Wednesday 9 April 2014

28. अघिल्लो पत्रमा उल्लेख गरिएको 'म को हुँ' विचार गर्नु पर्ने जस्तो लाग्छ ।

अघिल्लो पत्रमा उल्लेख गरिएको 'म को हुँ' विचार गर्नु पर्ने जस्तो लाग्छ । 

अहिले दोस्रो अध्यायको प्रसङ्ग चलेको छ, अर्जुन 'द्वन्द्व'मा परेका छन् । द्वन्द्वमा परेको वेला व्यक्तिको स्थिति अप्ठ्यारो हुन्छ, ऊ आफूले सोचे जस्तो निर्णय गर्न सक्तैन, त्यसैले उसको मन अस्थिर, चंचल हुन्छ ।  हाम्रो मन किन चंचल हुन्छ? भन्ने प्रश्नको उत्तरमा शास्त्र भन्छ, 'मनुष्यको मन चंचल हुने एउटा र एउटा मात्र कारण हो 'इच्छा' ।' त्यसो भए हामी जस्ताको मनमा आउने अर्को प्रश्न, 'इच्छा नगरे त हामी संसारमा वाँच्न नै सक्तैनौं'।   


यही विषयमा गीतामा अर्जुन भगवानलाई सोध्छन, 'अथ केन प्रयुक्तोयं पापं चरति पूरुष:।', अर्थ, 'व्यक्ति नचाहँदा नचाहँदा नचाहँदै पनि केवाट प्रेरित भएर पाप गर्छ ।'     


भगवानको जवाफ, 'काम एष', अर्थ, 'व्यक्तिवाट हुने पाप 'इच्छा'वाट नै हो ।' इच्छावाट हाम्रो चित्त चंचल हुन्छ, अझ भनौं, चित्त चंचल भएपछि हामीमा इच्छा उठ्छ । इच्छा पूर्ति गर्न हामीसँग साधन स्रोत हुनु पर्यो । साधन स्रोत हुन्जेल त हामी इच्छा पूर्ति गरौंला, तर, स्रोत सकिएपछि के गर्ने? शास्त्र भन्छ, 'हाम्रो इच्छा ज्यादै खन्चुवा छ, यसलाई जति खाए पनि चित्त बुझ्दैन, फेरि यो इच्छाको स्वभाव मनुष्यलाई अत्यन्त पाप गराउने खालको छ' । पाप गराउने यो अर्थमा कि हामीले हाम्रो हरेक इच्छा पुर्याउँदा पुर्याउंदा हाम्रो मनको स्वभाव हठी भइसकेको हुन्छ, तर, त्यो वेला हाम्रो साधन वांकी हुँदैन । तर इच्छाको वेगले हामीलाई शान्त रहन दिंदैन । अव के गर्ने, हामी पाप गरेर पनि आफ्नो इच्छा पूर्ति गर्न उद्यत हुन्छौं । गीताको सोरहौं अध्यायमा आसुरी व्यक्तिको स्वभावको वर्णन गर्ने क्रममा भगवान भन्नुहुन्छ, 'ईहन्ते काम भोगार्थम् अन्न्यायेनार्थ संचायान् ।', अर्थ, ' त्यस्ता व्यक्ति आफूले इच्छा गरिएको वस्तु अथवा पदार्थ भोग गर्नकोलागि अन्यायपूर्वक धन-संचय गर्ने कोशिस गरिरहन्छन ।' इच्छा छ, तर धन छैन भने हामी अन्यायपूर्वक धन कमाउँछौं, अन्यायले धन कमाएपछि  हामीवाट पाप भयो । अव मिलेन त हाम्रो मनको चंचलताले  अथवा इच्छाले हामीलाई पाप गराउने कुरा ।     


यस्तै 'द्वन्द्वमोह'मा डुबेका अर्जुन हाम्रा प्रतिनिधि हुन् । गीताको अध्ययन गर्दा हामीले अर्जुनको 'गुणदोष'मा आफू कहाँ कहाँ 'फिट' र कहाँ कहाँ 'अनफिट' छौं भन्ने पत्ता लगाउन सक्नुपर्छ, 'म नै गीताको अर्जुन हुँ, यो गीता मलाई नै भनिएको हो' भन्ने सोच्नुपर्छ । कुनै उपन्यास पढेको जस्तो, अथवा कुनै  सिरियल हेरेको जस्तो गीता पढ्ने र सुन्ने विषय होइन, गीता त आफूले आफ्नो जीवनमा उतार्ने ग्रन्थ हो ।      


यो परिप्रेक्ष्यमा हामीले 'म को हुँ' विचार गर्नु पर्ने भयो । आदिगुरु शंकराचार्य 'भज गोविन्दम्'मा भन्नुहुन्छ, 'कस्त्वम् कोहं कुतः आयात का  मे जननी को मे तातः ।' अर्थ, 'म को हुँ, तिमी को हौ, तिमी हामी कहाँवाट आएको, मेरो आमा को, मेरो वावु को ।' 


अव हामी माथिको प्रश्नको उत्तर खोजौं । पहिलो प्रश्न: 'म को?'  यही प्रसंगमा अर्को प्रश्न,  यो संसारमा आउनु भन्दा पहिले मेरो अस्तित्त्व थियो कि थिएन ? उत्तर: थियो, किनकि हामी यो जन्म भन्दा पहिले नभएको भए यो जन्ममा हामी कसरी आउँथ्यौं? प्रश्न: हामी यो जन्म भन्दा पहिले भए यो जन्म भन्दा पहिले कहाँ थियौं त?  उत्तर: आमाको गर्भमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: वावुको शरीरमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? वावुले खाएको अन्नमा ।  प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: पृथ्वीमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: जलमा । त्यो भन्दा पहिले कहाँ ? उत्तर: तेजमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: वायुमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: आकाशमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: आत्मामा ।                



'म को हुँ' प्रश्नको जवाफ जस्तै 'तिमी को हौ ? भन्ने प्रश्नको जवाफ पनि यही भयो । त्यस्तै हाम्रा आमा वावु पनि हामी आएको आत्मावाट आएका हुन् अथवा थिए भन्ने बुझ्नु पर्यो हामीले । त्यसै गरी, हामी पनि आत्मा नै रहेछौं,  हाम्रा वावु आमा पनि आत्मा नै रहेछन । यही कुरालाई दृढ गर्नु नै हाम्रो आफूप्रतिको प्रथम र अन्तिम कर्तव्य रहेछ ।     


यस्तै अलि अलि क्लिष्ट कुरा पनि आउने हुँदा धेरैलाई वेदान्तवाट चाख हट्न सक्छ । विहान, वेलुकी पूजाकोठामा गयो, नियमित पूजा गर्यो, आफ्नो अरु अरु काम गर्यो । यसो गर्दा धेरै कुरा बुझ्न पनि नपर्ने, विचार गर्नु पनि नपर्ने । तर त भगवानले कृपा गर्नुभएकोले नै यस्तो ज्ञानको चिन्तन, मनन गर्ने अवसर हामीलाई मिलेको छ ।     


आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment