Saturday 9 August 2014

136 No. 103 श्लोक ४२,४३ इन्द्रियहरुलाई (स्थूल शरीर भन्दा) पर (श्रेष्ठ, सबल, प्रकाशक व्यापक तथा सूक्ष्म) भन्छन् ।

103

श्लोक ४२,४३

इन्द्रियहरुलाई (स्थूल शरीर भन्दा) पर (श्रेष्ठ, सबल, प्रकाशक व्यापक तथा सूक्ष्म) भन्छन् । इन्द्रियहरु भन्दा पर (श्रेष्ठ) मन छ, मन भन्दा पनि पर (श्रेष्ठ) बुद्धि  छ र त्यो काम बुद्धि भन्दा पनि पर छ । यसरी बुद्धि भन्दा पर कामलाई जानेर (यो कामको स्वभाव बुझेर) आफूद्वारा आफूलाई वशमा गरेर, हे महावाहो ! तिमी यो कामरूप दुर्जय (जित्न गाहारो) शत्रुलाई मार ।

शरीर अथवा विषयहरु भन्दा इन्द्रियहरु पर छ । इन्द्रियहरुद्वारा विषयको ज्ञान हुन्छ, तर विषयहरु द्वारा इन्द्रियहरुको ज्ञान हुँदैन । इन्द्रियहरु विषय विना पनि रहन्छन्, तर इन्द्रियहरु विना विषयहरुको सत्ता सिद्ध हुँदैन । इन्द्रियहरुलाइ प्रकाशित गर्ने सामर्थ्य विषयहरुमा हुँदैन । तर इन्द्रियहरु विषयहरुलाई प्रकाशित गर्छन् । इन्द्रियहरु व्यापक छन्, विषयहरु व्याप्य छन् । अर्थात्  विषयहरु इन्द्रियहरु अन्तर्गत आउँछन्, तर इन्द्रियहरु विषय अन्तर्गत आउँदैनन् । विषयहरुको अपेक्षा इन्द्रियहरु सूक्ष्म छन् । यही कारण, विषयहरुको अपेक्षा इन्द्रियहरु, श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म छन् ।

 
इन्द्रियहरु मनलाई जान्दैनन्, तर मन सबै इन्द्रियहरुलाई जान्दछ । इन्द्रियाहरुमा पनि प्रत्येक इन्द्रिय आफ्नो-आफ्नो विषय नै जान्दछन्, अरु इन्द्रियहरुको विषयहरु जान्दैनन् । जस्तो, कान खालि शब्द जान्दछ, तर स्पर्श, रुप, रस, र गन्ध जान्दैन, नेत्र खालि रुप जान्दछ, तर शब्द, स्पर्श, रस र गन्ध जान्दैन, रसना (जीव्रो) खालि रास जान्दछ, तर शब्द, स्पर्श, रुप र गन्ध जान्दैन र नाक खालि गन्ध जान्दछ, तर, शब्द, स्पर्श, रुप र रस जान्दैन; परन्तु मन पाँचै ज्ञानेंद्रियहरु तथा तिनका विषयहरु जान्दछ । यसैले, मन इन्द्रियहरु भन्दा श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म छ ।

 

मन बुद्धिलाई जान्दैन, तर बुद्धि मनलाई जान्दछ । मन कस्तो छ ? शान्त छ कि चंचल? ठीक छ कि वेठीक ? आदि कुराहरु बुद्धि जान्दछ । इन्द्रियहरु ठीक काम गर्छन् कि गर्दैनन्? भन्ने कुरो पनि बुद्धि नै जान्दछ । तात्पर्य, बुद्धि मनलाइ तथा मनले गरेका संकल्पहरुलाई पनि जान्दछ र इन्द्रियहरुलाइ तथा तिनका विषयहरु पनि जान्दछ । इन्द्रियहरु भन्दा पर मन, त्यो मन भन्दा पनि पर बुद्धि (श्रेष्ठ, बलवान्, प्रकाशक, व्यापक र सूक्ष्म) छ ।
 

बुद्धिको स्वामी 'अहम्' हो, यसैले यो 'अहम्' भन्छ, 'मेरो बुद्धि' । बुद्धि करण हो र अहम् कर्ता । करण परतन्त्र हुन्छ, तर कर्ता स्वतन्त्र रहन्छ । जड-अंशसँग तादात्म्य भएको कारण त्यो काम स्वरूप (चेतन)मा रहेको जस्तो लाग्छ ।
 

वास्तवमा, 'अहम्'मा नै काम रहन्छ; किनकि यही नै भोगहरुको इच्छा गर्छ र सुख-दुःखको भोक्ता वन्छ । भोक्ता, भोग र भोग्य--यी तीनैमा सजातीयता (जातीय एकता) छ, यिनीहरुमा सजातीयता  नभए भोक्तामा भोग्यको कामना या आकर्षण हुनै सक्तैन । भोक्तापनको प्रकाशकको प्रकाशमा भोक्ता, भोग र भोग्य -- तीनैको सिद्धि हुन्छ । त्यो परम प्रकाशक  (शुद्ध चेतन)मा 'काम' छैन । 'अहम्'सम्म सबै प्रकृतिका अंश हुन् । त्यो 'अहम्' भन्दा पनि पर साक्षात् परमात्माको अंश 'स्वयम्' छ । यो 'स्वयम्' शरीर, इन्द्रियहरू, मन, बुद्धि र अहम् -- यी सबैको आश्रय, आधार, कारण र प्रेरक हो । यही कारण 'स्वयम्' श्रेष्ठ, बलवान्, प्रकाशक, व्यापक र सूक्ष्म छ ।
 

जड (प्रकृति)को अंश नै सुख-दुःखरूपमा परिणत हुन्छ अर्थात् सुख-दुःखरूप विकृति जडमा नै हुन्छ । चेतनमा विकृति छैन, किनकि चेतन विकृतिको पनि ज्ञाता हो । तर जडसँग तादात्म्य हुँदा सुख-दुःखको भोक्ता चेतन नै वन्छ अर्थात् चेतन नै सुखी-दुःखी हुन्छ । खालि जडमा सुखी-दुःखी हुने कुरा आउँदैन । तात्पर्य, 'अहम्'मा भएको जड अंशसँग तादात्म्य गर्दा चेतनले  पनि आफूलाई 'म भोक्ता हुँ' भन्ने मानिदिन्छ । परमात्मतत्वको साक्षात्कार हुने वित्तिकै रसबुद्धि निवृत्त हुन्छ । उसको ज्ञानले कामनाको निवृत्ति हुन्छ । कारण कि सुखकोलागि नै कामना हुने हो र हाम्रो 'स्वरूप' सुखराशी छ । यही कारण त्यो परमतत्वको अनुभव भएपछि 'काम' (संयोगजन्य सुखको इच्छा) सबै सँधैकोलागि नाश हुन्छ ।   

 Song: Bhaja Govindam
Acharya Sankarcharya's one of the most renowned work

Be content with whatever you get,
Happiness lies in Contentment

- Shri Adi Shankaracharya

No comments:

Post a Comment