Saturday 9 August 2014

134 No. 101 श्लोक ४० इन्द्रियहरु, मन र बुद्धिलाई यो कामनाको वासस्थान भनिएका छन् ।

No. 101
श्लोक ४०
इन्द्रियहरु, मन र बुद्धिलाई  यो कामनाको वासस्थान भनिएका छन् । यो कामना यी (इन्द्रियहरु, मन र बुद्धि) द्वारा ज्ञान ढाकेर देहाभिमानी मनुष्यलाई मोहित गर्छ ।
'काम' पाँच ठाउँमा देखिन्छ -- (१) पदार्थमा, (२) इन्द्रियहरुमा, (३) मनमा, (४) बुद्धिमा र (५) मानिएको अहम् (म) अर्थात् कर्तामा । यी पाँच ठाउँमा देखिए पनि काम मानिएको 'अहम्' (चिज्ज्डग्रन्थि) मा नै रहन्छ । तर माथि वर्णन भएका पांच ठाउँमा देखिनुको कारण नै यिनीहरुलाई यो कामको वास-स्थान भनिएको हो ।
समस्त क्रियाहरु शरीर, इन्द्रियहरु, मन र बुद्धिद्वारा नै  हुन्छन् । यी चारै कर्म गर्ने साधन हुन् । यदि यिनीहरुमा काम रहन्छ भने यो कामले पारमार्थिक कर्म गर्न दिंदैन हामीलाई । यही कारण, कर्मयोगी निष्काम, निर्मम, र अनासक्त भएर शरीर, इन्द्रियहरु, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि कर्म गर्छ ।
वास्तवमा, काम अहम्- (जड-चेतनको तादात्म्य)मा नै रहन्छ । अहम् अर्थात् 'म'पन केवल मानिएको हो । 'म अमुक वर्ण, आश्रम, सम्प्रदायको हुँ' भन्नु केवल मान्यता हो । यस्तो मान्यता (मानिएको सम्बन्ध)मा नै कामना रहन्छ । कामनामा नै सबै पाप हुन्छन् । पाप त फल भोगाएर सकिन्छ, तर 'अहम्'सँग कामना नहटी नयाँ नयाँ पाप भइरहन्छन् । यसैले कामनाले  नै जीवलाई वांधने हो ।
कामनाले मनुष्य जे गर्नु पर्ने हो, त्यो नगरी गर्नु नहुने काम कारवाही गर्छ । यस्तो किसिमले कामना देहाभिमानी व्यक्तिलाई मोहित गर्छ ।

कामना उत्पन्न भएपछि मनुष्य पहिले इन्द्रियहरु द्वारा भोग भोग्ने इच्छा  गर्छ । पहिले त भोग पदार्थ पाइंदैन, फेरि पाइहालिए पनि ती टिक्ने होइनन् । यसैले ती भोग-पदार्थ कुनै किसिमले पाउनकोलागि व्यक्ति  धेरै प्रकारको उपाय सोच्छ । यसरी कामना इन्द्रियहरुलाई संयोगजन्य सुखको प्रलोभनमा लगाउँछ । त्यसपछि इन्द्रियहरू मनलाई आफूतिर खिंचछन् र  इन्द्रियहरू र मन मिलेर बुद्धिलाई आफूतिर खिंचछन् । यसरी काम देहाभिमानीको ज्ञान दवाएर इन्द्रियहरु, मन र बुद्धि द्वारा उसलाई मोहित गर्छ तथा उसलाई पतनको गडढामा जाकिदिन्छ ।
राम्रो नोकर तिरस्कारपूर्वक  निकाल्यो भने मालिकले  फेरि राम्रो नोकर पाऊँदैन । त्यसैले असल मालिकको तिरस्कार गर्यो भने उसलाई फेरि असल मालिक पाइंदैन । त्यस्तै, मनुष्य परमात्मप्राप्ति नगरी शरीरलाई सांसारिक भोग र संग्रहमा खेर फाल्छ भने उसलाई पछि मनुष्य शरीर प्राप्त हुँदैन । अन्तःकरण अशुद्ध भयो भने असल वस्तुको तिरस्कार हुन्छ, अन्तःकरण अशुद्ध हुन्छ कामनावाट । यही कारण सब भन्दा पहिले कामनाको नाश गर्नु पर्छ ।
यो काम देहाभिमानी पुरुषहरुलाई नै मोहित गर्छ । शरीरलाई 'म' र 'मेरो' मान्ने नै देहाभिमानी हुन्छ । भगवानले आफ्नो उपदेशको आरम्भमा (दोस्रो अध्यायमा) देह (शरीर) र देही (शरीर--आत्मा)को विवेचन गर्नुभयो । देह र देही दुवै छुट्टा-छुट्टै छन् -- यो त सबैको अनुभव नै छ । तैपनि यो काम ज्ञान ढाकेर देहाभिमानीलाई वांध्छ, देहीलाई (स्वरूप) वाँध्दैन । देहसँग आफ्नो सम्बन्ध नमान्नेलाई काम वाँध्न सक्तैन । देहलाई 'म', 'मेरो' र 'मेरोलागि' मान्दा नै मनुष्य उत्पत्ति-विनाशशील जड वस्तुहरुलाई महत्व दिन्छ; जसले उसमा जडताको राग उत्पन्न हुन्छ । जडतासँग सम्बन्ध भएपछि कामनाको उत्पत्ति हुन्छ । कामना उत्पन्न भएपछि जीव मोहित भएर संसार-बन्धनमा पर्छ ।

No comments:

Post a Comment