Saturday 5 April 2014

26. यो भन्दा अघिल्लो पत्रको 'आइडेंटिटी क्राइसिस'कै चर्चा गर्ने हो कि ।

यो भन्दा अघिल्लो पत्रको 'आइडेंटिटी क्राइसिस' कै चर्चा गर्ने हो कि ।  
यस्तो उदाहरण  शास्त्रमा 'देवदत्त' नामवाट  दिइन्छ । देवदत्त एउटा छ, तर उ कसैको छोरा हो, कसैको वावु हो, कसैको दाजु हो, कसैको भिनाजु हो, कसैको सालो पनि हो, आदि आदि । त्यस्तै, देवदत्तको पनि यही किसिमका सम्बन्धहरु छन् । अव प्रश्न आउँछ, देवदत्त को हो त ?     

शास्त्र भन्छ, देवदत्त एक व्यक्ति हो, उसका अरु सबै नामहरु 'उपाधि' मात्र हुन् । उपाधि शरीरलाई लिएर हुन्छ्, आत्मालाई  लिएर हुँदैन । नाम र रुप नै नभएको आत्माको के उपाधि हुने । दुइटा भए पो, यसको नाम राख्नु, किनकि नाम राख्न त दुइटा हुनु पर्ने भयो, एउटा नाम राख्ने, अर्को नाम राखिने । किनभने आत्मा नै 'अद्वय' हो । अर्थात उपाधि सबै मान्यता हो, मान्यता पनि मनका उपज हुन् । फेरि शास्त्रले भन्छ, मनले भनेका जति सबै झूठा हुन् । 

हामी यो प्रसंग भन्दा अलि माथि उठ्नु पर्यो । हामी परमात्माका अंश हौँ । यो कुरा भगवानले गीताको पन्ध्रौँ अध्यायमा भन्नुभएको छ, 'ममैवांशो जीवलोके जीवभूतः सनातन' । भनाइको अर्थ, परमात्मा जति सनातन हुनुहुन्छ, जीव (हामी) त्यति नै सनातन छ । तर हामीले आफूलाई परमात्मा नमानेर 'शरीर' मान्यौं । हाम्रो सबभन्दा ठूलो गल्ति नै त्यही भयो । आफू सनातन हुँदा हुँदै पनि, अविनाशी हुँदा हुँदै पनि आफूलाई शरीर मान्दा हामीले शरीर ( यहाँ शरीर भन्दा तीनै शरीरलाई लिनुपर्छ) वाट हुने सम्पूर्ण क्रियाहरुलाई, अझ मुख्यतया सुक्ष्म शरीर द्वारा हुने सम्पूर्ण क्रियाहरुलाई, आफू 'स्वयम्'ले गरेको भन्ने ठान्यौं । वास्तवमा स्वयम् मा कुनै क्रिया हुँदैन । क्रिया त प्रकृतिमा हुन्छ । आफूवाट कुनै क्रिया नहुँदा नहुँदै पनि हामीले आफूलाई शरीर र संसारसँग जोड्यौं, प्रकृतिवाट भएका सबै क्रियाहरुलाई आफूले गरेको भन्ने ठान्यौं ।

संसारमा साधारणतया गल्ति गरेको व्यक्तिले पनि 'मैले गल्ति गरेको होइन' भन्छ भने गल्ति नै नगरेको 'स्वयम्'ले गल्ति गर्दा अनर्थ भयो । त्यही हुँदा ती क्रियाकलापका फलहरुवाट हामी सुखी दुःखी भयौं, रुने, कराउने गर्यौं । आफूले आफूलाई कर्ता मान्यौं, कर्ता मान्ने वित्तिकै भोक्ता पनि भयौं । यस्ता मान्छेहरुलाई भगवान भन्नुहुन्छ, 'अहंकारले विमूढ भएको व्यक्ति आफूलाई कर्ता मान्छ' ।                   

हाम्रो यस्तो विचारवाट उठ्न हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिवाट भएका सम्पूर्ण क्रियाहरुलाई आफू र आफ्नो नमान्नु पर्यो । गीताको पाँचौं अध्यायमा भगवान भन्नुहुन्छ, 'नैव किञ्चित करोमीति युक्तो मन्येत तत्त्ववित' ।   

शरीरद्वारा हुने सम्पूर्ण क्रियाहरुलाई आफ्नो नमान्न भगवान हामीलाई सिकाउनु हुन्छ, 'असंग शस्त्रेण दृढेन छित्त्वा', अर्थ, 'अनासक्ति रूपी शस्त्रले काट्ने' । अर्थात्, हाम्रा शरीर, इन्द्रियहरु, मन र बुद्धि आदिवाट भएका सम्पूर्ण क्रियाहरु आफूले गरेको नमान्ने । आफू 'स्वयम्'लाइ असंग मान्ने, 'असंगोहम, असंगोहम, असंगोहम पुनः पुनः ।'       

अव फेरि गीताको दोस्रो अध्यायमा नै जानु पर्ला कि ।

अर्जुन अझ पनि आफ्नो धारणा राख्दैछन, भगवान समक्ष । 

श्लोक ६ 
हामी यो पनि जान्दैनौं कि हामीहरुकोलागि युद्ध गर्नु र नगर्नु, यी दुइ मध्ये कुन चाहिं श्रेष्ठ हो अथवा हामी यिनीहरुलाई जित्छौं कि यिनीहरु हामीलाई जित्छन । जसलाई  मारेर हामी वाँच्न पनि चाहँदैनौं, ती धृतराष्ट्रका सम्बंधीहरु हाम्रो अगाडि खडा छन् ।   

यो श्लोकमा पनि अर्जुनमा शंका र द्वन्द्व छ ।  

श्लोक ८ 
कारण कि पृथ्वीमा धन-धान्य-समृद्ध र शत्रुरहित राज्य तथा (स्वर्गमा) देवताहरुको आधिपत्य नै मिले पनि इन्द्रियहरुलाई सुकाउने मेरो जुन शोक छ, त्यो हटला भन्ने म देख्दिन । 

यो श्लोकको अर्जुनको शोक नै अर्जुनकोलागि वरदान सावित भएको छ । यो श्लोकले उनलाई गीताको ज्ञानको अधिकारी वनायो । कठोपनिषदमा नचिकेताको यमराजसँगको सम्बाद पनि यही खालको छ ।   

नचिकेता कुनै कारणवश यमलोकमा यमराजकहाँ गए । त्यो वेला यमराज यमलोकमा नभएको समय परेछ । नचिकेता यमराज फर्केर नआउन्जेल अन्न जल समेत नलिएर यमलोकमा नै वसिरहे । तीन दिनपछि यमराज फर्के, नचिकेतालाइ त्यहाँ  तीन दिन कुरे वापत तीन वर माग्ने आदेश दिए । तेस्रो वरमा नचिकेताले ब्रह्मविद्या जान्न खोजे । त्यो वेला यमराजले नचिकेतालाई यही आठौँ श्लोकमा अर्जुनले वयान गरेको जस्तो तीनै लोकको राज्य र अरु अरु पनि धन आदि दिने, तर ब्रह्मविद्या नदिने कुरा भने । त्यसको जवाफमा नचिकेताले अर्जुनले अहिले भनेको  जस्तै भने, 'हे यमराज ! हजुरले मलाइ दिन्छु भनेको वस्तुहरु सबै विनाशवान छन् । यी वस्तुहरुको भोगले मनुष्यलाई अमृत शान्ति दिन सक्तैनन्, उल्टै यिनीहरुले हाम्रा इन्द्रियहरु (मन, बुद्धि)को शक्ति क्षीण गर्छन । त्यसैले हजुरले मलाइ दिन्छु भनेका स्वर्गको सुख र त्यहाँका अप्सराहरु हजुर नै राख्नुहोस्, मलाई ब्रह्मविद्या नै दिनुहोस् ।'         

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

Song for Hajurma's cassette collection : Narayana narayan jaye gobinda hare

No comments:

Post a Comment