Saturday 9 August 2014

135 No. 102 श्लोक ४१ यसैले हे भरत वंशीहरुमा श्रेष्ठ अर्जुन !

No. 102
श्लोक ४१
यसैले हे भरत वंशीहरुमा श्रेष्ठ अर्जुन ! तिमी सब भन्दा पहिले इन्द्रियहरुलाई वशमा गर र  यो ज्ञान र विज्ञान नाश गर्ने महान् पापी कामलाई  वलपूर्वक अवश्य मारी हाल ।
 
इन्द्रियहरुलाई भोगपूर्वक विषयहरुमा प्रवृत्त हुन नदिनु, केवल निर्वाहबुद्धिले अथवा साधन-बुद्धिले प्रवृत्त हुन दिनु नै इन्द्रियहरुलाई वश गर्नु हो । अर्थात् इन्द्रियहरु विषयहरुमा रागपूर्वक प्रवृत्त नहुन् र द्वेषपूर्वक निवृत्त नहून । रागपूर्वक प्रवृत्ति र द्वेषपूर्वक निवृत्ति हुँदा राग-द्वेष पुष्ट हुन्छन् र राग-द्वेषले नचाहँदा नचाहँदै पनि मनुष्यलाई  पतनतिर लैजान्छन् । यसैले प्रवृत्ति र निवृत्ति अथवा कर्तव्य र अकर्तव्य जान्नकोलागि शास्त्र नै प्रमाण छ । शास्त्र अनुसार कर्तव्य पालन र अकर्तव्य त्याग गर्दा इन्द्रियहरु वशमा हुन्छन् ।
 
'काम' मार्नकोलागि सबभन्दा पहिले इन्द्रियहरु नियमन गर्नु पर्ने कुरा भनिएको छ यहाँ । यसको कारण, इन्द्रियहरुको वशमा रहुन्जेल मनुष्यको दृष्टि तत्वतिर जाँदैन । तत्वतिर दृष्टि नगई अर्थात् तत्वको अनुभव नभई 'काम'को सर्वथा नाश हुँदैन ।

मनुष्यहरूको प्रवृत्ति इन्द्रियहरु द्वारा नै हुन्छ । यसैले सब भन्दा पहिले व्यक्ति इन्द्रियहरुको विषयमा नै फस्छ, जसले गर्दा उसमा विषयहरुको कामना पैदा हुन्छ । कामना-सहित कर्म गर्दा मनुष्य पूर्णरूपले इन्द्रियहरुको वशमा हुन्छ र यसवाट उसको पतन हुन्छ । परन्तु जो मनुष्य इन्द्रियहरुलाई वशमा गरेर निष्काम-भावपूर्वक कर्तव्य-कर्म गर्छ, उसको छिट्टै उद्धार हुन्छ ।

'ज्ञान' शब्दको अर्थ शास्त्रीय ज्ञान पनि लिइन्छ । परन्तु यहाँ प्रसंग अनुसार 'ज्ञान'को अर्थ विवेक (कर्तव्य-अकर्तव्यवारे छुट्टा-छुट्टै जान्नु) भन्ने बुझ्नु पर्छ हामीले । 'विज्ञान' पदको अर्थ विशेष ज्ञान अर्थात् तत्वज्ञान (अनुभव-ज्ञान, सक्कली ज्ञान अथवा बोध) हो ।
विवेक र तत्वज्ञान--दुवै स्वतःसिद्ध छन् । तत्वज्ञानको अनुभव त सबैलाई छैन, तर विवेकको अनुभव सबैलाई छ । मनुष्यमा यो विवेक विशेषरुपले छ । अर्जुनको प्रश्न (मनुष्य नचाहँदा नचाहँदै पनि किन पाप गर्छ ?) मा आएको 'अनिच्छन्नपि' पदले यो सिद्ध हुन्छ, मनुष्यमा विवेक छ र यही विवेकले नै ऊ  पाप र पुण्य दुबैलाई जान्दछ र पाप गर्न चाहँदैन । पाप नगर्ने इच्छा विवेक विना हुँदैन । तर यो 'काम' मनुष्यको विवेक ढाकिदिन्छ र त्यो विवेक जाग्रत हुन दिंदैन ।
विवेक जाग्रत भएपछि मनुष्य भविष्यतिर अर्थात् परिणामतिर दृष्टि राखेर नै सबै काम गर्छ । परन्तु कामनाले विवेक ढाकिनाले परिणामतिर उसको दृष्टि नै जाँदैन । परिणामतिर दृष्टि नजाँदा नै ऊ पाप गर्छ ।
सबैको अनुभवमा आएको विवेकलाई पनि यो काम जाग्रत हुन दिंदैन भने सबैको अनुभवमा नआएको तत्व-ज्ञानलाई जाग्रत हुन यो काम कसरी देला र ? यसैले यहाँ 'काम'लाई ज्ञान (विवेक) र विज्ञान (बोध) -- दुबैलाई नाश गर्ने वताइयो ।

वास्तवमा, यो 'काम' ज्ञान र विज्ञानको नाश (अभाव) गर्दैन, वरु यी दुबैलाई ढाकिदिन्छ अर्थात् प्रकट हुन दिंदैन । ज्ञान विज्ञानलाई ढाक्नु नै नाश गर्नु भनिएको छ यहाँ । कारण कि ज्ञान-विज्ञानको नाश कहिले पनि हुँदैन ।  नाश त वास्तवमा 'काम'को नै हुन्छ । हाम्रो आँखा अगाडि वादल आउँदा 'वादलले सूर्य ढाक्यो' भनिन्छ, तर वास्तवमा सूर्य ढाकिने होइन, हाम्रा  आँखा ढाकिन्छन् । त्यस्तै 'कामनाले ज्ञान-विज्ञान ढाकियो' भनिएको मात्रै हो । वास्तवमा ज्ञान-विज्ञान ढाकिने होइनन्, हाम्रो बुद्धि ढाकिन्छ ।

कामना सम्पूर्ण पापहरुको जड हो । यसैले कामना उत्पन्न हुँदा पाप हुने सम्भावना  रहन्छ । पछि गएर यो कामना मनुष्यको विवेकलाई ढाकेर उसलाई अन्धो वनाइदिन्छ; जसले गर्दा उसलाई पाप-पुण्यको ज्ञान नै रहँदैन र ऊ पापहरुमा नै लाग्छ । यसवाट उसको महान् पतन हुन्छ । यसैले भगवान कामनालाई महान् पापी भनेर त्यो कामलाई मार्ने नै आज्ञा दिनुहुन्छ अर्जुनलाई ।

'गृहस्थ-जीवन ठीक छैन, साधु हुनु पर्यो, एकान्तमा वस्न जानु पर्यो' -- यस्तो विचार गरेर मनुष्य कार्य त वदल्न खोज्छ, तर यसको  कारण 'कामना' छोड्दैन, छोड्ने विचार पनि गर्दैन ।  उसले कामना छोड्न सके उसका सबै काम बन्ने थिए । मनुष्यको मृत्यु हुँदा आफू वाँच्ने अथवा अरु कामना रहि रह्यो भने ती कामनाहरु पछि गएर उसका अर्को जन्मका  कारण वन्छन् । अर्को शब्दमा मनुष्यमा कामना रहुन्जेल उ जन्म-मरणरूप बन्धनमा परिरहन्छ । 
 
हामी जड-पदार्थतर्फ आकृष्ट हुँदा नै हामीमा कामना उत्पन्न हुन्छ । कामना उत्पन्न हुने वित्तिकै विवेक-दृष्टि दब्छ र इन्द्रिय-दृष्टिको प्रधानता हुन्छ । इन्द्रियहरु हामीलाई केवल शब्द आदि विषयहरुको सुख-भोगमा नै लगाउँछन् । पशु-पक्षीहरूको प्रवृत्ति पनि इन्द्रियहरुवाट पाइने सुखसम्म मात्रै हो । तर कामनाले विवेक ढाकिएकोले हामी इन्द्रियजन्य सुखकोलागि पदार्थहरुको कामना गर्न  र फेरि पदार्थ हरुकोलागि रुपियाँको कामना गर्न थाल्छौं । यति मात्रै होइन, हाम्रो दृष्टि रुपियाँवाट पनि हटेर रुपियाँको गन्ती (संग्रह)मा हुन्छ । त्यसपछि हामी ती रुपियाँको गन्ती (संग्रह) वढाउनमा लाग्छौं । निर्वाहकोलागि मात्रैको भन्दा त्यो भन्दा वढी रुपियाँको संग्रह धेरै पतन गर्ने हुन्छ । त्यही गन्ति (संग्रह) वढाउनकोलागि हामी झूठ, कपट, धोखा, चोरी, आदि पाप-कर्महरु पनि गर्न थाल्छौं । अर्को तिर, रुपियाँको गन्ती वढ्दा हामीमा अभिमान पनि आउँछ । यो अभिमान आसुरी सम्पत्तिको मूल हो । यसरी, कामनाको कारण हामी आफ्नो महान् पतन गर्छौं । यसैले, भगवान यो महान् पापी कामलाई राम्रोसँग नाश गर्ने आज्ञा दिनुहुन्छ हामीलाई । 
        
हालै प्रस्तुत भैरहेको गीताको भावार्थ तेस्रो अध्यायको सन्दर्भ हो । हालै मैले mailing list मा add गरेका मेरा मित्रहरुसँग पहिले देखिको अंश छैन । मेरो साथी Subodh Pradhanले यी लेखहरुको ब्लग वनाउनु भएको छ । त्यो ब्लग उपलब्ध भएपछि हजुरहरुलाई गीताको भावार्थ बुझ्न अझ सजिलो हुन्छ कि भन्ने मेरो विश्वास छ ।

यो तेस्रो अध्याय गीताको कर्मयोगभित्र पर्छ । यो प्रसंगले हामीलाई आफ्नो कर्मलाई कर्मयोग वनाउन सिकाउँछ । कर्मयोगको  महत्व मैले हजुरहरुलाई भनिरहने आवश्यकता पर्दैन जस्तो लाग्छ मलाई । मेरो आफ्नो अनुभवमा चाहिं, गीताको ज्ञानले हामीलाई हाम्रो जीवन सुखमय तरिकाले विताउने guidelines दिन्छ । यी guidelines अनुसार  हामीले जीवन चलायौं भने हामीले आफूले पाएको सुख दुःखकोलागि अरुलाई दोष दिनु पर्दैन । किनभने, गीता भन्छ, 'तिमी आफूले आफूलाई माथि उठाउने हो, अथवा तल झार्ने हो, तिम्रो आफ्नै हातमा छ । यदि तिमीले आफ्नो उद्धार गर्यौं भने तिमी आफैं आफ्नो मित्र हुनेछौं, यदि तिमी आफैंले आफ्नो पतन गर्यौं भने तिमी आफ्नो शत्रु आफैं हुनेछौ ।'

भगवान भन्नुहुन्छ, गीताको ज्ञानले व्यक्तिलाई आफूमा नै रति (रमाइलो), तृप्ति र सन्तुष्टि मिल्न सक्छ । संसारिक भोग र संग्रहवाट मिल्ने सुख क्षणिक हुन्छ, त्यसैले अहिलेसम्म संसारका वस्तु, व्यक्ति र पदार्थवाट कोही पनि सुख हुन सकेको देखिंदैन । यही सन्दर्भमा, आजकल म हजुरहरुलाई यही ज्ञानको वारेमा सन्तहरुको कितावको आधारमा केही लेखिरहेकी छु । आफूले खाएर मीठो लागेको कुरो आफ्ना मित्रहरुलाई पनि चखाउने इच्छा मात्रै हो मेरो । 

गीताको ज्ञान अर्जुनको मोहवाट शुरु हुन्छ । अर्जुनका वावु पाण्डु र आमा कुन्ती हुन् । 'पाण्डु' शब्दले विवेक भन्ने बुझाउँछ । विवेक भनेको यो व्यावहारिक 'विवेक' होइन, पारमार्थिक  विवेक हो । 'कुन्ती' नामले भक्ति जनाउँछ । विवेक र भक्तिको समन्वय नै अर्जुन हो । हाम्रो सनातन धर्म 'प्रतीकवादी' हो । अर्जुन शब्द 'लक्ष्याकार वृत्ति' हो । यो वृत्ति (विचारधारा)ले हामीलाई आफ्नो लक्ष्यतर्फ अघि वढाउँछ ।  एउटा निश्चित लक्ष्य नभई हामी कुनै क्षेत्रमा पनि अघि वढ्न सक्तैनौं । लक्ष्यविहीन व्यक्ति यो भौतिक जगतमा पनि सुखी हुन सक्तैन भने यो भन्दा पनि अलौकिक जगतमा त कसरी सुखी हुन सक्ला ?
अर्जुन उनका लुगा गहना लगाएर, सबै अस्त्र शस्त्रले सुसज्जित भएर, राम्रो रथ चढेर, भगवान कृष्णलाई सारथी (driver) वनाएर युद्धभूमि आए । युद्धभूमिमा आउनु भन्दा पहिले र आइसकेपछि पनि उनमा जोश थियो, 'युद्ध गर्छु र त्यो युद्ध जित्छु' भन्ने । तर युद्ध भूमिमा आएपछि उनको त्यो जोश सबै हरायो, कारण धेरै देखिए पनि एउटा नै थियो, उनको स्वजनप्रतिको मोह । युद्धभूमिमा आउँदा र केही पछिसम्म पनि उनलाई 'दुष्ट' लागेका दुर्योधन आदि कौरव (कौरव त अर्जुन पनि कौरव नै हुन्, उनी कुरूवंशका नै हुन्) उनलाई मोह भए पछि 'स्वजन' भइदिए । उनको 'mood' swing  भयो । अर्जुन भन्छन्, 'हे कृष्ण ! यो युद्धभूमिमा खडा भएका गुरु र भीष्म पितामह सहितका मेरा स्वजनहरुलाई म मार्दिन ।' उनको mood change हुँदा हुँदा उनको मोह यति वढ्यो, उनलाई depression भयो, उनका रौंहरु ठाडा भए, उनको हात खुट्टा फतक्क गल्यो, उनको शरीर थरथर काँप्न थाल्यो, उनको हातवाट गाण्डीव धनु खस्यो, युद्ध लड्नकोलागि खडा भएका उनी थचक्क रथमा वसे, धुरु धुरु रुन थाले । यस्तो संकटपूर्ण वेलामा उनका सारथी कृष्णले अर्जुनको मोह हटाइदिनु भयो ।

त्यसैले, मलाई लाग्छ, हामीलाई त्यस्ता क्षणहरु वरावर आइरहन्छन्, तर हामी त्यसमा ध्यान दिंदैनौं । सबै 'मैले नै गरें, यस्तो गरें, त्यस्तो गरें भन्दै हिंडछौं' अर्जुन जस्तो । यही सन्दर्भमा हामी गीता पढिरहेका छौं ।      

पहिले पनि भनिएकै हो, हाम्रो मनमा लाग्न सक्छ, 'यो पारमार्थिक' ज्ञानको आवश्यकता नै किन पर्यो हामीलाई । यो कुरामा कुनै चित्त बुझ्दो readymade जवाफ त छैन मसँग । तर म यो भन्न सक्छु, यो आध्यात्मिक विनाको भौतिक ज्ञानले हामीलाई वास्तविक सुख दिन सक्तैन । हाम्रो आफ्नै अनुभव लिउँ, हामीले आफूले जानेदेखि अहिलेसम्म कति कामहरु गर्यौं, आफ़्नोलागि, परिवारकोलागि र अझ समाजकोलागि भनेर कति श्रम गर्यौं, त्यो सबै श्रमको फल हाम्रो अनुकूल भएको छ त ? ती फलले हाम्रो चित्त बुझाउन सकेको छ त ? चित्त बुझाउन सकेको भए हामी त्यही कर्म फेरि फेरि किन गरिरहन्छौं त ? मलाई लाग्छ, एउटा कर्म नै फेरि फेरि गरिरहनु भनेको त्यो particular कर्ममा हामी फेल भइरहेका छौं, पास भएको भए हामीलाई सन्तुष्टी भइहाल्थ्यो, हामी चुप लाग्थ्यौं । फेल हुनाको एक मात्र कारण, हामीले आफ्नो काम शुरु गर्नु भन्दा पहिले नै त्यो कामको फल 'यस्तो हुनु पर्छ' भन्ने set गरिसकेका हुन्छौं । सबै चोटी हामीले निस्चित् गरेको जस्तो कर्मको फल आउँछ त ? नआएको वेला हामी रुन्छौँ, कराउँछौं, छाती पिटछौं । अर्को शब्दमा, हामी हरवखत आफू 'नाफा'मा रहन चाहन्छौं, तर त्यो कदापि सम्भव छैन । यही सन्दर्भमा गीता भन्छ, 'सुख-दुःख, लाभ-हानि, जय-पराजयमा सम भएर कर्म गर, त्यसो भए तिमीलाई पाप लाग्दैन ।' पाप भनेको नै दुःख हो । 
 
गीता भन्छ, हामीले कुनै पनि कर्म गर्दा त्यो कर्म सफल हुनकोलागि पाँच कुराको आवश्यकता पर्छ । ती हुन् -- (१) अधिष्ठान (शरीर), (२) कर्ता (कर्म गर्ने विचार), (३) करण (हाम्रा शरीरका विभिन्न अंग, हात, खुट्टा आदि) (४) विभिन्न चेष्टाहरु (कोशीश), (५) दैव । यी पाँचै कुराले राम्रोसँग काम सम्पादन गरे मात्र सफल हुने भयो । तर, हामी कुनै कर्म गर्छौं, त्यो कर्म सफल अथवा असफल भयो भने हामी आफू (कर्ता) मात्रलाई त्यो कर्मको सफलता वा असफलताकोलागि जस अथवा अवजस दिन्छौं । त्यही नै हाम्रो गल्ति हो । अरु चारको पनि सहायता लिएर कर्म गर्ने, त्यसको सफलता अथवा असफलताकोलागि आफूलाई मात्र जिम्मेवार मान्ने ?

No comments:

Post a Comment