँदा मलाइ हजुरहरुले लेख्नु भयो भने म त्यो विचारको विषयमा अरु चर्चा गर्न तयार छु ।

अहिलेलाई यत्ति, अरुपछि ।     

हजुरको 

इन्दिरा

No comments:

Post a Comment