Thursday 27 March 2014

19. अहिलेसम्म हामी गीताको पहिलो अध्यायको महाभारत युद्धको भूमिकामा नै छौं ।

अहिलेसम्म हामी गीताको  पहिलो अध्यायको महाभारत युद्धको भूमिकामा नै छौं । हालैसम्म प्रस्तुत विषयमध्ये यहाँ सबभन्दा मुख्य विषय दुर्योधनको शंका नै देखियो । हाम्रो आध्यात्मिक उन्नतिको, साथै व्यावहारिक उन्नतिको एक मात्र वाधा नै 'संशय' हो । भगवानले गीतामा भन्नुभएको छ, 'अज्ञश्चाश्रद्दधानश्च   संशयात्मा विनश्यति', अर्थात् हाम्रो विनाशको कुनै कारण छ भने त्यो 'संशय' नै हो ।  संशयले व्यक्तिलाई कतै पनि चल्न दिंदैन । संशयले व्यक्तिलाई चंचल र अस्थिर पनि वनाउँछ । अझ  भगवान भन्नुहुन्छ, संशय गर्ने व्यक्तिको पतन हुन्छ । संशयात्मा मनुष्यकोलागि न त यो लोक (यो शब्दले शरीर पनि जनाउँछ) हितकारक छ, न परलोक हितकारक छ र न सुख नै छ । अर्को शब्दमा, संशयात्मा मनुष्यकोलागि यो लोक पनि, परलोक पनि दुःखै दुःखमय छ ।  संशयात्मा मनुष्यमा न त ज्ञान (विवेक) हुन्छ र न श्रद्धा नै हुन्छ अर्थात् जो न त आफू जान्दछ, न अरुको कुरो मान्दछ, त्यसको पतन हुन्छ । 

अहिले विभिन्न व्यक्तिवाट शंख फुकिने प्रसङ्ग चलिरहेको छ । 

श्लोक १६ 
कुन्तिपुत्र राजा युधिष्ठीरले अनंतविजय नामको शंख वजाए तथा नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामक शंख वजाए ।    

श्लोक १७ 
हे राजन! श्रेष्ठ धनुष लिएका काशिराज र महारथी शिखण्डी तथा धृष्टद्युम्न  एवं राजा विराट र अजेय सात्यकि,

श्लोक १८ 
राजा द्रुपद र द्रौपदीका पाँचै पुत्रहरू तथा लामा हातहरू भएका सुभाद्रापुत्र अभिमन्यु सबैले सबैतिरवाट छुट्टा छुट्टै शंखहरु वजाए ।     

यो श्लोकमा 'अभिमन्यु'कोलागि 'महावाहु:' भन्ने शब्द प्रयोग भएको छ । महाबाहु शब्दले अत्यन्त पराक्रमी भन्ने बुझाउँछ । हात त सबैको हुन्छ, तर जसको हातवाट विलक्षण कामहरु हुन्छन, त्यस्तो व्यक्तिलाई महाबाहु भनिएकोछ गीतामा । गीताका अरु अरु ठाउँमा पनि यी  शब्दहरु प्रयोग भएका छन् ।  

श्लोक १९
पाण्डव सेनाको त्यस्तो भयङ्कर शब्दले आकाश र पृथ्वीलाई गुञ्जायमान गर्दै अन्यायपूर्वक राज्य हडप्ने दुर्योधन आदिको हृदयलाई  विदीर्ण गरिदियो, छिया छिया पारिदियो ।  

यो श्लोकले आसुरी सम्पत्तिका, अरुको राज्य हडप्ने शाशकहरुको मनस्थितिको उल्लेख भएको छ । अन्यायपूर्वक अरुको धन खोस्ने, अथवा खोस्न खोज्ने व्यक्तिलाई साना साना घटनाले पनि विचलित गराई रहेका हुन्छन । झन्, दुर्योधन आदिको त कुरा नै के गर्नु पर्यो र !
श्लोक २० 
यो श्लोकदेखि यो ग्रन्थले केही गति लिएको जस्तो लाग्छ ।
संजय भन्छन, हे महीपते धृतराष्ट्र! (यो शब्दले पनि 'अन्यायपूर्वक धन हडप्ने' भन्ने नै बुझाउँछ), अव शस्त्र चल्ने तयारी भइ नै रहेको छ । शंख फुकिसकियो, धनुषमा प्रत्यन्चा चढाउने वेला हुनै  लाग्यो ।त्यही वेला, अन्यायपूर्वक राज्य धारण गर्ने राजाहरुलाई र तिनीहरुका साथीहरुलाई व्यवस्थित रूपले आफ्नो अगाडि उभिई रहेको देखेर कपिध्वज (अथवा जसको रथको झण्डामा हनुमानजी हुनुहुन्थ्यो) पाण्डुका छोरा अर्जुनले आफ्नो गाण्डीव धनुष उठाए र अन्तर्यामी भगवान श्रीकृष्णसँग यो वचन भने ।       
यो श्लोकमा पनि दुर्योधनको निन्दा गरेको जस्तो लाग्छ, वेदव्यासजीले भनौं अथवा संजयले । अथवा, यो पनि इंगित भैरहेछ, यो महाभारतको युद्ध हुनुको एक मात्र कारण नै दुर्योधन अथवा धृतराष्ट्रवाट पाण्डवहरुको धन खोस्नु हो, पाण्डवहरुलाई 'घरवार विहीन' वनाउनु हो । गीताको अध्ययन गर्दा हामीलाई 'के गर्न हुने, के गर्न नहुने भन्ने कुराको बोध हुन्छ जस्तो लाग्छ मलाई । अर्थात् आध्यात्मिक ज्ञानले हामीलाई पाप कर्मवाट वचाउने रहेछ । 
शास्त्रमा आउँछ, व्यासजीले कति धेरै ग्रन्थले लेख्नु भयो । ती सबै ग्रन्थहरुको निचोड एउटा, खालि एउटा मात्रै हो, 'परोपकार पुण्याय पापाय परपीडनम' । अर्थ, 'पुण्य' भनेको नै परोपकार (अरुलाई सुख पुर्याउनु)  हो, 'पाप' भनेको नै अरुको हानि गर्नु, अरुलाई पीडा दिनु हो । झट्ट हेर्दा, यो कथन सजिलै जस्तो लाग्छ, तर, यसलाई साधन रूपमा लिने व्यक्तिकोलागि यो साधनको धेरै ठूलो महत्त्व देखिन्छ जस्तो लाग्छ मलाई ।        
अव हामी थाहा पाउँछौ, कस्तो समयमा 'अचानक' मोह भएछ अर्जुनलाई ।

अर्जुनले भने 
श्लोक २१, २२  
हे अच्युत! दुवै सेनाहरुको वीचमा मेरो रथलाई हजुर त्यो वेलासम्म रोकिरहनु होस् , जवसम्म म युद्धक्षेत्रमा उभिएका, युद्ध गर्न खोज्ने यी योद्धाहरुलाई हेरी नसकुं कि यो युद्धरूप उद्योगमा मलाई को कोसँग युद्ध गर्नुपर्छ ।   
यो श्लोकले अर्जुनको भित्र मनमा भएको 'द्वन्द'लाई  दर्शाउँछ । उनलाई युद्ध गर्नै परेको छ, तर स्वेच्छाले होइन, करले ।  

श्लोक २३ 
दुष्टबुद्धि दुर्योधनलाई युद्धमा खुशी पार्ने इच्छा गर्ने जुन राजाहरु यो सेनामा उत्ताउला भएर आएका छन्, तिनीहरुलाई म हेर्न चाहन्छु ।  
अहिले अर्जुनको स्थिति  केही अघिका श्लोकमा वर्णित दुर्योधनको मनोदशासँग एकदम मिल्दो जुल्दो छ । अर्जुनलाई पहिलेदेखि नै ज्ञान छ, दुर्योधनका पक्षमा को लड्दै छन् भनेर । तर, उनी त्यो कुरा नसम्झेर हो कि, केही विचलित भएर हो कि, यस्तो अनुरोध गर्दैछन भगवानसँग । महारथी अर्जुन र दुर्योधनको यस्तो मनोदशा वीच महाभारतको युद्ध हुन लागिरहेको छ ।   

यस्तै छन्, हजुर मेरा कुरा । अरु पछि ।

हजुरहरुको 

No comments:

Post a Comment