Saturday 9 August 2014

133 No. 100 श्लोक ३९ हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा

No. 100

श्लोक ३९ 

हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा व्यक्तिहरुको विवेक ढाकिएको  छ । 

घिउको आहुति दिइरहँदा पनि अग्नि कहिले  तृप्त नभए जस्तै कामनाको अनुकूल भोग भोगिरहँदा पनि कामना कहिले पनि तृप्त हुँदैन, झन् झन् वढि नै रहन्छ । आफ्नो अगाडि जुन सुकै वस्तु आए पनि कामनाले, अग्निले जस्तो, त्यो वस्तुलाई खाइरहन्छ । 

भोग र संग्रहको कामना कहिले पनि पूरा हुँदैन । जति भोग गरे पनि, जति संग्रह गरे पनि तिनीहरुप्रतिको भोक त्यति नै वढी रहन्छ । कारण, कामना जडको हुन्छ, त्यसैले जडको सम्बन्धले कामना कहिले पनि हराउँदैन, झन् झन् वढ्दै जान्छ । 

जडको सम्बन्धले हुने सुखको चाहलाई 'काम' भन्छन् । अन्तःकरणमा दबिइरहेका अनेक सूक्ष्म कामनाहरुलाई 'वासना' भन्छन् । वस्तुहरुको आवश्यकता देखिनु 'स्पृहा' हो ।वस्तुमा उत्तमता र प्रियता देखिनु 'आसक्ति' हो । वस्तु पाउने सम्भावना राख्नु 'आशा' हो । अरु धेरै वस्तु पाइयोस् भन्नु 'लोभ' या 'तृष्णा' हो । वस्तुको इच्छा धेरै भयो भने 'याचना' हुन्छ । यी सबै 'काम'का नै धेरै रूप हुन् । 

यो श्लोकमा आएको 'ज्ञानिन:' पद साधनमा लागेका विवेकशील साधकहरुकोलागि भनिएको हो । किनकि विवेकशील साधक नै यो कामरूप वैरीलाई चिन्दछ र  त्यसको नाश गर्छ । साधन नगर्ने अरु व्यक्ति त यसलाई चिन्दै चिन्दैनन्, उल्टै यो कामनालाइ सुख दिने ठान्छन् । 

भगवान भन्नुहुन्छ, यो काम विवेकशील साधकहरुको नित्य वैरी छ ।कामना आउने वित्तिकै विवेकशील साधकलाई लाग्छ, अव कुनै आपत् आउन लाग्यो । कामनामा संसारको आश्रय र महत्व रहन्छ । यस्तो आश्रय र महत्व नै पारमार्थिक मार्गमा ठूलो वाधा हो । विवेकी साधकलाई कामना सँधै विझिरहन्छ । परिणाममा त कामनाले  सबैलाई  दुःख दिन्छ । यसैले यो साधकको नित्य वैरी हो । 

भोगहरुमा लागेका अज्ञानीहरुलाई  यो कामना मित्र जस्तो लाग्छ । किनकि कामनाले नै भोगहरुमा सुख हुन्छ । परन्तु परिणाममा उनीहरुलाई दुःख, सन्ताप प्राप्त हुन्छ । यही कारण, वास्तवमा यो कामना अज्ञानीहरुको पनि नित्य वैरी हो । तर अज्ञानीहरुलाई यो कुराको जागृति हुँदैन, तर विवेकशील साधकहरुलाई हुन्छ । 

विवेक सम्पूर्ण प्राणीहरुमा हुन्छ । पशु-पक्षी आदि योनिमा यो विवेक विकसित हुँदैन, खालि जीवन-निर्वाहसम्ममा सीमित हुन्छ । तर कामना नभएको मनुष्यमा यो विवेक विकसित हुन्छ  । विवेक ढाकिने नै कामनाले हो ।विवेक ढाकिंदा मनुष्य आफ्नो लक्ष परमात्मप्राप्ति तर्फ अघि वढ्न सक्तैन, किनकि कामना उसलाई चिन्मय तिर जान दिंदैन, जड तत्वमा नै लगाइराख्छ ।

आफूसँग कसैले अप्रिय र असत्य वोले हामीलाई नराम्रो लाग्छ र प्रिय र सत्य वोले हामीलाई राम्रो लाग्छ । छोटोमा, राम्रो-नराम्रो, सद्गुण-दुर्गुण, कर्तव्य-अकर्तव्य आदिको ज्ञान अर्थात् विवेक सबै मनुष्यमा रहन्छ । यसो हुँदा पनि ऊ अप्रिय र असत्य वोल्छ, आफ्नो कर्तव्यको पालन गर्दैन । यसको कारण, कामनाले उसको विवेक ढाकिएको हुन्छ ।

कामनाले गर्दा नै 'त्यागमा सुख हुन्छ' -- भन्ने विवेक काम गर्दैन । हामीलाई लाग्छ, भोग-पदार्थ पाइए सुख हुन्छ, तर वास्तवमा सुख कामनाको त्यागमा छ । हामी सबैलाई थाहा छ, जाग्रत र स्वप्नमा भोग पदार्थसँग सम्बन्ध रहँदा सुख र दुःख दुवै हुन्छ, तर सुषुप्ति (गाढा निद्रा)मा भोग-पदार्थहरुसँग सम्बन्ध नरहँदा सुख मात्रै हुन्छ, दुःख हुँदैन । यसैले गाढा निद्रावाट बिउँझेपछि हामी भन्छौं, 'म वडो सुखसँग सुतें' । फेरि जाग्रत र स्वप्नमा थकाइ लाग्छ, तर सुषुप्तिमा थकाइ मर्छ, शरीर चंगा हुन्छ । यसवाट थाहा हुन्छ, भोग-पदार्थको त्यागमा नै सुख छ ।

धनको कामना हुने वित्तिकै धन मनद्वारा पक्डिइन्छ । वाहिरवाट धन पाइएपछि मनले समातेको धनको त्याग हुन्छ र सुख भए जस्तो लाग्छ । वास्तवमा सुख वाहिरवाट धन पाउँदा हुने भएन, मनले समातेको धनको त्यागवाट नै हुने  भयो । धन पाउँदा सुख हुने भए त्यो धन रहुन्जेल कहिले पनि दुःख हुनु नपर्ने, तर धन रहँदा दुःख भैरहने  हाम्रो अनुभव छ ।
हामीले कुनै कामना गरेपछि हामी पराधीन हुन्छौं । जस्तो, हाम्रो मनमा घडीको कामना भयो । कामना हुने वित्तिकै त्यो घडीको अभावको दुःख हुन थाल्छ, यो घडीको पराधीनता हो । हामी विचार गर्छौं, 'पैसा भए अहिले नै घडी किन्थें' अर्थात् पैसा हुँदा हामी आफूलाई स्वाधीन र पैसा नहुँदा पराधीन मान्छौं । तर यो मान्यता विल्कुल गलत छ । पैसा पाउँदा घडीको पराधीनता त रहेन, त पैसाको पराधीनता त रही नै हाल्यो, किनकि पैसा पनि 'पर' नै हो, 'स्व' होइन । वस्तुको कामना हुँदा वस्तुको पराधीन भइयो, पैसाको कामना हुँदा पैसाको पराधीन भइयो । पराधीनता त जस्ताको तस्तै रह्यो । तर कामनाले विवेक ढाकिएको हुनाले हामीलाई वस्तुको पराधीनताको अनुभव त भयो, तर पैसाको पराधीनताको अनुभव भएन, पैसाको कारण हामीलाई स्वाधीनताको अनुभव भयो । स्वाधीनताको रूपमा देखिने पराधीनतावाट छुट्न निकै कठिन छ ।
संसार क्षणभंगुर छ । शरीर, धन, जमीन, घर जति सबै संसारिक वस्तुहरु प्रतिक्षण विनाशतिर गैरहेका छन्, हामीवाट टाढा भैरहेछन् । तर भोग भोग्दा तिनीहरुको क्षणभंगुरताको ज्ञान रहँदैन । पदार्थहरुलाई नित्य र स्थिर नमानी सुखभोग हुनै सक्तैन । साधारण मनुष्यहरुको कुरा के गर्नु, साधकहरु पनि वेला वेलामा भोगहरुलाई नित्य र स्थिर मान्दा फस्छन् । यसको कारण, कामना द्वारा विवेक ढाकिनु नै हो ।
हामीलाई महान् वनाउने उद्देश्यले भगवान कामनालाई 'नित्यवैरी' भनेर त्यसवाट वच्न हामीलाई सावधान पनि गर्नुहुन्छ । किनकि कामना नै सम्पूर्ण पापहरु र दुःखहरुको जड हो । संसारको विनाशी पदार्थहरुको कामना गर्ने मनुष्यलाई दुःख आफैं आउँछ ।
हामी दुःखवाट वच्न खोज्छौं, तर दुःखहरुको कारण 'काम' (कामना)वाट वच्न खोज्दैनौं । कामना हुँदा हामीलाई स्वप्नमा पनि सुख हुँदैन । भगवान भन्नुहुन्छ, भोग-पदार्थहरुवाट कामना कहिले पनि पूरा हुँदैन । जति जति भोग-पदार्थ पाइन्छन्, त्यति त्यति कामना वढ़छन् र जति जति कामना वढ़छन्, त्यति त्यति धेरै अभावको अनुभव हुन्छ, अभाव मेटाउनकोलागि हामी पाप-कर्ममा प्रवृत्त हुन्छौं । यस्तो किसिमले, नाशवान् सुखको कामना गर्ने मनुष्य यो लोक र परलोक -- दुवै लोकहरु महान् दुःखरुप वनाउँछ ।

साधनको मुख्य वाधा नै संयोगजन्य सुखको कामना हो । यो वाधा हाम्रो साधनमा धेरै पछिसम्म रहन्छ । साधकले जहाँ सुख लिन खोज्छ, ऊ त्यहीं अड्किन्छ । यति सम्म कि, समाधिको सुख लिंदा पनि ऊ अड्किन्छ । सात्विक सुखको कामना, आसक्ति पनि बन्धनकारक नै हुन्छ । यही कारण, भगवानले यो श्लोकमा संयोगजन्य सुखको कामनालाई  साधकको 'नित्य वैरी' वताउनु भएको छ ।            
                              

No comments:

Post a Comment