Thursday 3 April 2014

25. हाम्रो वेदान्त सम्बन्धी ज्ञानको चर्चा अहिले पनि पहिलो अध्यायमा नै छ ।

हाम्रो वेदान्त सम्बन्धी ज्ञानको चर्चा अहिले पनि पहिलो अध्यायमा नै छ । यहाँ अर्जुनको मोहको नै प्रसंग छ।    
अर्जुन भन्दैछन्  

श्लोक ४३ 
यो वर्णसंकर पैदा गर्ने दोषहरुवाट कुलघातीहरुको सँधै चलिआएको कुलधर्म र जातिधर्म नष्ट हुनेछ ।  

श्लोक ४४  
हे जनार्दन ! जसको कूलधर्म नष्ट हुन्छ, ती मनुष्यहरुलाई  धेरै समयसम्म नरकहरुमा वस्नुपर्छ, यस्तो कुरा हामीले सुन्दै आएका छौं । 

श्लोक ४५  
यो वडो आश्चर्य र खेदको कुरा छ कि हामीहरु धेरै ठूलो पाप गर्ने निश्चय गरेर वसेका रहेछौं, जसको कारण हामी राज्य र सुखको लोभले आफ्ना स्वजनहरुलाई मार्नकोलागि तयार भएका छौं ।  

श्लोक ४६ 
यदि हातमा शस्त्र-अस्त्र लिएका धृतराष्ट्रका यी पक्षपाती युद्धभूमिमा सामना नगर्ने तथा शस्त्र नलिएको मलाई मार्छन नै भने त्यो (काम) मेरोलागि वडो हितकारी हुनेछ ।    

श्लोक ४७ 
यस्तो भनेर शोकाकुल मन भएका अर्जुन वाणसहित धनुष छोडेर युद्धभूमिमा रथको मध्यभागमा वसे ।

अर्जुनलाई यस्तो अवस्था किन भयो भन्ने प्रश्नको उत्तर हामीले उनको मोहको कारणले भएको भन्ने त बुझी नै सक्यौं । मनुष्यलाई मोह कसरी हुन्छ भन्ने कुराको पनि केही ज्ञान भैसक्यो । यसको एक र एक मात्रै कारण नै अज्ञान हो, अविवेक हो । एकै अज्ञानका अनेक अनेक अवगुणहरु हामीमा प्रकट हुन्छन । कहिले त्यही अज्ञान ममताको रूपमा प्रकट हुन्छ, कहिले राग, द्वेषको रूपमा प्रकट हुन्छ ।

यहाँ अर्जुन राग द्वेषको भुमरीमा अल्झिरहेका छन् । कहिले उनलाई दुर्योधन प्रति राग हुन्छ । उनी युद्धको मैदानमा आफ्ना प्रतिपक्षीलाई देखेर भन्छन, 'दृष्ट्वेमं स्वजनम कृष्ण.........सीदन्ति मम गात्राणी मुखं च परिशुश्यति', अर्थ, 'मेरा 'स्वजन'हरु देखेर हे कृष्ण, मेरा अंगहरु शिथिल भैरहेका छन्, मेरो मुख पनि सुकिरहेको छ ' । यही कुरालाई प्रमाणित गर्न उनी विभिन्न बुँदाहरु पेश गर्छन, केही श्लोकहरुमा । फेरि छत्तीसौं र सैंतीसौं श्लोकहरुमा उनी भन्छन, 'निहत्य धार्तराष्ट्रान्नः का प्रीति: स्याज्जनार्दन',  अर्थ, 'हे जनार्दन ! यी धृतराष्ट्रका नातागोताहरुलाई मारेर हामीलाई के प्रसन्नता हुन्छ र ?' 'स्वजनं हि कथं हत्त्वा सुखिनः स्याम माधव', अर्थ, 'हे माधव ! आफ्नो कुटुम्बहरुलाई मारेर हामी कसरी सुखी हौंला र ?' यस्तै, अठ्तीसौं श्लोकमा दुर्योधन प्रति उनको द्वेष देखिन्छ, 'यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः। कुलक्षयकृतं दोषम् मित्रद्रोहे च पातकम्' , अर्थ, 'यद्यपि लोभको कारण यी दुर्योधन आदिको विवेक-विचार लुप्त भएको छ, त्यसैले  यिनीहरु कुलको नाश गर्ने दोष र मित्रसंग द्वेष गर्दा हुने पापको वारेमा जान्दैनन्' । फेरि त्यसपछिका श्लोकहरुमा अर्जुन उनले युद्ध नगर्ने कारणहरु एक पछि अर्को प्रस्तुत गर्दैछन । उनको मनोदशा अत्यन्त विचलित देखिन्छ यी श्लोकहरुमा । आफ्नो कुराहरु भगवानवाट अनुमोदन होस् भन्ने आशाले नै अर्जुन अनेक नचाहिंदा र 'अप्रासंगिक' शास्त्रीय चर्चाहरु पनि गरिरहेका छन् केही अन्तिम श्लोकहरुमा ।
  
राग, द्वेषको वारेमा केही बुझ्नु जरूरी देखिन्छ । अज्ञानले गर्दा हाम्रो मन हरवखत संसारमा र संसारका व्यक्ति, वस्तु, पदार्थमा नै दौडिरहेको हुन्छ । हामी आफ्नो दुःखको कारण आफूमा भएको अभाव भन्ने मान्यता राख्छौं । त्यसैले हामी तिनीहरुको प्राप्तिमा नै प्रयास गरिरहेका हुन्छौं । कहिले आफूले सोचेको वस्तु, व्यक्ति र पदार्थ मिल्दा हामी खुशी हुन्छौं, कहिले नमिल्दा हामी दुःखी हुन्छौं । त्यही अनुरुप हामीले पाएको व्यस्तु, व्यक्ति र पदार्थमा हाम्रो राग हुन्छ, नपाएको वस्तु, व्यक्ति र पदार्थमा हाम्रो द्वेष हुन्छ । यही राग, द्वेषको विस्तार हुँदै जान्छ । हामीले भनेको मान्ने, हामीले भनेको जस्तो गर्ने, आफ्नो अनुकूल व्यक्तिमा हाम्रो राग हुन्छ, अनि त्यसको उल्टो व्यवहार गर्ने व्यक्तिमा हाम्रो द्वेष हुन्छ । त्यस्तै, आफूलाई राग भएको व्यक्ति, वस्तु र पदार्थमा हाम्रो 'आकर्षण' वढ्दै जान्छ, आफूलाई द्वेष भएको वस्तु, व्यक्ति र पदार्थमा हाम्रो 'विकर्षण' वढ्दै जान्छ । जसमा हाम्रो राग छ, त्यसमा हामी टाँसिन्छौ, जसमा हाम्रो द्वेष छ, त्यसवाट हामी पर भाग्छौं । यही टाँसाटाँस र भागाभागमा वितिरहेको छ हाम्रो जीवन यात्रा । हाम्रो अवस्था विल्कुल अर्जुनको जस्तो छ । कति भनौं, राग र द्वेषको विस्तार नै 'जगत' हो, अर्को शब्दमा, हाम्रो जगतमा व्यवहार गर्ने दुई हात भनौं कि, दुई खुट्टा नै राग द्वेष हो । संसारमा नै रमाइरहने, संसारवाट  सुख खोजिरहने व्यक्तिलाई राग द्वेष नभई छोडदैन ।    

यो राग-द्वेषको बिस्तार र यसको निदानको वर्णन पनि गीतामा नै भएको छ । यही प्रसङ्गसंगै यो पहिलो अध्याय समाप्त हुन्छ । 

हजुरहरुको 
इन्दिरा 

Song from Hajurma's cassette collection: Jaye Krishna Hare

No comments:

Post a Comment