Tuesday 22 April 2014

43. No. 14 फेरि पनि श्लोक १६ कै विस्तार:

No. 14 

फेरि पनि श्लोक १६ कै विस्तार:

'नाभावो विद्यते सतः', अर्थ, सतः=सत् को, अभाव:=अभाव, न विद्यते=विद्यमान छैन ।      

सत् को अभाव विद्यमान छैन, केवल सत् को भाव नै विद्यमान छ ; यसको कहिले (परिवर्तन) हुँदै हुँदैन। अभाव हुनेलाई सत् भन्दै भन्दैनन् । सत् को सत्ता निरन्तर विद्यमान छ । सत् निरन्तर वर्तमान छ । सत् निरन्तर उपस्थित छ । सत् निरन्तर प्राप्त छ । सत् निरन्तर मौजूद छ । सत् निरन्तर कायम छ । कुनै पनि देश, काल, वस्तु, व्यक्ति, क्रिया, घटना, परिस्थिति, अवस्था आदिमा सत् को अभाव हुँदैन । कारण कि देश, काल, वस्तु, आदि त असत् (अभावरुप अर्थात् निरन्तर परिवर्तनशील) छन्, तर सत् सदा जस्ता-को-तस्तो रहन्छ । यसमा कहिले किञ्चित् मात्र पनि परिवर्तन हुँदैन, कुनै कमी आउँदैन । त्यसैले सत् को भाव सँधै नै छ । परमात्मतत्त्वलाइ हामी जति नै अस्वीकार गरौँ, त्यसको जति उपेक्षा गरौँ, त्यसवाट जति नै विमुख होउँ, त्यसको जति नै  तिरस्कार गरौँ, त्यसको जति नै युक्तिहरुद्वारा खण्डन गरौँ, तर वास्तवमा त्यसको अभाव विद्यमान नै छैन । सत् को अभाव हुन सम्भव नै छैन । सत् को अभाव कहिले कोही गर्नै सक्तैन ।           

यो श्लोकले हामीलाई केवल, केवल आफ्नो स्वरूपमा जान लगाइरहेछ, आफू को हो, आफ्नो अस्तित्व के हो भन्ने जान्न सिकाइरहेछ । अहिले सम्म हामी यता उति भट्किरहेका छौं, हामीलाई हाम्रो गन्तव्य, लक्ष्य नै थाहा छैन ।       

यसवाट बुझिन्छ, हामीले हाम्रो लक्ष्य पहिचान गर्नु पर्यो । पहिले पनि वर्णन भैसकेको छ, हाम्रो लक्ष मीठो खानु, राम्रो राम्रो लुगा, गहना लगाउनु, राम्रो घरमा वस्नु, जहान परिवारलाइ खुशी पार्नु मात्रै होइन ।  अहिलेसम्म हामीले थाहा पाइसक्यौं, यी कुरा मात्रै गर्दा हामीलाई शान्ति नहुने रहेछ, यही कारणले नै हामी यो अध्यात्मशास्त्रमा रूचि लिइरहेका छौं । वाटो लागिसकियो, गन्तव्यमा त पुग्नै पर्यो हामीले । आफूले नै शुरु गरेको परियोजना (प्रोजेक्ट) अधूरो छोड्न पनि हामीले भएन ।

यही सन्दर्भमा एउटा कविको कविता सम्झना भयो ।      

'प्रयासका पत्थरमा नदी सरी, वहंछु हाँसी म तरंगले भरी । म पोखरी झैं उही ठाउँ वस्दिन, छ शुद्ध यो जीवनको सबै कण ।।'

'गरीव भन्छौ सुखको म झैं धनी, मिल्दैन संसारभरी कतै पनि । विलासको लालस दास छैन म, मीठो छ मेरो रसिलो परिश्रम ।। 
छ भोक मीठो रसिलो छ प्यास, छ अन्तमा व्यन्जनको सुबास । छ थोर आवश्यकता पुगेपछि, म वस्छु संसार नयाँ नयाँ रची ।।   
निधार मेरो पसिना जडाउ छ, मोति तिनैको अनमोल भाउ छ । छ शान्तिको सुन्दर दीप वासमा, पियूषको स्वाद छ गाँस गाँसमा ।।'  

कस्तो आदर्श जीवनको कल्पना गर्नुभएको छ हाम्रा महाकविले !

हाम्रो आवश्यकता धेरै छँदै छैन, हामीले नजानेर नै आफूलाई धेरै चाहिएको ठानेका छौं । त्यही किसिमले अनावश्यक इच्छा गरेका छौं, इच्छा गरे अनुसार केही  इच्छा पूर्ति पनि गरेका छौं, अझ कति इच्छा पूरा गर्ने इच्छा पनि लिएर वसेका छौं । त्यही इच्छाले नै हाम्रो स्वरूप चिन्तनमा, ध्यानमा वाधा भइरहेको छ । त्यही इच्छाले नै हाम्रो मनलाई चंचल गराइरहेको छ । त्यो कुरा तिर हामी वास्ता नै गर्दैनौं, मतलव नै राख्दैनौं । त्यसको समाधानको उपाय नै खोज्दैनौं । निरन्तरको अनवरत दौड कायम नै छ हाम्रो । शास्त्र भन्छ, जति इच्छा, त्यति रीस, जति इच्छा, त्यति लोभ, जति इच्छा, त्यति राग, जति इच्छा, त्यति द्वेष । यही भएर, यही भएर हाम्रो स्वरूप चिन्तनमा आउने यी सबै वाधाहरुलाई कसरी थान्को लागाउने, कसरी हटाउने जिम्मेवारी पनि हाम्रै छ, किनकि इच्छा गर्ने पनि हामी, इच्छालाइ सीमित गरेर सुखपूर्ण, शान्तिपूर्ण जीवन विताउन सक्ने क्षमता राख्ने पनि हामी ।  

श्रीमद्भागवत महापुराणमा  धेरै कथाहरु आउँछन् । धेरै कथाले हामीलाई केही न केही सिकाइ नै रहेका हुन्छन् । राम्रा कथाहरुवाट के गर्न हुने र के गर्न पर्ने भन्ने थाहा पाउँछौं, नराम्रा कथाहरुवाट हामी के गर्न नहुने, के गर्नु नपर्ने भन्ने पनि थाहा पाउँछौं । यही सन्दर्भमा, च्यवन ऋिषको प्रसङ्ग सम्झना आयो ।            

च्यवन ऋिषले एउटा जंगलमा कठोर तपस्या गरिरहेका थिए । उनको त्यो धेरै लामो तपस्याले उनको शरीरमा नै धमिरा लागेर उनको शरीर ढाकेको थियो । एक दिन त्यो देशकी राजाकी छोरी सुकन्या आफ्ना केही साथीहरुसंग जंगल गइन् । त्यहाँ उनले एउटा माटोको ठूलो ढिस्कोमा दुइटा ज्योति देखिन् । त्यो ज्योति के होला भन्ने ठानेर तिनले ती ज्योतिमा छेस्काले घोचिदिइन् । त्यसवाट रगत आयो । यो देखेर ती राजकुमारी डराएर आफ्नो दरवार फर्किन् । यता ऋिषलाइ पीडा भयो, जसको कारण त्यो देशभरीका जनताको दिशा पिशाव रोकियो । राजा डराए र यसको कारण खोजी गर्दा सबैलाई थाहा पनि भयो । उनी ती ऋिषलाइ मनाउन गए । ती ऋिषले आफू दैनिक कृयाकलाप गर्न पनि असक्त भएकोले आफ्नो सेवाकोलागि ती सुकन्यालाई नै पत्नीको रूपमा मागे । राजासँग कुनै अर्को उपाय थिएन, राजकुमारीको विवाह ती ऋिषसँग भयो ।                           

केही समयपछि अश्विनीकुमारहरु ती ऋिषको आश्रममा आए । तिनीहरुले च्यवन ऋिषलाइ जवान वनाइदिने कुरा गरे, तर एउटा शर्तमा ।  ती च्यवनजी सहित ती अश्विनीकुमार तलाउ भित्र पस्ने, तर तलाउ वाट निस्कँदा ती सबै एकै रूपका भएर निस्कने । त्यसपछि सुकन्याले  च्यवन ऋिषलाइ चिन्नु पर्ने । (यो शर्तमा अश्विनीकुमारको आफ्नो स्वार्थ थियो) । सुकन्याले यो शर्त पहिले  स्वीकार गरिनन्, तर च्यवन ऋिषको कडा आग्रहमा उनले सो शर्त  स्वीकार गर्नै पर्यो । त्यसपछिको कथा त हजुरहरुलाई विदितै छ ।                   

अव यहाँ कुरा आउँछ, यो कथाले के संदेश दिन्छ त हामीलाई । ती ऋिषको तपस्या त उनलाई पतन गर्ने खालको पो रहेछ, उनले आफ्नो आँखा फुटाउने कन्यालाई नै मागे, उनमा प्रतिशोधको भावना रहेछ । यदि उनले ज्ञानकोलागि तपस्या गरेको भए ती कन्यालाई क्षमा गरिदिन्थे, आफ्नो दैनिक व्यवहारकोलागि राजासँग कुनै पुरुष सहचारी माग्थे । फेरि, अश्विनी कुमारको प्रस्ताव किन स्वीकार गर्नु पर्थ्यो उनले । उनी तपस्या गर्दा त वुढा नै थिए, घरमा सुकन्या छंदै थिइन् , उनलाई किन तरुनो हुनुपर्थ्यो ? थाहा पाइएन त हामीले ठूला ठूला व्यक्ति पनि गिरेको उदाहरण यही इच्छाको कारणले ।          

भागवतले हामीलाई हलुवा खुवाउँछ, गीता र उपनिषद घिउ खुवाउँछन् । धेरै के लेखौं, आज विराम लिन्छु ।  

हजुरहरुको 

इन्दिरा 

Songs from Hajurma's Cassette Collection: Saaja Badai Ayo  

No comments:

Post a Comment