Thursday, 27 March 2014

18 मैले गीताको अध्ययन गरेर जे जानेको छु,

मैले गीताको अध्ययन गरेर जे जानेको छु, त्यो हजुरहरुलाई पनि शेयर गरिरहेकी छु । हजुरहरुलाई राम्रै लाग्ला भन्ने आशा छ । पहिलेको इमेलमा पहिलो अध्यायको ६ श्लोकसंमको व्याख्या भइसक्यो । यो अध्यायलाई  गीता शास्त्रको भूमिकाको रुपमा लिइन्छ । त्यसैले यसको व्याख्या धेरै हुँदैन जस्तो लाग्छ मलाई । आदि गुरु भगवान शंकराचार्यको गीताभाष्यमा खास भाष्य त दोस्रो अध्यायमा आएको भगवानको उपदेशवाट शुरु हुन्छ ।    

श्लोक ७ 
हे द्विजोत्तम, हाम्रो पक्षमा भएका मुख्य मुख्य योद्धाहरुमा पनि हजुरको दृष्टि जाओस् । हजुरको ध्यान आकृष्ट गर्नको लागि म आफ्नो सेनाको नाम भन्छु ।  
दुर्योधनको यो उक्तिले उनको आत्मवलको कमी महशूस हुन्छ । किनकि कुनै पनि युद्ध गर्ने राजा, युवराज, सेनापतिहरु, महाराथीहरु र साना साना सैनिकहरुलाई पनि को, कति, कुन स्थानमा कसरी युद्धभूमिमा तैनाथ रहन्छ भन्ने कुराको ज्ञान पहिले देखि नै हुन्छ । युद्धको मैदानमा राजाले (युवराज)ले आफ्नो सेनापतिलाई यस्तो किसिमले अर्थ्याएको प्रसङ्ग नआउनु पर्ने हो । दुर्योधन अशान्त छन्, उनलाई के गरौँ, के गरौँ, भएको छ, त्यसैले उनी यस्तो प्रलाप गरिरहेका छन् । 

श्लोक ८ 
हजुर र पितामह भीष्म तथा कर्ण र संग्रामविजयी कृपाचार्य, त्यस्तै, अश्वत्थामा, विकर्ण  र सोमदत्तका पुत्र भूरिश्रवा  

श्लोक ९ 
यहाँ अरु पनि मेरोलागि आफू वांचने इच्छाको  पनि त्याग गरेका, अनेक प्रकारका अस्त्र-शस्त्र चलाउन  सिपालु र सबै युद्धकलामा निपुण योद्धाहरु पनि छन् ।

श्लोक १० 
दुर्योधनको यस्तो प्रलापको कुनै उत्तर द्रोणाचार्यवाट आएन। यसो हुँदा दुर्योधनको मनमा विचार आयो कि वास्तवमा
 हाम्रो सेना संख्यामा जतिसुकै ठूलो भए पनि पाण्डवलाई जित्न अपर्याप्त छ, किनभने, हाम्रो सेनाको संरक्षक दुबैतिर पक्षपात गर्ने भीष्म छन् । तर पाण्डवहरुको यो सेना हामीलाई विजय गर्न पर्याप्त छ, किनभने, यसको संरक्षक आफ्नो मात्रै सेनाको पक्षपात गर्ने भीमसेन  छन् ।   

यहाँ दुर्योधनलाई भीष्मको इमान्दारी माथि शंका उत्पन्न भएको देखिन्छ । किनकि दुर्योधन विचार गर्छन कि भीष्म पाण्डव वढी माया गर्छन । त्यसैले उनी ठान्छन कि भीष्मले कौरवलाई  भविष्यमा धोका दिनेछन। 
 
अर्जुनले अस्त्र-शस्त्रहरुले सुसज्जित नारायणी सेना छोडेर नि:शस्त्र भगवान श्रीकृष्णलाई स्वीकार गरेका थिए र दुर्योधनले भगवानलाई छोडेर उहाँको नारायणी सेना स्वीकार गरेका थिए । अर्जुनको दृष्टि भगवानमा थियो र दुर्योधनको दृष्टि बैभवमा थियो । भगवानमा दृष्टि हुने व्यक्तिको हृदय वलवान हुन्छ, किनभने भगवानको वल साँचो हुन्छ । तर  बैभवमा दृष्टि हुने व्यक्तिको हृदय कमजोर हुन्छ, किनकि संसारको वल कच्चा हुन्छ ।

श्लोक ११ 
 दुर्योधनले  आफ्ना वरिपरीका सबै महारथीहरूलाई हेर्दै भन्यो, हजुरहरु सबैले सबै मोर्चाहरुमा आफ्नो-आफ्नो स्थान ग्रहण गरेर निश्चित रूपले पितामह भीष्मको चारैतिरवाट रक्षा गर्नु होस् ।      
दुर्योधनको यो भनाइवाट पनि उनको भीष्म प्रतिको शंकाको पुष्टि हुन्छ ।

श्लोक १२ 
त्यो दुर्योधनलाई हर्षित गराउंदै कौरवहरुमा वृद्ध प्रभावशाली भीष्मले सिंह जस्तो गर्जंदै जोरले शंख वजाए ।
दुर्योधनसँग द्रोणाचार्यको विद्याको सम्बन्ध थियो र भीष्मजीसँग जन्मको सम्बन्ध थियो । विद्याको सम्बन्धमा पक्षपात हुँदैन, तर जन्मको सम्बन्धमा पक्षपात हुन्छ । अतः दुर्योधनको पटुतायुक्त वचन सुनेर द्रोणाचार्यले केही वोलेनन । त्यसो हुँदा उसको मानसिक उत्साह भंग भयो । तर, दुर्योधनलाई  विचलित देखेर भीष्मजीले  शंख वजाए ।        
यो श्लोकवाट स्पष्ट  हुन्छ, महाभारत युद्ध कौरवको नै अग्रसरतामा भएको थियो, किनभने कौरवको तर्फवाट भीष्मले शंख फुके ।  

श्लोक १३ 
त्यसपछि शंख र नागाराहरु तथा ढोल, मृदंग र  नरसिङ्घे वाजाहरु एकै चोटी वजे । ती वाजाहरुको शब्द धेरै भयङ्कर भयो ।

श्लोक १४ 
त्यसपछि सेता घोडाहरुले युक्त महान् रथमा वस्नुभएका लक्ष्मीपति भगवान श्रीकृष्ण र अर्जुनले पनि दिव्य शंखहरु निकै जोरले वजाउनुभयो ।  

श्लोक १५ 
अन्तर्यामी भगवान श्रीकृष्णले पाञ्चजन्य शंख र धनन्जय अर्जुनले देवदत्त शंख वजाउनुभयो  र भयानक कर्म गर्ने वृकोदर भीमले पौण्डॄ नामक महाशंख वजाए ।   

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 
इन्दिरा

No comments:

Post a Comment