Thursday 27 March 2014

16.1 आजको विषय अर्जुनको विषादको वारेमा हुनेछ ।

आजको विषय अर्जुनको विषादको वारेमा हुनेछ । त्यो भन्दा पहिले युद्धको भूमिका नै जाउँ ।

महाभारतको युद्ध हुन लाग्यो । पाण्डव पक्षका र कौरव पक्षका सबै सेनाहरुको तयारी हुनलाग्यो । त्यही वखत कौरवतर्फवाट दुर्योधन भगवान श्रीकृष्णसंग युद्धकोलागि सहायता माग्न द्वारका गए । संयोगले त्यही वेला अर्जुन पनि  पाण्डवतर्फवाट मदत माग्न त्यहीं पुगे । भगवान त्यो वेला सुतिरहनुभएको थियो ।  दुर्योधन केही क्षण अगाडि  पुगेका हुनाले भगवानको शिरान तर्फको मेचमा वसे । अर्जुन केही क्षणपछि पुगेकोले उनी भगवानको पाउतिरको मेचमा वसे, भगवान कुन वेला उठ्नुहुन्छ भनेर । भगवान उठ्नुभयो । आँखा खोल्ने वित्तिकै उहाँको नजर अर्जुनमा पर्यो । उहाँले सोध्नुभयो, 'ओहो! अर्जुन, तिमी के कामले आयौ ?' तर दुर्योधनले आफू अर्जुनभन्दा अधि नै त्यहाँ पुगिसकेको कुरा भने भगवानलाई । भगवानले भन्नुभयो, 'दुर्योधन, तिमी पहिले आएको भए पनि मैले त पहिले अर्जुनलाई नै देखें, तिमीलाई पछि नै देखें । फेरि तिमी अर्जुन भन्दा जेठा छौ, त्यसैले तिमीहरु दुई जना जे भन्न आएको भए पनि पहिलो अवसर अर्जुनले नै पाउनुपर्छ ।' (अन्तर्यामी भगवानले अर्जुन र दुर्योधन द्वारका आउनुको कारण थाहा पाइसक्नुभएको थियो) ।  त्यसपछि ती दुवैले आफू आएको कारण भने । त्यसपछि भगवानले भन्नुभयो, 'यो युद्धमा म कुनै हतियार प्रयोग गर्दिन, तिमीहरु दुवै थरीलाई मवाट सहयोग चाहिएको छ । एकातिर एघार अक्षोहिणी सेना छ, अर्कोतिर कुनै अस्त्रशस्त्र प्रयोग नगर्ने म छु । त्यसमध्ये अर्जुनको छान्ने पालो पहिले छ ।' अर्जुनले एघार अक्षोहिणी सेना छोडेर नि:शस्त्र भगवानलाइ छाने । दुर्योधनलाइ भगवान चाहिएको पनि थिएन,  त्यसैले उनी एघार अक्षोहिणी सेना पाएर खुशी हुँदै हस्तिनापुर फर्के ।            

यो घटनाको तात्पर्य हजुरहरुलाई अवगत नै होला । एघार अक्षोहिणी सेना भनेको संसारका भोग पदार्थ र नि:शस्त्र भगवान भनेको भगवान नै हुनुभयो । अर्जुन भक्त थिए, भगवानमा समर्पित थिए । उनले भगवानको महिमा बुझेका थिए, वालखकालदेखि नै आफ्ना काका धृतराष्ट्रवाट पाएका सबै दुःखहरु सम्झेका थिए, ती दुःखहरु परेको वेलामा भगवान श्रीकृष्णले उनीहरुलाई गरेको कृपा पनि उनले विर्सेका थिएनन् । त्यसैले उनले भगवान नै मागे, त्यही अनुरूप जीवनरूपी युद्धमा सफल पनि भए, उता दुर्योधन भगवानमा भक्ति गर्दैनथे, खालि यही संसारका पदार्थले आफूलाई सुख दिन्छ भन्ने ठान्थे, त्यसैले उनलाई नि:शश्त्र भगवानको कुनै प्रयोजन नै देखिएन आफ्नो जीवनमा । यही कारण, उनी जीवनरूपी युद्धमा असफल भए, धेरै दुःख पाए, आफ्नो यस्तो अमूल्य जीवन यसै खेर फाले । यो प्रसंगले हामीलाई सुख र शान्तिमय जीवन विताउन के गर्नुपर्ने रहेछ भन्ने कुरा सिकाउँछ जस्तो लाग्छ । सन्तहरु भन्छन, महाभारतको इतिहासले  हाम्रो संस्कृतिमा आफ्नो स्थान त राखी नै हाल्छ, तर यो महाभारतको कथालाई खालि कथाको रूपमा मात्रै नलिई हाम्रो आफ्नो जीवनमा पनि परमात्माको कृपाको महत्त्व बुझ्नुपर्छ हामीले ।  

अहिलेलाई यत्ति । अरु पछि ।

हजुरहरुको 
इन्दिरा

No comments:

Post a Comment