Sunday 20 April 2014

41. No. 12 पन्ध्रौं श्लोकको विस्तार:

No. 12  

पन्ध्रौं श्लोकको विस्तार:

सुखदायी-दुःखदायी परिस्थितिवाट सुखी-दुःखी हुनु नै व्यथित हुनु हो । कुनै विशेष परिस्थिति या घटनावाट सुखी दुःखी हुँदा हामी त्यो सुख अथवा दुःखको भोग गरिरहेका हुँदा रहेछौं । गीता भन्छ, भोगी व्यक्ति कहिले पनि सुखी रहन सक्तैन । त्यसैले, साधकले कहिले पनि सुख-दुःखको भोग गर्नु हुँदैन, केवल यस्तो घटना या परिस्थितिको सदुपयोग गर्नु पर्छ । सुखदायी-दुःखदायी परिस्थिति प्राप्त हुनु प्रारब्ध हो र ती परिस्थितिलाई साधन- सामग्री भन्ने विचार गरेर तिनको सदुपयोग गर्नु हाम्रो वास्तविक पुरुषार्थ हो । यो पुरुषार्थले नै हामीलाई अमरताको प्राप्ति गराउँछ । यो पन्ध्रौँ श्लोकले यही कुरा सिकाइरहेछ, हामीलाई ।     

सुखको, दुःखको सदुपयोग कसरी गर्ने?

आफूले यो संसारमा प्राप्त गरेको साधन सामग्रीले, (यहाँ साधन-सामग्री भन्दा हाम्रा समस्त नातागोता, घर सम्पत्ति, यहाँसम्मकि हाम्रो इन्द्रियहरु, मन, बुद्धिवाट हुने र गरिने समस्त क्रिया,र कर्म)ले अरुलाई सुख प्रदान गर्नु, उनीहरुको सेवा गर्नु नै सुखको सदुपयोग गर्नु हो ।  

सुखको इच्छाको त्याग गर्नु नै दुःखको सदुपयोग गर्नु हो । दुःखको सदुपयोग गर्दा साधकले आफूलाई आइपरेको दुःखको कारणको खोजी गर्छ । दुःखको एक मात्र कारण हो--सुखको इच्छा । जो व्यक्ति सुख-दुःखको भोग गर्छ, त्यो भोगी हुन्छ, उसको पतन हुन्छ र जो सुख-दुःखको सदुपयोग गर्छ, त्यो योगी हुन्छ, र ऊ सुख-दुःखदेखि माथि उठ्छ ।  दुःख पाउनु भन्दा पहिलेको अवस्था  (त्यो वेला त्यो अवस्था सुखदायी मानिएको थियो कि थिएन भन्नेमा पनि शंका नै हुन सक्छ) मा सुख थियो, त्यो सुख छुट्यो, त्यही सुख छुटेको अवस्थालाई नै सुख भनियो र त्यही अवस्थालाई दुःख भनियो । अर्को शब्दमा आफूलाई चित्त नबुझ्ने अवस्था आयो, दुःख भयो, आफूलाई चित्त बुझ्ने जस्तो अवस्था आयो, सुख भयो । त्यसमा अथवा मात्तिने र आत्तिने मान्छे अमरताको अधिकारी नहुने भयो । कुरा यति नै होइन त ।    

प्राकृतिक नियम अनुसार जुन नचाहँदा नचाहँदै पनि प्रत्येक प्राणीको जीवनमा आइ नै हाल्छ, त्यही दुःख हो, र जुन चाहँदा चाहँदै पनि रहँदैन, त्यही सुख हो । यस्तो दुःख-सुखलाई बलपूर्वक रोक्नु अथवा अडाइ राख्नु कुनै पनि प्राणीकोलागि सम्भव छैन, वरु तिनलाई (सुख-दुःखलाई) आदरपूर्वक स्वागत गर्नु अनिवार्य छ । जसलाई (सुखलाई) सुरक्षित गर्न सबै असमर्थ छन्, तिनमा आसक्ति गर्नु मूर्खता हो । बलपूर्वक रोक्न खोज्दा पनि नसकिने सुख हराउँदा हामी भयभीत हुन्छौं, र त्यही अवस्थालाई दुःख भन्छौं । पहिले पनि भनिसकिएको जस्तो लाग्छ, सुख र दुःख भनेको हाम्रो मनको मान्यता हो । शास्त्र भन्छ, मनले भनेको सबै झूठो ।        

दुःखदेखि भयभीत हुँदा हामीमा भएको सामर्थ्य, योग्यता तथा वस्तुको उपयोग राम्रोसंग हुन सक्तैन, भयभीत हुँदा आवश्यक विकास पनि हुँदैन, किनकि भयवाट हाम्रो शक्ति क्षीण हुन्छ जसले गर्दा हामीमा वेहोशी वढ्छ  । पछि गएर यो वेहोशी नै हाम्रो विनाशको मूल कारण वन्छ । यही वेहोशी उत्पन्न गर्ने भयलाई नाश गर्नकोलागि हामीले आफैं आएको दुःखको प्रभाव वारे विचार गर्नुपर्छ, त्यसको भोग गर्ने होइन । भोग गर्दा हामी त्यो आइपरेको दुःख हटाउन कोशीश गर्छौं, र सुख पाउने प्रयत्न गर्छौं । तर के गर्नु, दुःख आएपछि आइहाल्छ, त्यसलाई हामीले जति प्रयत्न गरे पनि त्यो हट्ने होइन । सुखको आसक्ति र त्योसँगको लोभले हामीलाई सुखको आशा गराउँछ । आशा भनेको आशा नै हो, जुन पुग्ने भन्दा नपुग्ने सम्भावना धेरै छ ।                

किनभने यो श्लोकको उद्देश्य नै सुख-दुःख भन्दा माथि उठ्ने छ । 

यही प्रसंगमा हामीले गर्नु पर्ने साधना यस्तो हुनुपर्ने रहेछ:

दुई व्यक्ति एक आपसमा कुरा गरिरहेका थिए । एउटाले भनेछ, 'माथि हलुवा पाकिरहेछ' । अर्को व्यक्तिले भनेछ, 'मलाई के' ? फेरि पहिलो व्यक्तिले भनेछ, 'पाकेको त तिमीलाई नै हो ।' फेरि दोस्रो व्यक्तिले भनेछ, 'त्यसो भए तिमीलाई के ?'

हाम्रो निरन्तरको साधना कुनै वाहिरको वस्तु, व्यक्ति र पदार्थपट्टि नगई  निरन्तर आफ्नै लक्षमा केन्द्रित रहनुपर्ने रहेछ । व्यवहारमा आइपरेको काम अनासक्त भएर गर्ने, तर आफ्नो लक्ष 'परमात्मा प्राप्ति' कहिले पनि नविर्सने । विर्सने वित्तिकै मोह भैहाल्छ । यसैमा सजग रहनुपर्ने रहेछ हामीले ।    

हस् त हजुर, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

Song from Hajurma's Cassette Collection: Santa Muni Jana

No comments:

Post a Comment