Friday 25 April 2014

46. No. 17 श्लोक १७ (तिमी) त्यसलाई अविनाशी जान, जसवाट यो सम्पूर्ण संसार व्याप्त छ ।

No. 17 

श्लोक १७ 

(तिमी) त्यसलाई अविनाशी जान, जसवाट यो सम्पूर्ण संसार व्याप्त छ । यो अविनाशीको विनाश गर्न कोही पनि सक्तैन ।

व्यवहारमा हामी भन्छौं, 'यो मनुष्य हो, यो पशु हो, यो वृक्ष हो' आदि, आदि । यहाँ यो बुझ्नु पर्यो कि यी वाक्यमा उल्लिखित 'मनुष्य, पशु, वृक्ष' त पहिले पनि थिएनन्, पछि पनि रहने छैनन् तथा वर्तमानमा पनि प्रतिक्षण अभावमा गैरहेछन् । तर यिनीहरुमा 'छ' रूपले जुन सत्ता छ, त्यो त सदा जस्ता-को-तस्तो छ । तात्पर्य, 'मनुष्य, पशु, वृक्ष' आदि संसार (असत्) हुन्, र 'छ' अविनाशी आत्मतत्त्व (सत्) छ । यसैले 'मनुष्य, पशु, वृक्ष' आदि त अलग-अलग भए, तर यी सबैमा 'छ' एक नै रह्यो । यही किसिमले म मनुष्य हुँ, म पशु हुँ, म देवता हुँ आदिमा शरीर त अलग-अलग भए, तर 'हुँ' अथवा 'हो' एक नै रह्यो ।               

यो अध्यायका श्लोकहरुले साधकहरुलाई त्यही आत्मतत्त्व तर्फ नै इंगित गरिरहेछन्  र भनिरहेछन्, एकातिर संसार छ, अर्कोतिर परमात्मा छ, एकातिर जड छ, अर्कोतिर चेतन छ, एकातिर अपरा प्रकृति छ, अर्कोतिर परा  प्रकृति छ, एकातिर क्षर छ, अर्कोतिर अक्षर छ, एकातिर शरीर छ, अर्कोतिर शरीरी छ, एकातिर प्रकृति छ, अर्कोतिर पुरुष छ, एकातिर देह छ, अर्कोतिर देही छ, एकातिर क्षेत्र छ, अर्कोतिर क्षेत्रज्ञ छ 

पहिले छुट्टयाएर बुझाउँदा भनिन्छ, तिमी संसार होइनौ, परमात्मा हौ, तिमी जड होइनौ, चेतन हौ, तिमी अपरा प्रकृति होइनौ, परा प्रकृति  हौ, तिमी क्षर होइनौ, अक्षर हौ, तिमी शरीर होइनौ, शरीरी हौ, तिमी प्रकृति होइनौ, पुरुष हौ, तिमी देह होइनौ, देही हौ, तिमी क्षेत्र होइनौ, क्षेत्रज्ञ हौ । किनभने अर्जुन जस्तो साधकले आफूलाई शरीर माने , त्यसैले उनलाई मोह भयो, त्यही मोह हटाउने हेतुले भगवानले अर्जुनलाई शरीर र शरीरीको बिभाग अलग-अलग गर्नु भयो । त्यसपछि साधकलाई 'ए, म त मर्ने शरीर होइन रहेछु, यो शरीर धारण गर्ने आत्मा पो रहेछु' भन्ने बोध हुन्छ । 

तर,वास्तवमा, यो समस्त सृष्टि परमात्मामय भएकोले, परमात्मा नै भएकोले पहिले साधकलाई तिमी होइनौ भनेको संसार, तिमी होइनौ भनेको जड, तिमी होइनौ भनेको अपरा प्रकृति, तिमी होइनौ भनेको क्षर, तिमी होइनौ भनेको, शरीर, तिमी होइनौ भनेको प्रकृति, तिमी होइनौ भनेको देह, तिमी होइनौ भनेको क्षेत्र पनि परमात्मा नै हो भनेर बुझाइएको छ । गीताको र अरु सबै शास्त्रको उद्देश्य नै साधकको मोह,शोक, चिन्ता, भय हटाउनु भएकोले यी तरिकाहरु प्रयोग गरिएका हुन् ।         

गीताको सातौं अध्यायमा 'सबै परमात्मा नै हो' भन्ने ज्ञानको व्याख्या गरिएको छ । यो कुरा बुझ्न सक्ने साधकलाई भगवानले 'महात्मा' भन्नु भएको छ ।

आज घिउ अलि वढी भयो, अव हलुवा खानु पर्यो ।

अघिल्लो पत्रको झैं प्रश्नोत्तरमा जाउँ ।

प्रश्न: स्वामीजी ! समाजको दुःख कसरी हट्छ ?  

उत्तर: तिमी आफ्नो दुःख हटाउन सक्छौ । समाजले चाह्यो भने उसको दुःख हट्छ । कुनै वावु आफ्नो छोराको, कुनै पति आफ्नी पत्नीको दुःख हटाउन सक्तैन भने समाजले कसरी हटाउला । हो, तिमीले यति गर्न सक्छौ, तिम्रो आफ्नो दुःख-रहित जीवन समाजको अगाडि पेश गर्न सक्छौ, जसलाई देखेर समाजको मनमा आफ्नो दुःख हटाउने रुचि पैदा हुन सक्छ ।  

यो कुरावाट हामीले यो बुझ्नु पर्यो, हामीले आफूलाई परेको दुःख अरुवाट छुटाउने आशा राख्न नै नहुने रहेछ । जो मान्छे आफ्नो दुःख त छुटाउन सक्तैन, त्यसले अरुको दुःख कसरी छुटाउला ? त्यसैले भगवान गीताको छैठौं अध्यायमा भन्नुहुन्छ, 

'उद्धरेदात्मनात्मानं   नात्मानमवसादायेत् । आत्मैव ह्यात्मनो वन्धुरात्मैव  रिपुरात्मन: ।।       

अर्थ, आत्मना = आफूद्वारा  आत्मानम् = आफ्नो  उद्धरेत् = उद्धार गरोस्, आत्मानम् = आफ्नो  न अवसादयेत् = पतन नगरोस् ; हि = किनकि  आत्मा =आफैं  एव = नै  आत्मन: = आफ्नो  बन्धु:= मित्र हो (र) आत्मा = आफैं  एव = नै आत्मनः = आफ्नो  रिपुः= शत्रु हो । 

आफ्नो उद्धार अथवा पतनमा मनुष्य स्वयम् नै कारण हुन्छ, अर्को कुनै कारण  छैन । भगवानले हामीलाई मनुष्य शरीर दिनुभएको छ, त्यस्तै हाम्रो कल्याण गर्ने र हुने सबै सामग्री पनि दिनुभएको छ । यसैले आफ्नो कल्याणकोलागि अरु कसैको जरुरत छैन । हाम्रो पतन पनि अरु कोही गर्न सक्तैन । जीव (हामी) आफैं गुणहरुसँग सम्बन्ध गरेर जन्म-मरणमा परिरहेका छौं । 

गीताको ज्ञानले हामीलाई आफ्नो सोच वदल्न लगाउँछ । अहिलेसम्म यो संसारलाई, यही संसारका व्यक्ति, वस्तु र पदार्थलाई साँचो, स्थायी र पछिसम्म सुख दिने भन्ने मान्यता हामीले वनाइरहेका छौं । तर हामीलाई शास्त्र भनिरहेछ, यो संसार, यो संसारमा उपलब्ध व्यक्ति, वस्तु र पदार्थ केहीले पनि तिम्रो 'सुरक्षा' दिन सक्तैनन् । यी चिजवाट सुरक्षा पाउँला भन्नु त तिम्रो भ्रम मात्रै हो । स्वभावले नै नाशवान वस्तुले अविनाशी तिमीलाई कसरी सुरक्षा दिन्छ ? तिम्रो स्वभाव नै नित्य, शुद्ध, बुद्ध, मुक्त छ भने यो संसारका जड वस्तुले कसरी सुरक्षा दिन्छन् ?                       

यही परिप्रेक्षमा हामीले आफ्नो उद्धार हुने उपाय आफैं खोज्नु पर्यो । हामीलाई आफ्नो भूतकालले सताउनु भएन, त्यस्तै  भविष्यकालको चिन्ता पनि हुनु भएन । गीतामा भगवान भन्नुहुन्छ,   

'ब्रह्मभूत: प्रसन्नात्मा न शोचति न कांक्षति । सम: सर्वेषु भूतेषु मद्भक्तिम्  लभते पराम्  ।।     

 ब्रह्मभूतः = ब्रह्मरूप वनेको   प्रसन्नात्मा = प्रसन्न मन भएको साधक   न = न  त कसैकोलागि  शोचति = शोक गर्छ  र न = कसैको, केहीको   कांक्षति = इच्छा नै गर्छ । (यस्तो) सर्वेषु = सम्पूर्ण  भूतेषु = प्राणीहरुमा  समः = सम भाव भएको साधकलाई     पराम्, मद्भक्तिम् = मेरो पराभक्ति  लभते = प्राप्त हुन्छ ।  

तात्पर्य, ब्रह्म वनेको साधकको मन सँधै भरी प्रसन्न हुन्छ । त्यस्तो साधकलाई शोक हुँदैन । शोक हुने भूत कालको घटना अथवा परिस्थिति सम्झेर हो । ऊ हर वखत वर्तमानमा स्थित रहने हुँदा उसलाई शोक हुने प्रश्न नै रहँदैन । कुनै कुराको इच्छा गर्नु पर्ने भविष्यलाई लिएर हो । वर्तमानमा नै स्थित हुने त्यो साधकलाई भविष्यको चिन्ता पनि किन हुनु ?              
      
यस्तै कहिले घिउ खाने, कहिले हलुवा खाने गर्दा हाम्रो मोहरूपी रोग ठिक हुने आशा गरिन्छ ।

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

Songs from Hajurma's Cassette Collection : Last Songs

No comments:

Post a Comment