Tuesday 22 April 2014

42. No. 13 श्लोक १६ असत् को भाव (सत्ता) विद्यमान छैन र सत् को अभाव विद्यमान छैन ।

No. 13  

श्लोक १६ 

असत् को भाव (सत्ता) विद्यमान छैन र सत् को अभाव विद्यमान छैन । तत्त्वदर्शी महापुरुषहरुले यी दुइको (सत् र असत्) तत्त्व देखेका छन्, अर्थात्  अनुभव गरेका छन् ।    

यहाँ यो व्याख्या गरिन्छ कि सत्ता मात्रै 'सत्' हो र सत्ता सिवाय जे सुकै प्रकृति र प्रकृतिको कार्य (क्रिया र पदार्थ) छन्, ती 'असत्' अर्थात् परिवर्तनशील हो । सत् र असत् को तत्त्व वेग्ला वेग्लै अनुभव गर्ने व्यक्तिलाई गीता महापुरुष भन्छ । यस्ता महापुरुषहरुलाई सत्तामात्रमा स्वतःसिद्ध स्थितिको अनुभव भएको हुन्छ । उनीहरुको दृष्टिमा (अनुभवमा) असत् को सत्ता छँदै छैन र सत् को अभाव छँदै छैन । अर्थात् त्यस्ता व्यक्तिले नित्य-अनित्य वस्तु विवेक द्वारा सत् र असत् को तत्त्वलाई राम्ररी बुझेका हुन्छन् । उनीहरुलाई यसमा कुनै पनि द्वन्द्व हुँदैन । त्यही कारण, उनीहरु संसारको सुख दुःखदेखि विचलित हुँदैनन्, त्यसै भएर अघिल्लो श्लोकमा वर्णन गरे जस्तै अमरताको अधिकारी हुन्छन् ।        

भगवानले चौधौं-पन्ध्रौँ श्लोकहरुमा शरीरको अनित्यताको वर्णन गर्नुभएको थियो, त्यसैलाई यहाँ 'नासतो विद्यते भावः' पदहरुले भन्नुभएको छ र वारहौं-तेह्रौं श्लोकहरुमा शरीरीको नित्यताको वर्णन गर्नुभएको थियो, त्यसैलाई यहाँ 'नाभावो विद्यते सतः'  भन्नुभएको छ ।     

असत् र सत्--यी दुइलाइ नै तेर्हौं अध्यायमा प्रकृति र पुरुष, पन्ध्रौँ अध्यायमा क्षर र अक्षर, दोस्रो अध्यायमा शरीर र शरीरी, अरु अरु प्रसंगमा अनित्य र नित्य, नाशवान् र अविनाशी आदि अनेक किसिमले वर्णन गरिएको छ । यसवाट थाहा हुन्छ, गीताको उद्देश्य साधकलाई त्यही वास्तविक तत्त्वको (सत्ता) अनुभव गराउनु हो । असत् भन्दा जुनसुकै देख्न, सुन्न, सम्झन, चिन्तन गर्न, निश्चय आदिमा आउने वस्तु भए । जसद्वारा देख्न, सुन्न, चिन्तन आदि गरिन्छ, त्यो पनि असत् हो, अर्थात् र देखिने पनि असत् हो । अर्थात् हाम्रो करणले अनुभव गरिने वस्तु असत्, करण पनि असत् र अनुभव गर्ने पनि असत् (किनकि अहिलेसम्म हामीले यही जगत् कै वस्तु नै अनुभव गरिरहेका छौं नि त) ।        

'नासतो विद्यते भाव:'  असत्=असत् को,  भाव:=भाव, न विद्यते=छैन ।  

असत् को भाव छैन, अर्थात्, असत् को अभाव विद्यमान छ; किनकि यसको निरन्तर (परिवर्तन) भइरहन्छ । असत् वर्तमान छैन । असत् उपस्थित छैन । असत् पाइएको छैन । असत् मौजूद छैन । असत् कायम छैन । यो त नियम नै हो  कि उत्पन्न हुने अथवा उत्पन्न भएको वस्तुको नाश हुन्छ । उत्पन्न हुने वित्तिकै तत्कालै त्यो वस्तुको नाश शुरु हुन्छ । त्यो वस्तुको नाश यति छिटो हुन्छ कि त्यसलाई हामी दुइ चोटी देख्न सक्तैनौं अर्थात् त्यो वस्तुलाई एक चोटी देखेपछि फेरि दोस्रो चोटी देख्दा त्यो उही स्थितिमा देख्न सकिंदैन । यो सिद्धान्त नै हो कि जुन वस्तुको कुनै पनि क्षण अभाव हुन्छ, त्यसको सँधै नै अभाव छ । अतः संसारको सँधै नै अभाव छ । हामी संसारलाई कति नै सत्ता दिउँ, कति नै महत्त्व दिउँ, तर, संसार वास्तवमा विद्यमान नै छैन, छँदै छैन । त्यसैले असत् प्राप्त छँदै छैन, कहिले प्राप्त भएकै थिएन, अव कहिले पनि प्राप्त हुने पनि छैन । असत् प्राप्त हुन सम्भव नै छैन ।   

यो कुरा हामीहरुले नबुझ्ने भन्ने त प्रश्न नै छैन, तर कति हदसम्म बुझियो भन्ने प्रश्न चाहिं छ । हामीलाई यो राम्ररी छ, यो गीताको ज्ञानको मूल जग foundation नै धृतराष्ट्रको प्रश्न हो: 'मामकाः' र 'पाण्डवाः' अर्थ, 'मेरा' र 'पाण्डुका छोरा', अर्थात्, 'मेरा हुन्', र  'मेरा होइनन्' । धृतराष्ट्रको मन, बुद्धिले एक थरीलाई 'मेरो' स्वीकार्यो, अर्को थरीलाई 'मेरो होइन' भन्ने स्वीकार्यो । तर, तर, अर्जुनको बुद्धिले, ज्ञान नभएको अवस्थामा पनि, धृतराष्ट्रका सन्तानलाई 'स्वजन' भन्ने स्वीकार्यो ।                         

अव विचार आयो, हामी कस्ता श्रेणीका मनुष्य हौँ त ? हामीमा धृतराष्ट्रता धेरै छ कि अर्जुनता धेरै छ । सरसर्ती हेर्दा यी दुवै खराव हुन्, तर गहिरिएर हेर्दा 'धृतराष्ट्रता' वढी खराव हो । अर्जुनताले अर्जुनलाई ज्ञानको अधिकारी वनायो, धृतराष्ट्रताले धृतराष्ट्रलाई ज्ञानको अधिकारी वनाएको प्रसंग हामीले थाहा पाएका छैनौं ।  किनभने अर्जुनको 'मोह' 'आगमापायी' थियो, तर धृतराष्ट्रको मोह 'आगमापायी' थिएन ।       

अव थाहा भयो, हामीलाई ज्ञान हुन अथवा हामीले पाएको ज्ञान बुझ्न हामी अर्जुन हुनु पर्ने रहेछ । अव हामीले आफूलाई 'धृतराष्ट्र' नै मान्नु पर्यो, त्यही सीमाबाट अघि वढ्नु पर्यो (किनभने अहिलेसम्म हामीले आफ्नो मुल्यांकन नै गरेका छैनौं) (मुल्यांकन नगरुन्जेल हामी दोस्रो श्रेणीमा जानै सक्तैनौं, किनभने 'हामी अर्जुन जस्तो' भन्नलाई पनि कुनै आधार त चाहियो नि हामीलाई ) । 

हस्  त यो प्रसंग अर्को पत्रमा ।

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment