No. 99
परमात्मप्राप्तिमा
कामना नै खास वाधक छ । पानीले भरिएको घडामा हामीले दुई काम गर्नु छ -- (१)
घडा खालि गर्नु छ, (२) त्यो घडामा आकाश भर्नु छ । तर, हामीलाई दुई काम
गर्नु छैन, एकै काम गरे पुग्छ -- घडा खालि गर्ने । घडावाट पानी निकाले आकाश
आफैं भरिन्छ । त्यस्तै, कामनाको त्याग गर्ने र परमात्मा प्राप्त गर्ने दुई
काम छैन हाम्रोलागि । कामनाको त्याग गर्न सके परमात्मा प्राप्ति आफैं
हुन्छ हामीलाई । कामनाको कारणले मात्रै परमात्मा अप्राप्त जस्तो देखिएको छ
हामीलाई ।
श्लोक ३८ (अध्याय ३)
जस्तो धुवाँले अग्नि र मलले दर्पण ढाकिन्छ, जस्तो सालले गर्भ ढाकिएको हुन्छ, त्यस्तै त्यो कामना द्वारा यो (ज्ञान अर्थात् विवेक) ढाकिएको छ ।
विवेक
बुद्धिमा प्रकट हुन्छ । बुद्दि तीन किसिमको हुन्छ -- सात्विकी, राजसी र
तामसी । सात्विकी बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुन्छ, राजसी
बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुँदैन र तामसी बुद्धिमा सबै
वस्तुको विपरीत ज्ञान हुन्छ । कामना उत्पन्न हुँदा सात्विकी बुद्धि पनि
धुवाँले अग्नि ढाकिएको जस्तो ढाकिन्छ, राजसी र तामसी बुद्धिको कुरा गर्न नै
के पर्यो र ।
संसारिक
इच्छा उत्पन्न हुने वित्तिकै पारमर्थिक मार्गमा धुवाँ हुन्छ । यदि यो
अवस्थामा सावधानी भएन भने कामना अझ धेरै वढ्छ । कामना वढेपछि पारमर्थिक
मार्ग अँध्यारो भैहाल्छ ।
उत्पत्ति-विनाशशील
जड वस्तुहरुमा प्रियता, महत्ता, सुखरूपता, सुन्दरता, विशेषता, आदि देखिंदा
नै कामना पैदा हुन्छ । यही कामनाले मूलदेखि नै विवेकलाई ढाकिदिन्छ । अरु
शरीरहरु भन्दा मनुष्य शरीरमा विवेक विशेषरूपले प्रकट छ; किन्तु जड
पदार्थहरुको कामनाको कारणले यो विवेकले काम गर्दैन ।कामना उत्पन्न हुने
वित्तिकै विवेक धमिलो हुन्छ । धुवाँले ढाकिइरहँदा पनि अग्नि काम गर्न
सक्छ, त्यस्तै हामी आफूमा कामना पैदा हुने वित्तिकै आफैं सावधान भयौं भने
हाम्रो विवेकले काम गर्न सक्छ ।
पहिलो
अवस्थामा नै कामना नष्ट गर्ने उपाय हो -- कामना उत्पन्न हुने वित्तिकै
हामीले विचार गर्नु पर्यो, हामीले कामना गरेको वस्तु हामीसँग सँधै रहँदैन ।
त्यो वस्तु (हामीले कामना गरेको) पहिले पनि हामीसँग थिएन, पछि पनि हामीसँग
रहने छैन र हालमा पनि हामीसँग निरन्तर वियोग भइरहेछ ।यस्तो विचार गरे
कामना रहँदैन ।
मयलले
ढाकेपछि दर्पणमा प्रतिविम्व देखिन वन्द भए जस्तै कामनाको वेग वढेपछि 'म
साधक हुँ ; मेरो यो कर्तव्य र यो अकर्तव्य हो' -- भन्ने ज्ञान पनि रहँदैन ।
अन्तःकरणमा नाशवान् वस्तुहरुको महत्व धेरै हुँदा हामी तिनै वस्तुहरुको भोग
र संग्रहको कामना गर्न थाल्छौं । जति जति यो कामना वढ्छ, त्यति त्यति
हाम्रो पतन हुन्छ ।
वास्तवमा,
महत्व वस्तुको होइन, त्यसको उपयोगको हुन्छ । रुपियाँ, विद्या, वल आदि
महत्वपूर्ण वस्तु होइनन्, महत्व यिनीहरुको सदुपयोगमा छ । यो राम्ररी
बुझिएपछि ती वस्तुहरुको कामना रहँदैन; किनकि जति वस्तुहरु हामीसँग छन्, ती
वस्तुहरुको सदुपयोग गर्ने जिम्मेवारी हाम्रो हो । ती वस्तुहरुको नै सदुपयोग
गर्नु छ भने फेरि धेरै कामनाले के होला ? कारण कि कामना मात्रवाट वस्तुहरु
पाइंदैन ।
संसारिक
वस्तुहरुको महत्व कम हुँदै गएपछि हाम्रो अन्तःकरणमा परमात्माको महत्व झन्
झन् वढ्दै जान्छ । संसारिक वस्तुहरुको महत्व पूरापूर नष्ट भएपछि परमात्माको
अनुभव हुनेछ र कामना सर्वथा नष्ट हुनेछ ।
दर्पणमा
मयल हुँदा त्यो दर्पणमा आफ्नो मुख देखिंदैन, तर 'यो दर्पण हो' भन्ने ज्ञान
त रहन्छ । सालले ढाकिएको गर्भमा छोरो छ कि छोरी छ भन्ने थाहा नभए जस्तै
कामनाको तेस्रो अवस्थामा कर्तव्य-अकर्तव्यको पत्तो लाग्दैन अर्थात् हाम्रो
विवेक पूरै ढाकिन्छ । विवेक ढाकिएपछि कामनाको वेग वढ्छ ।
कामनामा
वाधा भयो भने क्रोध उत्पन्न हुन्छ । फेरि क्रोधवाट सम्मोह उत्पन्न हुन्छ ।
सम्मोहवाट बुद्धि नष्ट हुन्छ । बुद्धि नष्ट भएपछि मनुष्य गर्नु पर्ने काम
गर्दैन र झूठ, कपट, अन्याय, वेइमानी, पाप, अत्याचार जस्ता गर्नु नहुने काम
गर्छ । यस्ता व्यक्तिलाई भगवान पनि मनुष्य भन्न चाहनु हुन्न ।कामनामा
तदाकार हुने त्यस्ता व्यक्तिको निश्चय हुन्छ, 'सांसारिक सुख भन्दा ठूलो अरु
केही छँदै छैन ।'
यो
श्लोकमा भगवानले काम द्वारा विवेक ढाकिने विषयमा तीन दृष्टान्त दिनुभयो
।अर्को शब्दमा, यो भन्न खोजिएको छ, काम द्वारा विवेक ढाकिएपछि कामका तीनै
अवस्थाहरु प्रबुद्ध हुन्छन् ।
कामना उत्पन्न भएपछि कामनाका तीन
अवस्थाहरु सबैका हृदयमा आउँछन् । परन्तु कामनालाइ नै सुखको कारण मानेर उसको
आश्रय लिंदा कामनालाई त्याज्य र कामनालाई मानिंदैन र कामनालाई चिन्न
पनि सकिंदैन । परन्तु परमार्थमा रुचि राख्ने तथा साधन गर्ने व्यक्ति यो
कामनालाई चिन्न सक्छन् । कामनालाई चिन्न सक्ने व्यक्ति कामनाको नाश पनि
गर्न सक्छन् ।
यो
श्लोकमा भएको कामनाको तीन अवस्थाहरुको वर्णन पनि कामनालाई नाश गर्ने
उद्देश्यले नै भएको हो । वास्तवमा कामना उत्पन्न भएपछि यो यति छिटो वढ्छ कि
भन्नै सकिंदैन । कामना वढेपछि अनर्थ परम्परा नै चल्छ । सम्पूर्ण पाप,
सन्ताप, दुःख, आदि कामनावाट नै हुन्छन् । त्यसैले हामीले आफ्नो विवेकलाई
जाग्रत गरेर कामनालाई उत्पन्न नै हुन दिनुहुन्न । यदि कामना उत्पन्न भइ नै
हालेछ भने पनि यसलाई पहिलो या दोस्रो अवस्थामा नै नाश गरिदिनु पर्छ, तेस्रो
अवस्थामा आउन कहिले पनि दिनुहुन्न ।
जहाँ धुवाँ हुन्छ,
त्यहाँ अग्नि हुन्छ । धुवाँले छोपिंदा पनि अग्निको, मयलले ढाकिंदा पनि
दर्पणको र सालले वेरिए पनि गर्भको ज्ञान भए जस्तै कामले ढाकिंदा पनि विवेक
(कर्तव्य-अकर्तव्यको ज्ञान) सबैमा रहन्छ, तर कामनाले गर्दा यो विवेक
उपयोगमा आउँदैन ।
शास्त्र
अनुसार, परमात्मा प्राप्तिमा तीन वाधक छन् -- मल, आवरण र विक्षेप । यी दोष
असत् संसारसँगको सम्बन्धले उत्पन्न हुन्छन् । असत् सँग सम्बन्ध कामनाले
हुन्छ । अतः मूल दोष कामना नै हो । कामना सर्वथा नाश भएपछि असत् सँग
सम्बन्ध-विच्छेद हुन्छ । असत् सँग सम्बन्ध-विच्छेद भएपछि सबै दोष
मेटिन्छन्, पूर्ण विवेक प्रकट हुन्छ ।
परमात्मप्राप्तिमा
मुख्य वाधा -- सांसारिक पदार्थहरुलाई नाशवान् मानी मानी तिनलाई महत्व दिनु
। अन्तःकरणमा विनाशी पदार्थहरुको महत्व रहुन्जेल, संसारिक पदार्थहरुमा
सत्यबुद्धि, सुन्दरबुद्धि र सुखबुद्धि रहुन्जेल मल, विक्षेप र आवरण -- तीनै
दोषहरु रहन्छन् । यी तीन मध्ये पनि मल दोष सबभन्दा ठूलो वाधक हो ।
मलदोषको मुख्य कारण कामना नै हो; किनकि कामनावाट नै सबै पाप हुन्छन् ।
साधकले 'म अव पाप गर्दिन' भन्ने वित्तिकै उसका सबै दोषहरुको जड नै काटिन्छ
र मलदोष मेटिन थाल्छ । पूरापूर निष्काम भएपछि मल दोष नष्ट हुन्छन्
।
कामना भएका व्यक्तिलाई आफ्नो कल्याण
गर्नु छ भने कर्मयोगको पालन गर्नु पर्छ । सानो भन्दा सानो अथवा ठूलो भन्दा
ठूलो हरेक क्रिया गर्दा 'म यो काम किन गरिरहेछु र कसरी गरिरहेछु' भन्ने
सावधानी हुनु पर्छ हामीलाई । त्यसो भए हामीमा परमात्मप्राप्तिको उद्देश्य
जाग्रत हुन्छ । आफ्नो उद्देश्यमा निरन्तर सजग रहन सके हामीवाट अशुभ कर्म
हुँदैनन् र शुभ कर्महरुमा पनि आसक्ति र फलेच्छाको त्याग भएपछि निष्कामताको
अनुभव हुन्छ, जसवाट हाम्रो आफ्नै कल्याण हुन्छ ।
No comments:
Post a Comment