Thursday 3 April 2014

24. फेरि पनि श्लोक तिर नै जाने क्रम छ ।

फेरि पनि श्लोक तिर नै जाने क्रम छ ।

श्लोक ३८  
यद्यपि लोभको कारण जसको विवेक-विचार लुप्त भएको छ, त्यस्ता यी दुर्योधन कुलको नाशवाट  हुने दोषलाई र मित्रहरुसंग द्वेष गर्दा हुने पापलाई देख्दैनन् । 

श्लोक ३९ 
तर, हे जनार्दन ! हामी त कुलको नाश गर्दा हुने दोषलाई राम्रोसंग जान्दछौं नि । त्यसैले हामीले  यो पापवाट हट्ने विचार किन नगर्ने ?   

यी श्लोकहरुमा अर्जुन झन् झन् 'कन्फ्युज' भएको देखिन्छ । एकातिर उनको कौरवहरु प्रतिको द्वेष भाव पनि प्रष्ट देखिन्छ, अर्कोतिर उनको दयाले कायरता 'ओढेको' छ । 'ओढेको' शब्दले यो जनाउँछ, वास्तवमा अहिलेको अवस्थामा अर्जुनमा दया हैन, कातरपना छ । ओढेको जहिले पनि वनावटी हुन्छ । जस्तो रावणले सीताहरण गर्ने वेलामा 'साधुता' ओढेको थियो ।  यदि रावण आफ्नो असली रूपमा सीताजीको अगाडि आएको भए उसले निराश हुनुपर्थ्यो । 

छोटोमा भन्नु पर्दा, अर्जुनलाई युद्ध गर्न मन छैन, युद्धवाट भाग्न मन छ । हामीहरुलाई आफ्नै अनुभववाट पनि थाहा छ, कुनै वेला आफूलाई मन नलागेको काम गर्नु पर्यो भने हामी आफैंसंग र अरुसँग पनि नाना थरीका विवाद गरिरहन्छौं । केही गरी अरुले जिते भने हामीलाई मन नलागी नलागी पनि त्यो काम गर्नु नै पर्छ, आफूले जितियो भने त्यो काम गर्नु पर्दैन । त्यही गति छ अर्जुनको यहाँ ।

श्लोक ४० 
कुलको क्षय भएपछि सँधै चलिआएको कुलधर्म नष्ट हुन्छ, र धर्मको नाश भएपछि वांकी रहेको सम्पूर्ण कुललाई अधर्मले दवाउँछ ।  

श्लोक ४१ 
हे कृष्ण ! अधर्म धेरै वढेपछि कुलका स्त्रीहरु दूषित हुन्छन र स्त्रीहरु दूषित भएपछि वर्णसंकर पैदा हुन्छन ।   

व्यक्तिलाई मोह नहुनु एउटा कुरा, एकचोटि मोह भएपछि त्यो मोहले अनेक हाँगाहरु फैलाउँछ ।  कहिले त्यो मोह दया लिएर आउँछ, कहिले विद्वत्ता लिएर आउँछ, कहिले त्यो दान लिएर आउँछ, कहिले सद्भाव लिएर आउँछ । फेरि त्यो कुन वेला, कसरी आउँछ भन्ने कुरोको पत्तो पनि हामीलाई हुँदैन । यो आएपछि यसले हामीलाई त लडाइ  नै हाल्छ, हाम्रो अगाडिको अर्को व्यक्तिलाइ पनि लडाइ दिन्छ । यहाँ अर्जुनसँग भगवान हुनु भएर पो ! नत्र के के हुन्थ्यो, के के ! भगवानको भगवत्ताले लड्नै लागेका अर्जुनलाई पनि वचाइ दियो ! यस्तो हुनमा एउटा र एउटा मात्रै कारण अर्जुन दैवी सम्पत्तिका धनी थिए, त्यसैले उनी भगवानका प्रिय मित्र थिए, साथै भगवानका भक्त थिए । भगवान आफैं भन्नुहुन्छ, 'भक्तोसि मे सखा चेति'।   

श्लोक ४२ 
वर्णसंकर कुलघातीहरुलाई र कुललाई नरकमा नै  लैजान्छ । श्राद्ध र तर्पण नपाउँदा  यी कुलघातीहरुका पितृहरु पनि आफ्ना आफ्ना स्थानवाट तल खस्छन ।  

पितृहरु दुई थरी हुन्छन--(१) आजान र (२) मर्त्य । पितृलोकमा वस्ने पितृलाई 'आजान' भनिन्छ र मनुष्य लोकवाट मरेर गएका पितृलाई 'मर्त्य' भनिन्छ । श्राद्ध र तर्पण नपाउँदा मर्त्य पितृहरुको पतन हुन्छ । पतन तिनै पितृहरुको हुन्छ, जो कुटुम्बसँग, सन्तानसंग सम्बन्ध राख्छन र उनीहरुवाट श्राद्ध-तर्पणको आशा राख्छन ।         

अहिले अर्जुनको मोह एउटा 'कर्मकाण्डी' पण्डितको भेष लिएर आयो। जसको मुखवाट शास्त्र निस्केको छ, त्यही परमात्मालाई शास्त्र सिकाउँदैछन अर्जुन ।  

अघिल्लो पत्रमा गरिएको छायाँको प्रसंग: 'छायाँ' हाम्रो जीवनमा साधारणतया  कुनै ठूलो महत्त्व राख्दैन । तर यो  प्रसंगमा चाहिं  'छायाँ'ले हामीलाई प्रभावित गर्ने गर्छ । मुख्य कुरो, हामीले छायाँलाई महत्त्व दिने भनेको हाम्रो मन बुद्धिले यो संसारका व्यक्ति, पदार्थ अथवा अवस्थालाई कति महत्त्व दिन्छ भन्ने हो । हामीलाई थाहा नै छ, यो संसार जड हो । तर, यो पनि भनिन्छ, यो संसार परिवर्तनशील छ । तर, संसार (यहाँ संसार शब्दले सम्पूर्ण सृष्टिलाइ नै लिनुपर्छ) जड भए यसमा परिवर्तन कसरी भयो ? परिवर्तन भए यो कसरी जड भयो ? यसको जवाफ हो, यो संसार जड भए पनि यो संसारलाई परिवर्तनशील वनाउने, चेतन जस्तो देखाई दिने यो संसारका अखण्ड ब्रह्माण्ड नायक परमेश्वरको सत्ता-स्फूर्ति नै हो । अर्थात्, यो संसारको आफ्नो स्वतन्त्र सत्ता छैन । यसमा स्वतन्त्र सत्ता देखिनु नै हाम्रो भ्रम हो । 

यही सन्दर्भमा, हाम्रो शरीर पनि जड नै भयो । गीताको तेर्हौं अध्यायमा यो शरीरलाई 'क्षेत्र' भनिएको छ, यो शरीरमा पर्ने सुख-दुःखलाई शरीरको विकार भनिएको छ । यसमा आउने जाने सुख-दुःख शरीरको छायाँ भयो । सुख-दुःखदेखि माथि उठ्न हामीले यो नाशवान शरीरलाई र शरीरका विकारहरुलाई (सुख-दुःख)  महत्त्व दिन छोड्नु पर्छ । त्यसो भन्दैमा शरीरको वास्ता नै नगर्ने, आफ्नो घर व्यवहारको वास्ता नै नगर्ने भन्ने पनि होइन । आफ्नो शरीरले गर्नुपर्ने सबै कर्तव्य कर्म गर्ने, तर त्यो शरीरमा र शरीरवाट भएका कर्ममा आसक्ति नराख्ने, ममता नराख्ने । यो शरीरद्वारा संसारको सेवा गर्ने । यसरी जीवन चलायो भने व्यक्तिलाई शान्ति हुन्छ, गीता अनुसार ।

 गीता भन्छ, शरीर हाम्रो आत्माको लुगा हो । यो शरीरलाई आफ्नो मान्नु, यो शरीरको पनि छायाँलाई आफू मान्नु त हाम्रो गल्ती नै हो । जो ज्ञानी छ, जसमा विवेकको अधिकता छ, उसले आफ्नो जीवनमा परेका सुख-दुःखलाई स्वीकार गर्छ, अर्थात्  छायाँलाइ जे जस्तो भए पनि उसले वास्ता राख्दैन । तर अर्को थरीले , जसमा विवेकको मात्रा कम छ, आफ्नो छायाँलाई आफ्नै अंगको रूपमा स्वीकार गर्छ । त्यसैले, उसले आफूलाई कर्ताको रूपमा स्वीकार गर्छ, कर्ताको रूपमा स्वीकार गरेपछि भोक्ताको रूपमा पनि स्वीकार गर्नै पर्यो, त्यही अनुसार सुख-दुःखलाई पनि आफ्नो मान्नै पर्यो, हाँस्नै पर्यो, रुनै पर्यो । यही कुराका अरु अरु अर्थहरू पनि छन्, प्रसंग अनुसार फेरि फेरि भन्ने नै छु ।  

आजलाई यत्ति ।

हजुरहरुको 
इन्दिरा 
 

No comments:

Post a Comment