अबदेखि मेरो इमेल व्यक्तिगत नभई सामुहिक हुनेछ ।
अहिले म हजुरहरुलाई गीतामा उल्लेखित समताको बारेमा लेख्दैछु ।
गीताको दोस्रो अध्यायमा 'समत्त्वम योग उच्यते' भन्ने कुराको उल्लेख छ ।
मान्छेको
जीवनमा सुख भन्ने र दुःख भन्ने कुनै पदार्थ छैनन्, यी त केवल परिस्थितिहरु
मात्र हुन् । हामीलाई कहिले अनुकूल परिस्थिति आउँछ, कहिले प्रतिकूल
परिस्थिति आउँछ । अनुकूल परिस्थिति आउँदा हामीलाई रमाइलो लाग्छ, त्यसलाई
हामी सुख भन्छौं, प्रतिकूल परिस्थिति आउँदा नरमाइलो लाग्छ , त्यसलाई हामी
दुःख भन्छौं । धेरै अवस्थाहरुमा त एउटा पदार्थले नै
हामी मध्ये कसैलाई सुख दिन्छ, कसैलाई दुःख दिन्छ । यसको अर्थ यो भयो कि कति
अवस्थामा त सुख अथवा दुःख मनोवैज्ञानिक पनि देखिन्छ ।
तर, खासै भन्ने
हो भने हामीलाइ पर्ने सुख र दुःख केवल परिस्थितिजन्य हुन् । सुखदायक
परिस्थिति आउँदा हामीलाई सुख हुन्छ, दुःखदायी परिस्थिति आउँदा दुःख हुन्छ ।
सुखदायी परिस्थितिमा हामी कसैले नपाएको सुख मैले मात्रै पाएको हो कि जस्तो
गरी उत्ताउलो भएर मात्तिन्छौँ, दुःखदायी परिस्थिति आउँदा मलाइ जस्तो दुःख
कसैलाई पनि भएको छैन होला जस्तो गरी रोई कराई गरेर बस्छौं ।
वास्तवमा,
हामीले यो कुरा बुझ्नुपर्छ, यो संसारमा पैदा समस्त शरीरहरू, चाहे ती स्थावर
शरीर हुन्, चाहे ती जंगम हुन्, समस्त शरीरहरुलाई सुख र दुःख हुन्छ । यहाँ
स्थावर भनेको चल्न नसक्ने, हिंड डुल गर्न नसक्ने शरीरलाई मान्नुपर्छ । यो
सन्दर्भमा, रुख, पहाड, पर्वत, आदिलाई मान्नु पर्छ । जंगम भनेको चल्न सक्ने,
हिन्द डुल गर्न सक्ने शरीरलाई लिनु पर्छ, जस्तो, चरा चुरुंगी, जनावर,
कीरा, फट्यांग्रा, नरनारी ।
यी समस्त शरीरको
उल्लेख गर्दा समस्त सृष्टिलाई मान्नुपर्छ हामीले । तात्पर्य यो हो कि
समस्त सृष्टिका समस्त प्राणीहरुलाई सुख र दुःख पर्छ भन्ने हामीले बुझ्नु
पर्यो । बुझ्नु पर्यो भन्दा पनि कसरी, कती बुझिएको छ, त्यो मात्रामा पनि
निर्भर गर्छ । हामीमा के कति छ भन्ने कुरा बुझ्न हामी आफु सक्षम हुनु पर्यो । गीताले हामीलाई त्यस्तो मूल्यांकन गर्न नै सिकाउने हो ।
सुखमा न
मात्तिने र दुःखमा न आत्तिने कला जान्यौं हामीलाई सुख अथवा दुःख पर्दा
हामी आवेशमा आउंदैनौं । आवेशमा नआउने मान्छेलाई सुखले अथवा दुःखले मात्तिने
र आत्तिने गराउन सक्तैन । त्यो कुरा गीताले हामीलाई कसरी सिकाउँछ भन्ने कुरा अव अर्को मेलमा ।
हजुरहरुको
इन्दिरा
No comments:
Post a Comment