Friday 28 March 2014

20. संजयले भने

संजयले भने 

श्लोक २४ 
हे भरत वंशी राजन! निद्रविजयी अर्जुनले यस्तो भनेपछि अन्तर्यामी श्रीकृष्णले दुवै सेनाहरुको मध्यभागमा उत्तम रथ खडा गर्नुभयो । 

श्लोक २५ 
श्री भगवानले यस्तो ठाउँमा रथ राख्नुभयो, जहाँवाट अर्जुनले आफ्नो अगाडि पितामह भीष्म र द्रोणाचार्य तथा सम्पूर्ण राजाहरु देख्न सक्थे । श्रीभगवानले भन्नुभयो, 'हे पार्थ! यहाँ जम्मा भएका कुरुवंशीहरुलाई हेर ।'     
भगवान श्रीकृष्णलाई अर्जुनले सेनाको वीचमा रथ रोक्ने आज्ञा दिए । यहाँ नै उनमा भएको महारथी पदको अभिमान प्रतीत हुन्छ । भगवानले पाण्डवहरुलाई कृपा गरेर अस्त्र-शास्त्र विनाको आफूलाई महाभारतको युद्धमा समर्पित गर्नु भएको थियो । खास भगवानको अवतारको उद्देश्य पनि साधुको रक्षा गर्ने, दुष्टको विनाश गर्ने र धर्मको संस्थापन गर्ने नै हो । तर, यहाँ अर्जुनलाई कता कतावाट के के भैदियो । उनले भगवानलाई सामान्य सारथि माने, त्यही अनुरुप उनको भगवान प्रति यस्तो वर्ताव भयो ।  

भगवानलाई यस्तो आज्ञा दिनु भन्दा पहिले अर्जुनलाई कौरवहरु प्रति द्वेष भाव थियो । त्यही कारण उनले रथलाई सेनाहरुको वीचमा आफ्नो रथ रोक्न लगाए, आफू को कोसँग युद्ध गर्नु पर्ने हो भनेर । वास्तवमा, अर्जुन जस्तो महारथीलाई केही समय अघिदेखि नै यो कुराको ज्ञान भैसकेको थियो । तर द्वेष भावले गर्दा उनलाई यो तथ्यको विस्मृति भयो ।   

श्लोक २६ 
त्यसपछि पृथानन्दन अर्जुनले ती दुवै सेनाहरूमा स्थित पिताहरु (वाजेहरुलाई), पितामहहरु (बराजुहरुलाई), गुरुहरुलाई, मामाहरुलाई, भाइहरुलाई, छोराहरुलाई, नातीहरुलाई तथा मित्रहरुलाई, ससुराहरुलाई र सुहृदहरुलाई (यो शब्दले साथी भन्ने मात्रै नबुझाई आफ्नो दुःखसुखमा साथ दिने व्यक्ति बुझाउँछ) पनि देखे ।        

श्लोक २७ 
आफ्ना आफ्ना ठाउँमा वसेका ती सम्पूर्ण वन्धुवान्धवहरुलाई देखेर ती कुन्तिनन्दन अर्जुन अत्यन्त डराएर विलौना गर्दै भन्नथाले ।

अर्जुनले भने 

श्लोक २८ 
हे कृष्ण! युद्ध गर्ने इच्छा भएका यी कुटुम्ब-समुदायलाई आफ्नो उपस्थित देखेर

श्लोक २९ 
 मेरा अंगहरु अत्यन्त शिथिल भैरहेछन र मुख पनि सुकिरहेछ, तथा मेरो शरीर काँपिरहेछ र मेरा रौंहरू पनि ठाडा भइरहेछन ।     ।  

श्लोक ३० 
मेरो हातवाट गाण्डीव  धनुष खसिरहेछ र छाला पनि पोलिरहेछ। मेरो मन भ्रमित जस्तो भैरहेछ र मलाइ उभिन पनि गाह्रो भैरहेछ ।

श्लोक ३१  
हे केशव! मैले  लक्षणहरु विपरीत देखिरहेको छु, र युद्धमा स्वजनहरुलाई मारेर श्रेय (लाभ) पनि मैले देखिरहेको छैन ।    

श्लोक ३२
हे कृष्ण! म न त विजय चाहन्छु, न राज्य नै चाहन्छु, र न सुखहरु नै चाहन्छु । हे गोविन्द! हामीहरुलाई राज्यले के लाभ? अथवा वांचेर पनि के लाभ ?
केही क्षणअघि मात्रै कौरवहरुलाई 'धृतराष्ट्रका दुष्ट बुद्धि भएका छोराहरु' भनिरहेका अर्जुन कौरवलाइ देखेपछि तिनीहरुलाई 'स्वजन' भन्न थाले । अव उनका दलीलहरु युद्धको विपक्षमा हुन थाल्यो । हामीलाई आफ्नो अनुभववाट पनि थाहा छ, हामी आफ्ना वान्धवहरुको उनीहरुको पछाडि जति सुकै निन्दा गरे पनि उनीहरुको मुख देखेपछि हाम्रो मनको भाव नै फरक हुन्छ । यस्तै दशा भएको छ अर्जुनको । अर्को शब्दमा भन्नु पर्दा, राजा धृतराष्ट्रले पठाएको केही दिनअघिको पत्रले काम गर्न थालेको छ अर्जुनलाई ।      

श्लोक ३३ 
जसको लागि हामीलाई राज्य, भोग र सुखको इच्छा छ, तिनीहरु नै आफ्नो प्राणको र धनको पनि आशा त्यागेर युद्धमा उभिएका छन् । 
अर्जुनको यो भनाइवाट उनमा भएको कौटुम्बिक मोह स्पष्ट हुन्छ । केही अघिसम्म आफ्नो धनुर्वाण हातमा लिएर युद्ध गर्न तत्पर अर्जुनलाई एकाएक मोह भयो, सन्तहरुले अर्जुनको यो स्थितिलाई 'डिप्रेशन'को लक्षण भन्छन ।     
यी कथनहरुले महाभारतको युद्धको सबै जिम्मेवारी अर्जुन आफूले मात्रै लिन खोजे । तर, वास्तवमा त्यो कुरा होइन ।  अर्जुनको वालककालदेखि नै यो युद्धको वीज रोपिइसकिएको थियो, त्यसपछिका कतिपय घटनाहरुले त्यो वीजमा अन्कुरहरु लागेर युद्धरूपी वृक्ष झाँगिएको थियो । अथवा, परिस्थिति यस्तो वनिसकेको थियो, अर्जुन जुन ठाउँमा पुगिसकेका थिए, अर्जुन त्यहाँवाट  कुनै हालतमा फर्कन सक्तैनथे ।  यो युद्ध नहोस भनेर स्वयम् भगवानले पनि चाहनु भएको थियो । एकै कूलका दाजुभाइको व्यक्तिगत झगडाले युद्धको रुप लिन पुग्यो, कतिका जीवन खतम हुने थिए, कति नारीहरु विधवा हुने थिए, कति केटाकेटीहरु टुहुरा हुने थिए, यो भयावह स्थितिको अनुमान त पहिले नै भइसकेको थियो । त्यही कारण, भगवान श्रीकृष्ण आफैं शान्तिदूत बनी हस्तिनापुर गएर दुर्योधनलाई र धृतराष्ट्रलाइ सम्झाउनु पनि भएकै हो । तर, स्थिति आफ्नो हातवाट पर गएपछि नै यो युद्ध गर्नु परेको वाध्यता त पाण्डवले र भगवानले पनि महशूस गर्नु भएकै हो ।    

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

No comments:

Post a Comment