Friday 25 April 2014

44. No. १५ 'उभयोरपि दृष्ट:', अर्थ, उभय=दुइलाई, अपि=नै, दृष्ट:=देखेको ।

No. १५ 

'उभयोरपि दृष्ट:', अर्थ, उभय=दुइलाई, अपि=नै, दृष्ट:=देखेको ।     

तत्त्वदर्शी महापुरुषहरुले सत्-तत्त्वलाई उत्पन्न गरेका हैनन्, केवल देखेका हुन् अर्थात् अनुभव गरेका हुन् । तात्पर्य, असत् को अभाव र सत् को भाव, यी दुवै तत्त्व (निष्कर्ष) जान्ने जीवन्मुक्त, तत्त्वज्ञ महापुरुष एक सत् तत्त्वलाई नै देख्छन् अर्थात् स्वतः-स्वाभाविक एक 'छ'को मात्र अनुभव गर्छन् । असत् को तत्त्व पनि सत् हो र सत् को तत्त्व पनि सत् हो--यस्तो जानेपछि ती महापुरुषहरुको दृष्टिमा एक सत्-तत्त्व 'छ' सिवाय अरु कसैको स्वतन्त्र सत्ता रहँदै रहँदैन ।         

असत् को सत्ता विद्यमान नरहँदा त्यसको (असत् को) अभाव भयो र सत् को अभाव विद्यमान नरहँदा त्यसको (सत् को) भाव भयो । निष्कर्ष यस्तो निक्लियो, असत् छँदै छैन, खालि सत् नै सत् छ । त्यो सत् तत्त्वमा देह र देहीको बिभाग पनि छैन । 

यहाँ 'सुवर्ण' र 'अलंकार' को दृष्टान्त बुझ्नु उचित देखिन्छ ।

कुनै महिलाले आफूलाई सुनको वाला चाहिएको कुरा आफ्नो श्रीमानसंग गरिन् । श्रीमानले आफ्नी श्रीमतीको चाहना अनुसार पाँच तोला सुनको विस्कुट किनेर दिए । तर उनी आफ्नो श्रीमान् सँग रिसाइन् , किनभने उनलॆ वाला पो मागेकी थिइन्, सुन होइन । किनभने त्यो विस्कुट उनी हातमा लगाउन सक्तिनथिन् । यहाँ सुनलाई पार्मार्थिक सत्ता र वालालाई व्यवहारिक सत्ता भन्ने मान्नु पर्यो हामीले । श्रीमतीले मागेको सुनको वालामा उनको श्रीमानले सुनको मुख्यता देखे, त्यही अनुरुप सुन किनेर ल्याइदिए । तर श्रीमतीले चाहिं त्यो सुनको महत्त्व नबुझेर वालाको महत्त्व देखिन् ।  आकार र रूपमा रमाउने मान्छे सँधै ठगिइ नै रहन्छ । तत्त्वमा रमाउने मान्छे कहिले पनि ठगिइंदैन ।                

यहाँ यो सन्दर्भमा, यो दृष्टान्तवाट यो बुझ्नु जरूरी छ, (हामीले यो पनि बुझ्नुपर्छ कि एउटा दृष्टान्त एउटा प्रसंगकोलागि मात्रै अर्थ राख्छ, अरुकोलागि होइन) सुन भनेको परमात्मा, वाला भनेको संसार । वालाको अस्तित्त्व सुन विना छैन, तर, सुनको अस्तित्त्व वाला हुँदा पनि छ, वाला नहुँदा पनि छ । त्यही वाला सिक्री पनि वन्न सक्छ, औंठी पनि वन्न सक्छ, नेक्लेस पनि वन्न सक्छ, तर, सुन भएन भने न त वाला, न त सिक्री, न त औंठी, न त कानपासा । भन्न खोजिएको, सुनको अस्तित्त्व स्वतन्त्र छ, तर गहना, वाला आदिको अस्तित्त्व स्वतन्त्र छैन । हुन त वाला पनि सुनवाट नै वनेको हो, अरु गहना पनि सुन वाट नै वनेका हुन्, तर वाला आदिवाट सुन झिकिदियो भने, न वाला, न सिक्री । सुन भनेको परमात्मा हो, वाला आदि अलंकार संसार हुन् । वाला, सिक्री आदिको आकार विग्रिए भत्किए जस्तै संसारको परिवर्तन भैरहन्छ । तर, जसमा संसारको अस्तित्त्व छ, त्यसको कहिले पनि नाश छैन, कहिले पनि क्षय छैन, त्यसको कहिले व्यय छैन । त्यो त जस्ताको तस्तो निर्विकार छ । यही कुरा यो श्लोकमा प्रस्तुत भएको छ । 

यही क्रममा संसारलाई असत् र त्यसको अधिष्ठानलाई सत् भनिरहिएको छ यहाँ । परिवर्तनशील संसारको अधिष्ठान अपरिवर्तनशील भएकोले नै यो संसारको विचित्रता छ । संसार पनि परिवर्तनशील, त्यसको अधिष्ठान पनि परिवर्तनशील भए के दशा हुन्थ्यो होला यो संसारको । जुनसुकै पदार्थ, जस्तै, घडी, चक्र (पाङ्ग्रा) चलिरहने भए पनि त्यहाँ एउटा यस्तो किला हुन्छ, जुन स्थिर रहन्छ । त्यो किलाको अस्तित्त्व मात्रैले घडी घडी वन्न सक्छ, पाङ्ग्रा पाङ्ग्रा वन्न सक्छ ।  यही अनुसार, तत्त्वज्ञ महापुरुषहरु पनि संसार देख्दा तत्त्व दृष्टिले त्यही परमात्मा देख्छन्, मनुष्य देख्दा तत्त्व दृष्टिले त्यही परमात्मा देख्छन्, संसारका हरेक वस्तु, व्यक्ति, पदार्थ देख्दा त्यही परमप्रभु परमात्माको नै उपस्थितिको अनुभव गर्छन् । उनीहरुको दृष्टि परमात्मा भन्दा पर एक क्षण पनि जाँदैन । यही कारण उनीहरुलाई मोह हुँदैन, चिन्ता हुँदैन, शोक हुँदैन, भय हुँदैन ।             

मानौं,  म वाँडाकहाँ एउटा सिक्री किन्न गएँ । वाँडाले मलाई सिक्री किन्दा सुनको मात्रै पैसा लिएन, सुनको मूल्य सँगै त्यो सिक्री वनाएको ज्याला र जर्तीको पनि दाम लियो । यसो हुँदा मैले त्यो सिक्रिकोलागि सुनको मूल्य, ज्याला र जर्तीको पनि मुल्य तिर्नु पर्यो । सुन मात्रै किनेको भए मैले ज्याला र जर्तीको मोल दिनुपर्ने थिएन । केही समयपछि मलाई त्यो सिक्री मन परेन, म फेरि त्यही वाँडाकहाँ त्यो सिक्री विगारेर वाला वनाउन गएँ । त्यो वेला वाँडाले मलाई उसले पहिले आफूले सिक्री वनाउँदा लिएको ज्याला र जर्तीको दाम पनि दिएन, उल्टो मेरो सुनलाई नै कमसल भनेर त्यसको पैसा घटाएर किन्यो, जसले गर्दा मेरो सुनको तौल कम भयो, पहिले मेरो सिक्री वनाउँदा जतिको तौलकोलागि पनि मैले वढी मूल्य चुकाउनु पर्यो । यदि मैले सुन मात्रै किनेको भए, न त मेरो सिक्री वनाउँदाको खर्च लाग्थ्यो, न त सिक्री विगार्दाको खर्च लाग्थ्यो, उल्टै मेरो सुनको भाउ वढी रहन्थ्यो, भाउ नै नबढे पनि मेरो सुन त घट्ने थिएन । रुप र आकारमा अल्मलिंदा नै मैले त्यति धेरै कष्ट उठाउनु पर्यो, नोक्सान सहनु पर्यो ।             

यही प्रसंगमा यो श्लोकमा वर्णित तत्त्वदर्शीहरु सुन किन्ने जस्ता भए, उनीहरुले सबै गहनामा सुन व्याप्त देखे, यो संसारलाई परमात्माको विस्तार भन्ने बुझे, त्यही अनुसार जीवन यापन गरे, सन्तुष्ट भएर वसे । हामी जस्ता गहनामा आकर्षित हुनेहरु सिक्री वनाउँदा पनि घाटामा पर्यौं, वाला वनाउँदा पनि घाटामा पर्यौं, किनकि  सँधै शोक, सँधै चिन्ता, सँधै भयको जीवन विताइरह्यौं । तर सबै गहनामा सुन, सम्पूर्ण संसारमा परमात्मा व्याप्त देख्ने तत्त्वदर्शी कहिले, कुनै वेला पनि घाटामा परेन, सँधै आनन्दित रह्यो ।    

सुकन्याको नै प्रसंगमा जाउँ । उनलाई अश्विनीकुमारको प्रस्ताव ठीक लागेन, तर  उनका पतिले  उनलाई त्यो प्रस्ताव मान्न वाध्य गराए । अब सुकन्याले अर्को कुनै उपाय नभएपछि, आफ्नै पतिले पनि आफ्नो मनको कुरा नबुझेपछि उनको एक मात्र आश्रय, एक मात्र शरण भगवानलाई संझिन् र उहाँको पुकारा यसरी गरिन् 'हे प्रभु, यदि मैले सपनामा पनि आफ्नो 'पातिव्रत्य'मा तलमाथि नगरेको भए मलाइ मेरो पति चिन्ने  शक्ति दिनुहोस्' ।

ती तीनै व्यक्तिहरु तलाउमा डुबुल्की मारे, ती तीनै जना एकै रूपका भएर निस्के, भगवानको कृपाले उनले आफ्नो पतिलाई चिन्न सकिन् । यसरी सुकन्याको संकट टर्यो ।  

केही समयपछि सुकन्याका माता पिता सुकन्यालाई भेट्न आए । उनीहरुले ऋिष आश्रममा च्यवन ऋिषको सट्टा अर्कै नवयुवकलाई देखेर सुकन्याको चरित्रमाथि नै शंका गरे । तर पछि सवै कुरा थाहा पाएपछि सबै आनन्दित भए । यसरी यो कथाको सुखान्त भयो ।     

अव उनको पतिको दृष्टिले एकछिन सोचौं हामी । च्यवन ऋिषले आफू जवान हुँदा आफ्नोलागि कुनै पनि वेफाइदा नहुने देखे ।  तलाउवाट निस्कँदा सुकन्याले चिने पनि, नचिने पनि उनी जवान भइहाल्थे । सुकन्याले चिन्न सकेको भए सुकन्या छँदै थिइन्, यदि सुकन्याले नचिनेको भए  सुकन्यालाई अश्विनीकुमारसंग जानु पर्थ्यो । च्यवन ऋिष जवान भइहाल्थे, उनले अरु कुनै स्त्रीसँग विहे गर्थे । च्यवन ऋिषलाइ दुवै हातमा लड्डु थियो, विचरी सुकन्यालाई चाहिं सारै ठूलो संकट थियो । अव थाहा भयो त हजुर  यो संसार कति स्वार्थी छ भनेर ।               

हस् त हजुर, आजलाई यत्ति । अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment