Monday 31 March 2014

23. अब गीताको श्लोकको अर्थतिर पनि जानुपर्ने छ हामीलाई ।

अब गीताको श्लोकको अर्थतिर पनि जानुपर्ने छ हामीलाई ।

श्लोक ३४ 
अर्जुन भगवानसँग आफ्नो तर्क यसरी राख्दैछन्, हाम्रा आचार्य, पिता, पुत्र र त्यस्तै प्रकार पितामह, मामा, ससुरा, नाति, सालाहरु तथा अरु जति पनि सम्बन्धीहरु छन् ।    

श्लोक ३५ 
यिनीहरुले मलाई प्रहार नै गरे पनि म यिनीहरुलाई मार्न चाहन्न, र हे मधुसूदन! मलाई त्रिलोकीको नै राज्य मिले पनि म यिनीहरुलाई मार्न चाहन्न, फेरि यो पृथ्वीको राज्यकोलागि त यिनीहरुलाई के मार्नु?

यी दुइ श्लोकहरुमा अर्जुनले युद्धको सम्पूर्ण जिम्मेवारी आफूले मात्र लिन खोजेका छन् । आफूलाई पूरापूर कर्ता र भोक्ता मान्दैछन अर्जुन । यो कर्ता र भोक्ता भावले नै हामीलाई दुःख दिने हो । जो कर्ता हुन्छ, उसले भोक्ता हुनै पर्छ, कर्ता र भोक्ता हुनेले दुःख पाउनै पर्छ । शास्त्रले हामीलाई यही भाववाट  छुट्न सिकाउँछ । गीताको प्रसिद्ध श्लोक छ, 'तिम्रो कर्ममा मात्रै अधिकार छ, फलमा छैन' । किनभने, हामी कर्म गर्न स्वतन्त्र छौं, तर कर्मको फल हाम्रो हातमा छैन । कर्मको फल आफूले आफूलाई दिन पनि सकिंदैन ।  आफूले परिक्षा दिने, आफूले नै आफूलाई नम्वर दिने, आफूले  नै आफूलाई पास गर्ने  कुरा कहीं पनि कहिले पनि सम्भव छैन । अर्को कुरा, हामी कर्म गर्ने वेलामा वास्ता गर्दैनौं, तर कर्मफल आफूले सोचे जस्तो हुनु पर्छ भन्ने धारणा राख्छौं । हाम्रो सबभन्दा ठूलो गल्ती नै यही हो । 

तर वास्तवमा महाभारतको युद्ध अर्जुनको आफ्नो इच्छावाट मात्रै भएको होइन भन्ने हामी सबैलाई थाहा छ । अर्जुनमा यस्तो विचार आउनुको कारण पनि उनमा भएको मोह नै हो, अविवेकको नै हो । आउँदो दोस्रो अध्यायमा भगवान यही कुरालाई लिएर उपदेश दिनुहुन्छ । 

श्लोक ३६ 
हे जनार्दन! यी धृतराष्ट्रका सम्बन्धीहरुलाई मारेर हामीहरुलाई के खुशी होला र? यी आततायीहरुलाई मार्दा पनि हामीलाई पाप नै लाग्नेछ ।    

यहाँ अर्जुन 'आततायी' मारेर आफूलाई पाप लाग्ने कुरा गर्छन । वास्तवमा, आततायीहरुको त नाश हुनैपर्छ । किनभने आतातायीले नै समाजलाई दुःख दिन्छन, आततायीको वध भएन भने सारा समाज वरवाद हुन्छ, राष्ट्रमा अराजकता फैलन्छ । यहाँ भगवानको समेत सल्लाह अनुसार महाभारतको युद्ध हुँदैछ यी आततायीको नाश गर्न, उता अर्जुन भन्दैछन, 'आततायीलाई मारयो भने पाप लाग्छ' । व्यक्तिको बुद्धि भ्रमित भयो भने के गर्न हुने, के गर्न नहुने, के वोल्न हुने भन्ने कुराको पत्तो हुँदैन । भक्तिमति कुन्तीका पुत्र अर्जुनको त यो चाल छ भने भने हाम्रो चाल के होला?         

श्लोक ३७ 
यसैले आफ्ना वान्धव यी धृतराष्ट्र-सम्बन्धीहरुलाइ मार्नकोलागि हामी योग्य छैनौं । किनकि हे माधव ! आफ्ना कुटुम्बीहरुलाई मारेर हामी कसरी सुखी हुन सकौंला ?   

अर्जुनको यो कथन साधारण परिस्थितिमा एकदम सत्य हो । तर अहिलेको विशेष परिस्थितिमा अर्जुनको यो विचार गलत छ । 

यो अध्यायमा हामी अर्जुनको यस्तो प्रलाप मात्रै पढ्छौं । तर, गीता सहित अन्य सबै शास्त्रले भन्छन, हामीले  आफ्नो कल्याण चाहने हो भने आफूलाई 'प्रेय' मार्ग वाट हटाएर 'श्रेय' मार्गतिर उन्मुख गर्नुपर्छ । यसकोलागि निरन्तर शास्त्रको अध्ययन गर्नुपर्छ, र सत्संग गर्नुपर्छ । शास्त्र आफैंले पढ्दा बुझ्न गाह्रो हुन्छ, त्यसैले आफूले नबुझेका धेरै कुरा सत्संगवाट प्रष्ट हुन्छ ।     

मैले हालै सुनेको एक महात्माको प्रवचनमा उहाँ भन्नुहुन्छ, 'म एक चोटी घरवाट घुम्न निस्कें । जाँदा जाँदै एउटा शिव मन्दिरमा पुगें । त्यो वेला सूर्य अस्त हुनै लागेको थियो । मैले  शिव लिङ्गको अगाडि गएर शिवजीको दर्शन गरें । त्यही वेला मेरो छायाँ शिव लिंगमा पर्यो । शिव मन्दिरवाट फर्कंदै गर्दा कुनै कामले म वीच वाटोमा रोकिएँ, त्यही वेला एउटा कुकुरले आएर मेरो छायाँमा पिशाव गर्यो । अव म के गरौँ, मेरो छायाँ शिव लिङ्गमा पर्दा खुशी होउँ कि मेरो छायाँमा कुकुरको पिशाव पर्दा दुःखी होउँ ।' 

हजुरहरुले यो कुराको विचार गर्नुपर्यो । यसको अर्थ वारे चर्चा पछि  हुन्छ ।   

लौ त हजुर, आजलाई यत्ति ।
 
 

No comments:

Post a Comment