Thursday 27 March 2014

17 धृतराष्ट्रले सोधे


धृतराष्ट्रले सोधे 
श्लोक १ 
धर्मक्षेत्रमा, कुरुक्षेत्रमा युद्धकोलागि जम्मा भएका  पाण्डवतर्फका र मेराले के गरे, हे संजय । 

यहाँ धृतराष्ट्रको पुत्रमोह देखिन्छ । हुन त पाण्डव पनि उनका भतिजा नै हुन्, तर उनले आफ्ना छोराहरुलाई 'मामका' भनेकोवाट यो कुराको भान हुन्छ । उनी अति धूर्त स्वभावका व्यक्ति हुन् । उनलाई आफूले पाण्डवप्रति गरेको दुर्व्यवहारको राम्रो सम्झना छ । साथै, आफ्ना छोराहरुको विशाल सेनाको विषयमा पनि उनलाई ज्ञान छ, तर, उनको आफ्नै अशुद्ध व्यवहारले गर्दा उनको चित्त शुद्ध छैन, र यही कारणले उनलाई शान्ति पनि छैन । 

शास्त्रले भनेको छ, चित्त शुद्ध हुनकोलागि कर्मलाई 'कर्मयोग' वनाउनु पर्छ, कर्मलाई कर्मयोग वनाउन हाम्रो कर्म शास्त्रको विधि अनुसार चल्नुपर्छ । 'शास्त्रको विधि अनुसार' भन्ने शब्दले कसैलाई 'लौ मार्यो' जस्तो पनि लाग्ला, तर त्यो होइन । महाभारतमा भनिएको छ, धर्म भनेको 'आफूलाई के राम्रो लाग्छ, त्यो अरुलाई पनि गर्ने, आफूलाई के राम्रो लाग्दैन, त्यो अरुलाई नगर्ने' ।  कुरा धेरै सरल छ, तर यसरी जीवन विताउन धेरै प्रयासको जरूरी छ जस्तो लाग्छ मलाइ । अहिले हामीले अध्ययन गरिरहेको शास्त्र वेदान्त नै हो भन्ने कुरा म हजुरहरुलाई फेरि एक चोटी स्मरण गराउन चाहन्छु । हामीले यो कुरा पनि बुझ्नु पर्छ, वेदान्तले कुनै 'यान्त्रिक' जीवन चलाउने कला सिकाउँदैन, (आजकलका हाम्रा धार्मिक सम्प्रदायहरू हामीलाई यो यान्त्रिक जीवनवाट कतिसम्म माथि उकास्न सफल छन्, यो अर्कै चर्चाको विषय हुनेछ) ।  वेदान्तले त हामीलाई यस्तो यान्त्रिक जीवन पद्धतिवाट माथि उठेर  स्वतन्त्र, सुखमय र शान्तिमय जीवन विताउन सहयोग गर्छ । 

धृतराष्ट्रलाई   आफ्ना छोराहरु जितून भन्ने त छँदैछ, तर साथै उनलाइ आफ्ना छोराहरुले नजित्ने हुन् कि भन्ने ठूलो चिन्ता छ । यही द्वन्द्व वीचमा उनको यो प्रश्न आएको छ ।     


संजयले भने 
श्लोक २ 
पाण्डव सेनालाई युद्ध भूमिमा राम्ररी हेरेपछि राजा दुर्योधनले  आफ्ना गुरु द्रोणाचार्यको नजीक गएर यी शब्दहरु भने । 
महाभारतको युद्धको रिपोर्ट अव शुरु हुन्छ । हुन त दुर्योधनको भन्दा पाण्डव हरुको सेनाको सङ्ख्या निकै कम थियो, तर यो वेला दुर्योधनको आत्मवल न्यून भैरहेको थियो । महात्माहरुले भन्नुहुन्छ, यदि  हाम्रा उद्देश्यहरु अशुद्ध छन् भने र ती उद्देश्य पूर्ति गर्ने हाम्रा साधन पनि कपटपूर्ण छन् भने, हामी जति नै व्यवस्थित र नियोजित भए पनि हाम्रो मन अशान्त हुन्छ ।  

यहाँ संजयले दुर्योधनलाई 'राजा' भनेका छन् । हुन त दुर्योधन हस्तिनापुरका राजा होइनन्, राजा त धृतराष्ट्र नै हुन् । तर राजा नै नभई राजालाई पनि नटेरेर व्यवहार गरेको हुनाले संजयले उनलाई राजा भनेको हुनुपर्छ । फेरि, दुर्योधनले आफ्नो गुरुसँग जसरी कुराकानी गरे, त्यो एउटा शिष्यले गुरुलाई गर्नुपर्ने खालको नभई एउटा राजाले आफ्नो सेनापतिलाई आज्ञा दिएको जस्तो देखिन्छ ।  
श्लोक ३ 

दुर्योधन भन्छन, द्रपदका पुत्र हजुरको शिष्य (धृष्टद्युम्न)ले नेतृत्त्व गरेको पाण्डवहरुको वलशाली सेना हेर्नुहोस् ।  

यो श्लोकमा दुर्योधन आफ्ना आचार्यलाई राजा द्रुपदप्रतिको उनको द्वेष भावलाई कोट्याउँछन् । वास्तवमा, यो महाभारतको युद्ध द्रोणाचार्यको द्रुपद प्रतिको द्वेष भावको पनि परिणाम हो । दुर्योधन द्रोणाचार्यलाइ यो पनि इंगित गर्छन कि उनले धृष्टद्युम्नलाइ अस्त्रविद्या नपढ़ाएको भए आज उनलाई वध गर्न तयार हुने उनकै शिष्य हुँदैनथे ।          
श्लोक ४ 

यो युद्धमा भीम र अर्जुन जस्ता शूरवीरहरु पनि छन् । ती हुन्, युयुधान, विराट, र द्रुपद   
श्लोक ५ 

धृष्टकेतु, चेकितान, काशिराज, र कुन्तिभोज, र शैब्य र नरपुङ्गव  (नरहरुमा श्रेष्ठ)     

श्लोक ६ 

शक्तिशाली युधामन्यु, उत्साही उत्तमौजा, सुभद्रापुत्र र द्रौपदेय, ती सबै नै ठूला ठूला योद्धाहरु हुन् ।   

यहाँ दुर्योधनवाट यस्तो अभिव्यक्ति आउनुको कारण, शत्रु तर्फका योद्धा हरुको वर्णन गर्नुको कारण, एक त दुर्योधन आफू नै हतोत्साहित छन् , अर्को, उनी आफूले थाहा नपाउँदा नपाउँदै पनि आफ्ना गुरुलाई प्रतिपक्षका शूरवीरहरुको नाम भनेर झन् हतोत्साहित गरिरहेका छन् ।  

अज्ञानी मनुष्यलाइ  आफूले  आफूलाई र अरुलाई पनि 'के गरिरहेको छु' भन्ने नै ज्ञान हुन सक्तैन । यसको राम्रो उदाहरण बनेका छन्, दुर्योधन । 
दुर्योधनको यो उक्तिवाट यो अर्थ पनि लाग्न सक्छ, पाण्डव सेना संख्यामा थोरै भए पनि कौरव सेना भन्दा निकै निपुण छ । यहाँ दुर्योधनको युद्ध शुरु हुनुभन्दा अघिको निराशाजनक स्थितिको पनि अनुमान गर्न सकिन्छ ।  

युयुधान भगवान श्रीकृष्णका सारथी हुन्, उनको अर्को नाम हो सात्यकि । विराट मत्स्यदेशका राजा हुन् । पाण्डवले गुप्तवास यही विराट राज्यमा विताएका थिये । पाञ्चाल देशका राजा  द्रुपद त पाण्डवका ससुरा भैहाले ।  
चेदिका राजा ध्रिष्टकेतु नकुलका जेठान थिए । चेकितान पाण्डव सेनाका एक योद्धा थिए । काशीका राजा एक जातिका नाइके थिये.  पुरुजित र कुन्तिभोज त दाजुभाई भै हाले । कुन्तिभोज माता कुन्तीका 'धर्मपिता' थिए । शैब्य शिबि जातिका राजा थिए ।   

युधामन्यु र उत्तमौजा प्रसिद्ध स्थानीय अगुवा थिए । अर्जुन र सुभद्राका  पुत्र सौभद्र  (अभिमन्यु) हुन् । द्रौपदेय पांच पाण्डवका द्रौपदीतर्फका पुत्रहरू हुन् । यी सत्र योद्धाहरु पाण्डव तर्फका 'विभागीय कमान्डरहरु हुन् । एक कमान्डर अन्तर्गत एघार हजार अस्त्रशस्त्रधारीहरु हुन्छन ।

लौ त हजुर, आजलाई यत्ति नै ।

No comments:

Post a Comment