Wednesday 9 April 2014

29. फेरि गीताकै प्रसंगमा जानुछ हामीलाई ।

फेरि गीताकै प्रसंगमा जानुछ हामीलाई । 

यहाँ शरीरलाई 'जड' र शरीरीलाई 'चेतन' भनिइरहिएको छ । यी शब्दको परिभाषातिर जाँदा, जड भनेको त्यो हो, जुन आफूलाई पनि जान्दैन, अरुलाई पनि जान्दैन, त्यस्तै, चेतन भनेको त्यो हो, जो आफूलाई पनि जान्दछ, अर्कोलाई पनि जान्दछ । यहाँ हामी शरीरलाई जड र शरीरीलाई चेतन भनिरहेका छौं । हाम्रो शरीरले (यहाँ शरीर भन्दा तीनै शरीरहरू लिनुपर्छ) आफू को हो भन्ने जान्दैन, अर्को को हो, अथवा के हो भन्ने पनि जान्दैन । तर हाम्रो आत्मा (चेतन)ले आफू को हो, के हो भन्ने पनि जान्दछ, अर्को को हो, के हो भन्ने पनि जान्दछ । 


अव प्रश्न आउँछ, 'हाम्रो शरीर, मन, बुद्धिले त आफू को हो, भन्ने पनि जान्दछ, अरु को हो भन्ने पनि जान्दछ । यो कसरी सम्भव भयो त? यसको जवाफ, चेतनको सत्ताले नै हाम्रा शरीर, मन, बुद्धि संचालित भएका छन् । हामीलाई थाहा नै छ, चेतनले छोड्ने वित्तिकै कसैको शरीरले केही पनि गर्न सक्तैन । त्यसैले यो श्लोकमा भगवान अर्जुन मार्फत हामीलाई यही कुरा भनिरहनुभएको छ, 'तिमीलाई चलाउने , हिंडाउने, समस्त कर्म गर्न लगाउने, रुवाउने, हँसाउने, सोच्न लगाउने, निश्चय गर्न लगाउने, चेतन (शरीरी) हो, त्यो चेतनको सत्ता मात्रले नै तिम्रा  शरीर, मन, बुद्धि, आदि सल्वलाइरहेका छन्, आफ्ना आफ्ना काममा लागिरहेका छन् । त्यसैले, तिमी  जड (शरीर) होइनौ,  चेतन (आत्मा) हौ । शरीरको नाश हुँदा पनि तिम्रो नाश हुँदैन, त्यसैले तिमीले शोक गर्नु हुँदैन ।' यसकारण हाम्रो शरीरको स्वतन्त्र सत्ता छँदै छैन । दोस्रो अध्यायको यही तथ्य नै गीताको सार हो भनिन्छ । अर्जुनको मोह नै यही विषयमा भएको छ ।  जसको नाश नभई छोड्दैन, त्यसको शोक गर्दा हामीलाई मानसिक दुःख मात्रै हुने भयो । जसकोलागि शोक गर्नुपर्ने कारण नै छैन, त्यसकोलागि शोक गर्दा हामी 'मूर्ख' हुने भयौं । यसैले भगवानले गीतामा धेरै ठाउँमा 'मूर्ख' भन्ने पदवी दिनुभएको छ । यो 'मूर्ख' पदवी भगवानलाई नै फिर्ता दिन हामीले शोक गर्न नहुने भयो ।  


यही शोक नगर्ने सिलसिलामा भगवान हामीलाई सिकाउनु हुन्छ, गीताको दोस्रो अध्यायको छपन्नौं श्लोकमा ' दुःखेष्वनुद्विग्नमना:……. स्थितधीर्मुनिरुच्यते ।'  अर्थदुःख आइपर्दा जसको मनमा उद्वेग हुँदैन, त्यस्तो मननशील मनुष्यलाई स्थिरबुद्धि (ज्ञानी) भनिन्छ ।'  यही सन्दर्भमा एउटा महात्मावाट सुनेको कुरा पनि निवेदन गर्छु ।      


एउटा समारोहमा एक सज्जनलाई सम्मान गर्न वोलाइएछ । उद्घोषकले भनेछन, 'हामीले यहाँलाई यो सभामा वोलाउनुको कारण हो, हजुरहरुको वैवाहिक जीवनको साठी वर्षसम्म पनि कुनै दिन पनि झगडा नभएको भन्ने हामीले सुन्यौं, त्यसको रहस्य के हो ?' ती सज्जनले आफ्नी श्रीमतीतर्फ हेरे, श्रीमतीको अनुमति पाएपछि उनले भने, 'She goes her way and I go her way', अर्थ, 'उनी उनले भनेको जस्तो गर्छिन्, म पनि उनले भने जस्तो गर्छु।' यो भनाइको महत्त्व यसमा छ, जे गरी हुन्छ, जसो गरी हुन्छ, आफ्नो अन्तःकरणको 'समता'लाई खल्वलिन नदिने। किनकि समतालाई नै योग भनिन्छ, 'समत्त्वम् योग उच्यते', 'समबुद्धिर्विशिष्यते' ।                



यही प्रसंगमा, शास्त्र भन्छ, जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र जुन वस्तु आफ्नो हो, त्यसलाई आफ्नो नमान्नु नै ठूलो भूल हो । सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहने वस्तु नै आफ्नो हो । शरीर एक क्षण पनि हामीसँग रहँदैन र परमात्मा निरन्तर हामीसँग रहनुहुन्छ । किनकि शरीरको जाति संसारसँग छ, र हाम्रो जाति परमात्मासँग छ । यही कारण, शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नु सब भन्दा ठूलो भूल भयो हाम्रो। यहाँनेर हजुरहरुलाई बुझ्न अलि कठिन भयो कि जस्तो लाग्यो मलाई  । म एकातिरवाट लेखिरहेकी छु, हजुरहरु अर्कोतिरवाट मेरो पत्र पढिरहनुभएको छ । मैले आफ्नै हिसावले हजुरहरुले बुझ्नुभयो भन्ने ठान्नु परिरहेको छ । मेरी अढाइ वर्षकी नातिनी उसलाई अप्ठ्यारो परेको वेला मलाई भन्छे, 'what to do Amu, what to do?' अर्थ, 'के गर्ने आमु, के गर्ने ?'  ठीक यही स्थिति मेरो छ अहिले ।         


हस् त, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 


इन्दिरा 

No comments:

Post a Comment