अहिलेसम्म पनि हामी गीताको पहिलो अध्यायको नै चर्चा गरिरहेका छौं । अर्जुनमा भएको मोह, डिप्रेसनको चर्चा ।
मोह भनेको अज्ञान नै हो । यसले व्यक्तिलाई सुल्टोको
उल्टो र उल्टोको सुल्टो देखाइदिन्छ । यही हालत हामी सबैको छ । हामी गीता
पढ्छौं, गीताको अर्जुनको कुरा गर्छौं, तर, त्यसवाट हाम्रो स्थितिको विचार
गर्दैनौं । तर, गीता हामीलाई भन्छ, 'हे मुर्ख, अर्जुनलाई निमित्त वनाएर
मैले तिमीहरुलाई यो ज्ञान दिई रहेको छु । वास्तवमा, तिमीहरु अर्जुन भन्दा
कम छैनौ, अझ अर्जुन भन्दा वढी नै मुर्ख छौ ।'
भगवानले हामीलाई
सृष्टिको अरु कुनै जीवलाई नदिएको दुइ कुरा दिनुभएको छ । ती हुन्--कर्मको
स्वतन्त्रता र चिन्तनको स्वतन्त्रता । तर हामी यी दुइलाइ आफ्नो उपयोगमा
ल्याउन असमर्थ भैरहेछौँ । फेरि मानव जातिले अरु जातिले भन्दा फरक 'विवेक'
पाएको छ । यसको उपयोग पनि हामीवाट हुन सकिरहेको छैन ।
शास्त्रमा आउँछ,
परमात्माले सृष्टि गर्दा धेरै जीव जन्तुको सृष्टि गर्नुभयो, तर उहाँलाई
सबभन्दा धेरै सन्तुष्टि 'मनुष्य' शरीर वनाउँदा भयो रे । यही सन्तुष्टिले
गर्दा नै उहाँले हामीलाई, कर्ममा स्वतन्त्रता, चिन्तनमा स्वतन्त्रता र
विवेक दिनु भएको होला ।
कर्ममा
स्वतन्त्र हुन हामीले विवेक प्रयोग गर्नु पर्छ । विवेकको अर्थ यहाँ
'नित्यानित्य वस्तु विवेक' लिनु पर्छ । वेदान्तको अध्ययन गर्न नै हामीलाई
चार साधनको आवश्यकता पर्छ: ! (१) विवेक, (२) वैराग्य, (३) शमादि षटसम्पत्ति, (४) मुमुक्षुता ।
सबभन्दा पहिलो
पूर्वाधार नै 'विवेक' भएकोले यसको प्रयोग नै हाम्रो जीवनमा वढी महत्त्व
राख्छ जस्तो लाग्छ मलाइ । हुन त हामी व्यवहारिक प्रसंगमा पनि यो शब्दको
प्रयोग गर्छौं, तर वेदान्तमा यसको प्रयोग पारामार्थिक प्रसंगमा आउँछ ।
यो संसारमा
'नित्य' के हो 'अनित्य' के हो भन्ने कुराको विचार हामीले गर्नु पर्छ ।
शास्त्र भन्छ, यो संसारको सबै वस्तु, व्यक्ति, पदार्थ 'अनित्य' हुन्, तर यो
संसारको सृष्टि गर्ने परमात्मा 'नित्य' हो । अर्थात्, शास्त्र अनुसार
हाम्रो शरीर, नातागोता, धन सम्पत्ति, हाम्रा इन्द्रियहरु, मन, बुद्धि सम्म
सबै अनित्य छन् । तर हाम्रो शरीरमा रहने, हाम्रो शरीरलाई सत्ता, स्फूर्ति
दिने परमात्मा मात्र नित्य हो । यस्तो किसिमको विभाजन गरेर अनित्यलाई
महत्त्व नदिएर नित्यलाई महत्त्व दिने कलालाई नै 'नित्यानित्य वस्तु विवेक'
भनिन्छ ।
यस्तो विवेक
गर्न हामीले हर वखत नै 'नित्य' र अनित्यलाई केलाई रहनुपर्छ । त्यसो गर्न
सके हाम्रो कर्म पवित्र हुन्छ, हाम्रो सोच पवित्र हुन्छ । मैले पहिले पनि
निवेदन गरिसकें, हाम्रो कर्म हाम्रो चित्त शुद्धिकोलागि हुनुपर्छ, उपासना
हाम्रो मनको एकाग्रताको लागि हुनु पर्छ, हाम्रो ज्ञान
परमात्मप्राप्तिकोलागि हुनुपर्छ । त्यसैले सबभन्दा पहिले हाम्रो व्यवहार नै
शुद्ध हुनु पर्यो । व्यवहार शुद्ध गर्ने कुरामा गीतामा भगवान भन्नुहुन्छ,
हामीले गरिने कर्म शास्त्रको विधान अनुसार हुनु पर्छ । गीतामा नै शास्त्रीय
ढंगले कसरी व्यवहार (कर्म) गर्ने भन्ने चर्चा भएको छ, सत्र र अठार
अध्यायमा । हाम्रो कर्म शुद्ध गीतामा वर्णित सात्त्विक तरिकाले गर्दा
हुन्छ । सत्त्विक कर्म गरिरहँदा हाम्रो चित्त शुद्ध हुन्छ । गीताले भन्छ,
'सात्त्विकम् निर्मलम् फलम्' जति जति हाम्रो चित्त शुद्ध भयो, उति उति
हामीलाई शान्ति हुन्छ । अहिले यो मेरो पत्र पढ्ने सबैलाई ज्ञान भएकै छ, यो
संसारको भौतिक उन्नतिले हामीलाई शान्ति भएन, त्यसैले त्यही शान्तिको
प्राप्तिकोलागि हाम्रो कर्म शुद्ध हुनु पर्यो ।
अहिलेलाई यत्ति, अरु पछि । वेदान्तले एउटा बुँदा फेरि फेरि भन्छ, दृढ गराउनकोलागि । मेरो पत्र पनि त्यस्तै देखिन्छ ।
हजुरहरुको
इन्दिरा
Song from Hajurma's Collection: https://dl.dropboxusercontent.com/u/65228724/Hajurmas%20Casatte%20Collection/11%20Swas%20swaskoo%20sareer.mp3
No comments:
Post a Comment