Friday 25 April 2014

45. No. 16 सोह्रौं श्लोकको नै विस्तार:


No. 16  

सोह्रौं श्लोकको नै विस्तार:

जवसम्म असत् को सत्ता छ, तवसम्म विवेक छ । असत् को सत्ता मेटिएपछि त्यही विवेक नै तत्त्वज्ञानमा परिणत हुन्छ । 'उभयोरपि दृष्टोन्तस्त्वनयोस्तत्त्वदर्शिभि:' । (तत्त्वदर्शिभि:=तत्वदर्शी महापुरुषहरुले, अनयोः=यी, उभयो:=दुबैको, अपि=नै, अन्तः=तत्व दृष्ट:=देखेका छन् अर्थात् अनुभव गरेका छन् ।)     

'उभयोरपि'मा विवेक छ, 'अन्तः'मा तत्त्वज्ञान छ, र 'दृष्ट:'मा अनुभव छ, अर्थात् विवेक तत्त्वज्ञानमा परिणत भयो र सत्ता मात्र वांकी रह्यो । एक सत्ता सिवाय केही पनि छैन--यो ज्ञानमार्गको सर्वोपरि कुरो हो । 
            

असत् को सत्ता छैन--यो पनि सत्य हो र सत् को अभाव छैन--यो पनि सत्य हो । सत्यलाई स्वीकार गर्नु साधकको काम हो । साधकलाई अनुभव होस् अथवा नहोस्, उसले सत्य स्वीकार गर्नुपर्छ । 'छ'लाई स्वीकार गर्नु छ र 'छैन'लाई अस्वीकार गर्नु छ--यही वेदान्त हो, वेदहरुको खास निष्कर्ष हो ।      

संसारमा भाव र अभाव--दुवै देखिंदा पनि 'अभाव' मुख्य रहन्छ । परमात्मामा भाव र अभाव--दुवै देखिंदा पनि 'भाव' मुख्य रहन्छ । संसारमा 'अभाव' अन्तर्गत भाव-अभाव छन् र परमात्मामा 'भाव' अन्तर्गत भाव-अभाव छन् । अर्को शब्दमा, संसारमा 'नित्यवियोग' अन्तर्गत 'संयोग-वियोग' छन् र परमात्मामा 'नित्ययोग' अन्तर्गत योग-वियोग (मिलन-विरह) छन् । अतः संसारमा अभाव नै अभाव रह्यो र परमात्मामा भाव नै भाव रह्यो ।     

मैले पढेको एउटा पुस्तकवाट केही प्रश्न र उत्तरहरु प्रस्तुत गर्छु । 

प्रश्न: स्वामीजी ! भगवान् हाम्रो इच्छा किन पूरा गर्नुहुन्न?

उत्तर: इच्छा त भगवानले आफ्नो बाबु दशरथको पनि पूरा गर्नुभएन । फेरि तिम्रो इच्छा कसरी पूरा गर्नुहुन्छ? सीताले चाहेको भएन, कौशल्याले चाहेको भएन । तिमीले चाहेको कसरी हुन्छ ?  

यो कुरामा  मेरो विचार: 

भगवानले हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ, इच्छा पूरा गर्नुहुन्न । आवश्यकता भनेको, खानु, लगाउनु, सुत्ने ठाउँ हुनु, यी हाम्रा आवश्यकता हुन्, यी भन्दा अरु सबै इच्छा हुन् । गीतामा भगवान् भन्नुहुन्छ,   

'अनन्याश्चिंतयन्तो माम् ये जनाः पर्युपासते । तेषाम्  नित्याभियुक्तानां योगक्षेमं वहाम्यहाम्  ।।'      

अर्थ, ये=जो  अनन्या:=अनन्य  जनाः=भक्त  माम्=मेरो  चिन्तयन्त:=चिन्तन गर्दै  पर्युपासते=(मेरो) भलिभाँती उपासना गर्छन्,  नित्याभियुक्तानाम्=(ममा) निरन्तर लागिरहेका  तेषाम्=ती भक्तहरुलाई  योगक्षेमम्=योगक्षेम (नभएको कुराको प्राप्ति र भएको कुराको रक्षा)  अहम्=म   वहामि=वहन गर्छु ।               

यो श्लोकमा भगवानले 'अनन्य' भक्तको जिम्मा लिने कुरा गर्नुभयो । उहाँको विचारमा अनन्य भक्तको दृष्टि एक भगवानको सत्ता सिवाय कहीं अन्त जाँदै जाँदैन । उहाँको परिभाषा अनुसार आफ्नो इच्छा भगवान समक्ष पेश गर्ने मान्छे 'अनन्य' होइन । अनन्य भक्तको आफ्नो इच्छा भन्ने त हुँदै हुँदैन । ऊ भन्छ,  

'सिताराम सिताराम सिताराम कहिए । जाहि विधि राखे राम ताहि विधि रहिए ।। 
मनमें हो राम नाम राम सेवा हाथमें  । तू अकेला नहिं प्यारे राम तेरे साथमें ।।  

भगवान साधकलाई उसकोलागि आवश्यक साधन-सामग्री जुटाइदिनुहुन्छ, र उसले पाएको साधन-सामग्रीको रक्षा गरिदिनुहुन्छ--भगवानले भक्तको योगक्षेम गर्ने भनेको यही हो--हामीले हाम्रो जीवन कालमा आँखा नदेखेर जोडेको वस्तुको जिम्मा लिने काम भगवानको होइन । यहाँ त खालि 'आवश्यकता' शब्दले नै महत्त्व राख्छ । जस्तो-आफ्नो प्यारो वच्चाको पालन उसकी आमा स्वयं गर्छिन्, नोकरवाट होइन । तर भगवानको प्यारो हुन हामीलाई पनि कुनै योग्यता चाहिएला नि, होइन त !          

जस्तो भक्तलाई भगवानको सेवा गर्न आनन्द आउँछ, त्यस्तै भगवानलाई पनि भक्तको सेवामा आनन्द आउँछ । यस्तो 'अनन्यभक्त' र भगवानमा कुनै भेद छैन भन्छ शास्त्र ।
 
एउटा सन्तवाट सुनेको,  

एक साधु कतै गैरहेका थिए । वाटोमा उनलाई कसैले नराम्ररी पिट्यो, उनलाई त्यो पिटाइवाट चोट पनि लाग्यो । तर उनलाई यो कुराको केही परवाह भएन । उनले सोचे , 'मलाई भगवानले पिटे' । हिंडदा हिंडदै वाटामा एक सज्जनले ती साधुको मुखमा लागेको चोट देखे । ती सज्जनले ती साधुलाई अस्पतालमा लगेर मलम पट्टि लगाइदिए । अस्पतालमा पुलिसले उनलाई सोध्यो, 'तिमीलाई कसले पिट्यो ?' साधुले जवाफ दिए, 'मलाई भगवानले नै पिटे, भगवानले नै मलम पट्टी लगाइदिए ।' यस्तो कुरा सुनेर पुलिसले त्यो मलम पट्टि लगाउनेलाई नै थानामा थुन्यो ।        

यो कुराको आशय, अनन्यभक्तको दृष्टिमा एक भगवान सिवाय अर्को सत्ता नै नभएपछि 'जित देखुँ तित राम' भएन त ।   

हामी फेरि प्रश्नमा नै जाउँ । प्रश्नमा सोध्ने व्यक्ति हामी जस्तै भयो । उसको हिसावमा भगवानले हामीले जे जे सोच्दै जान्छौं, त्यही भगवानले पुर्याइदिनुपर्छ भन्ने भयो । त्यही अनुसारको प्रश्न भयो त्यो, स्वामीजीवाट  आएको उत्तर पनि त्यस्तै भयो ।   

हस् त हजुर, आजलाई यत्ति । 

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment