Saturday 22 March 2014

13. हाम्रो विचार गीताको 'समत्त्वम योग उच्च्यते' मा नै चलिरहेको छ ।

हाम्रो विचार गीताको 'समत्त्वम योग उच्च्यते' मा नै चलिरहेको छ ।  

हामीले सुखदायी परिस्थितिमा र दुःखदायी परिस्थितिमा आफ्नो मनमा कुनै विकार आउन नदिने प्रयास गर्नु पर्ने भयो । यही क्रममा श्रीभगवान गीतामा भन्नुहुन्छ, विषय र इन्द्रियको संयोगवाट सुख दुःख, लाभ हानि, जीत हार हुन्छन, ती 'आगमापायी' हुन्, तिमीले तिनीहरुलाई (सुख दुःख) सहनु पर्छ । भगवानको अनुसार सुख दुःख नसही सुख नै छैन । किनभने, हामीलाई सुख आउँदा पनि पहिले नै थाहा हुने होइन, दुःख आउँदा पनि पहिले थाहा हुने होइन । आइहालेपछि केही गर्न सकिने पनि होइन । त्यसैले, त्यसैले, सबभन्दा पहिले तिनीहरुलाई आगमापायी (आउने जाने स्वभावका) भन्ने बुझ्नु पर्यो हामीले । जस्तो, हाम्रो घरमा कुनै पाहुना आए भने हामी उनीहरुलाई स्वागत गर्छौं, संधै हाम्रो घरमा वस्ने भनेर होइन, त्यो पाहुना हामीसंग  केही समय मात्रै वस्छ भनेर हो । यो कुरा जानेको भएर नै हामीलाई पाहुना आउँदा विशेष दुःख हुँदैन । किनभने हाम्रो यो विचार परम्परादेखि नै चली आएको छ । त्यही प्रकारले, हामीले सुख आउँदा पनि मात्तिनु भएन, दुःख आउँदा पनि आत्तिनु भएन ।

हामीलाई शास्त्रले पनि भनेको छ , सुखपछि दुःख आउँछ, दुःखपछि सुख आउँछ । यो प्रतिक्षण वदलिने संसारमा कुनै कुरा पनि एक क्षण उही अवस्थामा रहन सक्तैन । त्यसो हुँदा हाम्रो सुख अथवा दुःख पनि संधै टिक्न सक्तैन । यो कुरालाई हामीले राम्रोसंग बुझ्न सक्यौं भने हामीलाई सुख पर्दा पनि कुन वेला दुःख आइपुग्ने हो भन्ने विचारले हामीलाई मात्तिन लगाउँदैन, दुःख पर्दा पनि यो दुःख धेरै समय टिक्ने होइन, केही समयपछि यसको वेग कम भैहाल्छ भन्ने विचार आउने हुँदा हामी वढी आत्तिंदैनौं । नभए त हामी साना साना कुरामा पनि दुःखी भैरहने, अँध्यारो मुख लगाइरहने हुन्छौं । यसो हुँदा हामी आफूलाई र आफ्ना वरिपरिका आफ्ना परिवारलाई सुख दिन सक्तैनौं । एकातिर हामीलाई रोग लाग्न सक्छ, अर्कोतिर हाम्रो कुनै कुरामा पनि मन अड्न नसक्ने हुन्छ । मानवजीवनको सार्थकता नै आफूले आफूलाई सुख दिने हो, दुःख दिने होइन ।  गीतामा श्रीभगवानले तेर्हौं अध्यायमा भन्नुभएको छ, आफूलाई सुख दिन नसक्ने मान्छे आत्महत्यारा हो । हुन त  गीताका कुनै अध्येतालाई यो प्रसङ्ग ठुलो सन्दर्भमा आएको जस्तो लाग्ला, तर, मेरो आफ्नो विचारमा सानो सानो विचारले ठूलो ठूलो विचारमा पुग्न सकिन्छ, पहिले नै ठूलो विचार समात्न थाल्यौं भने हामीलाई पच्न नसक्न सक्ने हो कि !              

फेरि, गीता अनुसार सुखदायी परिस्थिति आउँदा (अनुकूलता) हामीलाई सुख हुन्छ । हामीले त्यो सुख आफूले मात्रै भोग गर्नु हुँदैन । यो पाउने अथवा पाएको सुख, गीताको अनुसार, हामीले संसारवाट नै पाएका हौँ, किनकि हाम्रो शरीरदेखि इन्द्रियहरू, मन-बुद्धिपर्यन्त यो संसारको (प्रकृतिको) नै हो । त्यसैले कर्मयोगको सिद्धान्त अनुसार संसारवाट मिलेका वस्तु, व्यक्ति र पदार्थ संसारलाई नबाँडी भोग गर्ने मनुष्यलाई भगवान 'चोर' भन्नुहुन्छ । संसारवाट मिलेको समस्त पदार्थ आदि संसारलाई अर्पण गरेर भोग गर्ने मनुष्य कर्मयोगी कहलाउँछ, संसारलाई अर्पण नगरी भोग गर्ने मनुष्य कर्मरोगी कहलाउँछ । अव, वल हाम्रै कोर्टमा आएर अड़ेकोछ, हामी कर्मयोगी हुने कि कर्मरोगी हुने । अव दुःखदायी परिस्थितिमा आफूले के गर्ने हो भन्ने कुरा पछि          
हजुरहरुको 
इन्दिरा 

No comments:

Post a Comment