संजयले भने
पहिलो पत्रमा छुटेको
श्लोक ७
कातरतारूपी दोषले तिरस्कृत भएको र धर्मको विषयमा अन्तःकरण
मोहित भएको म हजुरलाई मेरोलागि निश्चित कल्याण गर्ने उपाय वताइदिनु हुन
अनुरोध गर्छु । म हजुरको शिष्य हुँ. हजुरको शरणमा आएको छु, मलाई उपदेश
दिनुहोस ।
संजयले भने
श्लोक ९
हे शत्रुतापन धृतराष्ट्र ! निद्रा जित्ने अर्जुनले अन्तर्यामी गोविन्दसँग 'म युद्ध गर्दिन' भनेर चुप भए ।
श्लोक १०
हे भरतवंशी धृतराष्ट्र ! दुवै सेनाहरुको वीचमा विषाद गरिरहेका अर्जुन प्रति हाँसे जस्तो गरी भगवान हृषिकेशले भन्नुभयो ।
धर्मभूमि
कुरुक्षेत्रमा एकातिर कौरव-सेना खडा छ र अर्कोतिर पाण्डव -सेना । दुवै
सेनाहरुको वीचमा सेता घोडाहरुले युक्त एउटा महान रथ खडा छ । त्यो रथको
एकातिर भगवान कृष्ण वस्नुभएको छ अर्कोतिर अर्जुन वसेका छन् । त्यस्तो दुःखी
अर्जुनलाई भगवान भन्दै हुनुहुन्छ, प्रसन्न मुद्रामा । अरु सामान्य व्यक्ति
भए यो वेला अर्जुनलाई हप्काऊंथे, तर भगवानलाई थाहा छ, अर्जुन अहिले
सामान्य अवस्थामा छैनन् । आफैं सामान्य अवस्थामा नभएको व्यक्तिलाई गाली
गर्ने, हप्काउने काम त विवेकीले गर्दैनन् । फेरि भगवान प्रसन्न मुद्रामा
हुने कारण अर्को पनि छ, उहाँ अर्जुनलाई निमित्त वनाएर मनुष्यमात्रको
कल्याणकोलागि आफ्नो अलौकिक उपदेश शुरु गर्दै हुनुहुन्छ ।
भगवानको अव हुन
लागेको उपदेश सातौँ श्लोकको अर्जुनको अनुरोधको जवाफ हो । अर्जुनले लामो
प्रलाप गरिरहे, भगवानले सबै प्रलाप सुनिरहनु भयो, अर्जुनलाई सम्झाउने कुनै
पनि प्रयास गर्नु भएन, किनभने अर्जुनले अहिलेसम्म आफूमा भएको कमजोरी पत्ता
लगाउन सकेका थिएनन् । यही दोस्रो अध्यायको शुरुमा नै भगवानले अर्जुनलाई
'नपुंसक' भनेको र 'तिम्रो मुटू कमजोर भएछ' भन्नुभएको सन्दर्भवाट पनि अर्जुन
अलि झस्के । त्यसैले सातौं श्लोकमा उनलॆ आफ्नो 'रोग'को वारे भगवानलाई
वर्णन गर्दै आफूलाई मार्गदर्शन गर्न निवेदन गरे । त्यसपछिको आठौँ श्लोकमा
अर्जुन फेरि आफ्नै हठमा अडिएको देखिन्छ, तर यो पाली चाहिं उनको यो हठ अलि
खुकुलो भैसकेछ । त्यसपछिका दुई श्लोक त संजयले राजा धृतराष्ट्रलाई गरेको
वयान मात्रै हो ।
अव आउने श्लोकदेखि भगवान सर्वप्रथम शरीर र शरीरीको विभागको वर्णन गर्नुहुन्छ ।
श्रीभगवान भन्नुहुन्छ
श्लोक ११
तिमी शोक गर्न नपर्ने कुराको शोक
गरिरहेका छौ र विद्वत्ता (पण्डित्याँइ) का कुरा पनि गरिरहेका छौ; प्राण
गैसकेकालागि र प्राण नगैसकेकाकोलागि पण्डितहरु शोक गर्दैनन् ।
यो श्लोकमा भगवान अर्जुनलाइ उनको
विरोधाभासपूर्ण कथन औंल्याउनु हुन्छ । अर्जुन एकातिर पण्डितको कुरा पनि
गर्छन, अर्कोतिर शोक पनि गर्छन । अर्को शब्दमा अर्जुनको ज्ञान अरुलाई
भन्नकोलागि मात्रै हो, आफूले व्यवहारमा ल्याउनकोलागि होइन ।
एक
विभाग शरीरको छ र एक बिभाग शरीरीको छ । दुवै एक अर्कासँग विल्कुल अलग छन् ।
यी दुबैको स्वभाव पनि विल्कुल छुट्टै छ । एउटा (शरीर) जड छ, अर्को (शरीरी)
चेतन छ । एउटा नाशवान छ, अर्को अविनाशी छ । एउटा विकारी छ, अर्को
निर्विकार छ । एउटामा निरन्तर परिवर्तन भैरहन्छ, अर्को अनन्तकालसम्म जस्ता-को-तस्तो रहन्छ ।
शरीर
र शरीरी दुबै हामीले शोक गर्नु नपर्ने छन्। शरीरको निरन्तर विनाश भै रहेछ,
त्यसकोलागि के शोक गर्नु, शरीरीको विनाश कहिले पनि हुँदैन, त्यसको लागि
पनि के शोक गर्नु ? हामीलाई खालि हाम्रो मूर्खताले शोक हुने हो । शरीर
हामीवाट निरन्तर छुटिरहेछ र शरीरी सबैलाई सँधै प्राप्त नै छ । भगवान अनुसार
हामीले हामीसंग सँधै नरहने शरीरलाई सँधै रहोस् भन्ने ठान्यौं, र सँधै
हामीसँग रहने, हामीवाट कहिले पनि नछुट्ने आत्मालाइ महत्त्व दिएनौं । अर्को
शब्दमा, शरीर र शरीरीको यस्तो विभागलाई हामीले राम्रोसँग बुझेनौं ।
त्यसैले, भगवान भन्नुहुन्छ, विवेकी मनुष्य मरेको अथवा वांची रहेको, कुनै
पनि प्राणीकोलागि कहिले पनि शोक गर्दैनन् । किनभने, उनीहरुको दृष्टिमा
वदलिने शरीरको बिभाग नै छुट्टै छ, नवदलिने शरीरी अर्थात् स्वरूपको सत्ताको
विभाग नै छुट्टै छ ।
गीताको
उपदेश शरीर र शरीरीको भेदवाट शुरु हुन्छ । गीता सबैको अनुभवलाई मान्यता
दिएर देह-देही, शरीर-शरीरीको वर्णन गर्छ । अरु अरु ग्रन्थले आत्मालाई अरु
अरु नाम दिएका छन् । सज्जनहरु भन्छन, गीताको विलक्षणता नै यही हो । हामीले
आफ्नो कल्याण चाहने हो भने सबभन्दा पहिले यो जान्नु पर्यो, 'म को हुँ' ।
यही सन्दर्भमा अर्जुन पनि आफ्नो कल्याण चाहन्छन, त्यसैले सोध्छन--'यच्छ्रेय: स्यान्निश्चितम् ब्रूहि तन्मे ' । देह
र देहीको भेद हामीले स्वीकार गर्नै पर्छ । जवसम्म 'म देह हुँ' भन्ने भाव
रहन्छ, तवसम्म हामी जति नै उपदेश सुनिरहौं, सुनाइ रहौं, साधन पनि गरिरहौं,
हाम्रो कल्याण हुँदैन ।
अव अलि क्लिष्ट र सुनौं, सुनौं नलाग्ने विषय आउन लागेको छ । यहाँ नै रोकिनु उचित होला ।
हजुरहरुको
इन्दिरा
No comments:
Post a Comment