Monday 31 March 2014

22. हामीले यो भन्दा अघिको पत्रमा पहिलो अध्यायको ३३ श्लोक्सम्मको चर्चा गर्यौं ।

हामीले यो भन्दा अघिको पत्रमा पहिलो अध्यायको ३३ श्लोक्सम्मको चर्चा गर्यौं । यो अध्यायको नाम नै 'विषादयोग' हो । विषाद  त सबैलाई हुन्छ, तर अर्जुनलाई भएको विषाद चाहिं विषाद 'योग' भयो । शास्त्रमा आउँछ, व्यक्तिलाई दुई किसिमको वैराग्य हुन्छ--(१) श्मशान  वैराग्य, (२) तीब्र वैराग्य । यही दुइ वैराग्यलाई अर्को  दुई नाम पनि दिइएको छ--(१) परिस्थितिजन्य वैराग्य, (२) ज्ञानजन्य वैराग्य । जीवनमा हरेक व्यक्तिलाई प्रतिकूल परिस्थिति (दुःख) त आइ नै हाल्छ । तर, त्यो दुःखको फलस्वरूप वैराग्य पनि आउँछ । कसैलाई केही समय वितेपछि, परिस्थिति सामान्य भएपछि केही अघि आएको वैराग्य हराउँछ, तर कसैलाई प्रतिकूल परिस्थिति आउँदा भएको वैराग्य केही समयपछि  पनि हराउँदैन, त्यो वैराग्य रहिरहन्छ । दुःख पर्दा आउने र पछि हराउने वैरग्यलाई 'श्मशान वैराग्य' अथवा 'परिस्थितिजन्य वैराग्य' भनिन्छ र दुःख पर्दा आउने तर केही समय पछि पनि नहराउने वैराग्यलाई 'तीब्र वैराग्य' अथवा 'ज्ञानजन्य वैराग्य' भन्छन ।          

यहाँ अर्जुनको वैराग्य ज्ञानजन्य वैराग्य भयो, उनले आफूलाई भएको वैराग्यवाट ज्ञान हासिल गरे । किनभने, अर्जुनलाइ आफूमा परेको वैराग्यवाट कसरी वाहिर निस्कने भन्ने विचार उठ्यो । त्यो उठेको विचारलाई नै यहाँ योग भनियो ।  

शास्त्रले भन्छ, (हुन त हामीलाई यो कुरा त्यती राम्रो नलाग्न सक्छ, नलागे पनि के गर्ने, शास्त्रले सत्य वोल्छ, सत्य सुन्न हामी तयार छैनौं भने त्यसले पनि के गरोस्) ज्ञान हुनकोलागि 'विषाद'को आवश्यकता छ, विषाद नपरी कसैलाई वैराग्य हुन्दैन, वैराग्य नभई कसैलाई पनि ज्ञानको वारेमा 'जिज्ञासा' हुन्दैन । जिज्ञासा नभई कसैलाई परमात्माको कुरा जान्ने इच्छा हुँदैन ।  यसैले गीताको सातौं अध्यायमा ज्ञानीलाई क्रमैसँग चार किसिमले 'विभाजन' गरिएकोछ । भनिन्छ, 'आर्तो जिज्ञासु, अर्थार्थी ज्ञानी च  भरतर्षभ' । 

गीताले यहाँ भन्न खोजेको चार थरीका भक्त नभई एकै भक्तको चार अवस्था हुन् । किनभने, महात्मा ध्रुवलाई पनि भक्त भनिन्छ, तर ध्रुवको चरित्र हेर्दा ध्रुवले भगवानको दर्शन पाएपछि पनि आफ्नो भाई उत्तम युद्धमा मारिएपछि अत्यन्त क्रोधित भएर भीषण युद्ध गरे । यो युद्ध रोक्न महाराज मनुले नै ध्रुवलाइ सम्झाउनु पर्यो । यसवाट थाहा हुन्छ, साक्षात्  नारायणको दर्शन हुँदा पनि क्रोध रोक्न त ज्ञान नै चाहिने रहेछ, आफ्नो प्रयास नै चाहिने रहेछ । आर्त भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ, अर्थार्थी भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ, जिज्ञासु भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ । अर्थात्, ज्ञान भन्दा ठूलो, पवित्र यो संसारमा अरु केही रहेनछ । गीताले नै भन्छ, 'न हि ज्ञानेन सदृशम् पवित्रमिह विद्यते ।'        

हाम्रो सामान्य समझमा ज्ञानी र भक्तलाई दुइ किसिमले विभाजन गरेको छ । तर गीता अनुसार आर्त पनि भक्त नै हो, अर्थार्थी पनि भक्त नै हो, जिज्ञासु पनि भक्त नै हो, ज्ञानी पनि भक्त नै हो । गीताले ज्ञानमार्गद्वारा चल्नेलाई पनि साधक र भक्तिमार्गद्वारा चल्नेलाई साधक नै भन्छ । यसको विस्तृत चर्चा गीताको वारहौं र तेर्हौं अध्यायमा गरिएको छ ।    

यस्तै हो हजुर, एउटी सासुले बुहारीलाई भन्थी रे, 'के गर्छेस्, बुहारी?'  बुहारीले जवाफ दिई रे, 'पोख्छु, उठाउँछु' । मेरो पनि त्यही हविगत छ ।   

हजुरहरुको 
इन्दिरा 
 


No comments:

Post a Comment