Saturday 12 April 2014

33. No. 5 यो श्लोकमा परमात्मा र जीवात्माको साधर्म्यताको वर्णन भएको छ ।

No. 5

यो श्लोकमा परमात्मा र जीवात्माको साधर्म्यताको वर्णन भएको छ । 'साधर्म्यता' भनेको परमात्माको जस्तो धर्म हो, जीवात्माको धर्म पनि त्यही हो । परमात्मा अविनाशी छ, जीव पनि अविनाशी छ भन्न खोजिएको छ, यहाँ । भगवान भन्नुहुन्छ, म कृष्णरूपले, तिमी अर्जुन रूपले र यहाँ युद्ध गर्न जम्मा भएका सबै योद्धाहरु राजा रूपले पहिले थिएनौं, र पछि पनि रहने छैनौं । तर सत्ता रूपले विचार गर्ने हो भने हामी पहिले पनि थियौं, पछि पनि रहने छौं । अर्को शब्दमा, हाम्रो सत्ता नित्य निरन्तर विद्यमान छ, यो शरीर रहंदा पनि सत्ता विद्यमान छ, यो शरीर नरहँदा पनि विद्यमान छ । यो शरीर रहुन्जेल मात्रै हामी हुने र शरीरको नाश भएपछी हामी नहुने भन्ने होइन । हामी ज्ञान नभएकाहरुले नै आफूलाई जीवित अथवा मृत हुने भन्ने ठानेका हुन्छौँ, यसैले हामीलाई निरन्तर भय, त्रास भैरहन्छ । शरीरलाई आफू नमान्ने सन्तहरुलाइ भय, त्रास हुँदैन । त्यसैले उनीहरुलाई भगवान भन्नुहुन्छ, 'वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते' । अज्ञानले नै हामीलाई निरन्तर भयको जीवन विताउनु परिरहेको छ, कहिले रोगको भय, कहिले गरीवीको भय, कहिले आफ्नो सम्पत्तिको नाश होला भन्ने भय, कहिले मृत्युको भय । अझ शास्त्र भन्छ, पृथ्वीका समस्त प्राणीहरुलाई 'मृत्यु'को भय छ । तर फरक यत्तिमा छ, पशु, पन्छिहरु आफ्नो मृत्युलाई हटाउन केही उपाय गर्दैनन्, तर मनुष्य 'मृत्यु'वाट वच्न अनेक उपाय गर्छ, गरिरहेछ, कति पटक 'आफू सफल भएँ' भन्ने ठान्छ, कति चोटी निराश पनि हुन्छ ।

शास्त्र भन्छ, मनुष्यले आफू जन्मेको वेलामा नै जाति, आयु र भोग आफूसंग लिएर आएको हुन्छ । 'जाति' शब्दले कूललाइ बुझाउँछ । अर्थात, हाम्रो कूल कस्तो हुने, हाम्रा बाबु आमा को हुने आदि, आदि । आयुले, अझ 'पूर्व निर्धारित आयु'ले हाम्रो शरीर यो संसारमा कति दिन रहने भन्ने 'हिसाव किताव' राख्छ ।

आयुको विषयमा मलाई लागिरहन्छ, 'शास्त्रले भन्छ, हाम्रो आयु पूर्व निर्धारित छ, तर हामीलाई यो कुरो थाहा छैन, यदि थाहा हुने भए हामी कति सावधान रहने थियौं होला, नराम्रो कर्म गर्नवाट कति डराउँथ्यौं होला' । यस्तो पनि लाग्छ, 'हाम्रो आयु, (यहाँ आयुलाई हाम्रो व्यालेन्स भन्नु पर्ला ) हामी जन्मेदेखि खर्च भैरहेछ । तर विधाताले हामीलाई यस्तो 'trick' गरेको छ कि हामीलाई आफ्नो आयुको व्यालेन्स थाहा दिएको छैन, तर, हामी खर्च चाहिं 'अन्धाधुन्ध' गरिरहेछौँ ।

हाम्रो संस्कृतिमा यही कुराको भेद बताउने अर्को शास्त्र पनि छ, 'त्यो हो ज्योतीष शास्त्र' । यो शास्त्रलाई हामी अधिकतम प्रयोग पनि गरिरहेका छौं, आफ्नो आयु सोध्न हामी ज्योतीष कहाँ जान्छौं, रोग लाग्यो भने हामी ज्योतीषकै पाउ पर्छौं, सानो भन्दा सानो समस्या सुल्झाउनकोलागि हामीलाई ज्योतीषको जरुरत पर्छ । मेरो विचारमा, यसको कारण, एउटा मात्रै कारण, हाम्रो आत्मविश्वासको कमी हो । यदि हामी पूर्णरूपले भगवानको शरण पर्छौं भने हामीलाई यस्ता कुराको जरुरत पर्दैन । मीरावाईले भन्थिन्, 'मेरो तो गिरधर गोपाल दुसरो न कोइ' । मीराबाइको यो स्थिति 'शरणागति'को पूर्णता हो ।

त्यस्तै, यो संसारमा हामीले गर्ने 'भोग' पनि पहिले नै निर्धारण भइसकेको हुन्छ भन्छ शास्त्र । हामी जन्मेपछि हाम्रो भोग के हुन्छ, कस्तो हुन्छ, कोसंग हुन्छ, हाम्रो विहे कोसंग हुन्छ, हाम्रा छोराछोरी कति हुन्छन, हामीलाई सुख दुःख कस्तो के पर्छ, हामीलाई के कस्तो रोग लाग्छ, हाम्रो धन सम्पत्ति कति हुन्छ, हामी कस्तो कस्तो कुकर्म अथवा सुकर्म गर्छौं भन्ने पनि हुन्छ हाम्रो आफ्नो जन्मसँग आउने bio-dataमा । यहाँसम्म कि हालै हाम्रो वीच भैरहेको सम्बाद पनि हामी सबैको bio-dataमा लेखिएको छ । यही सन्दर्भमा रमण महर्षि भन्नुहुन्छ, 'कर्तुराज्ञया प्राप्यते फलं', हामीले अहिले संसारमा भोगिरहेको समस्त सुख-दुःख, समस्त भोग्य पदार्थ 'कर्तु:'को आज्ञाले भएको हो । उहाँ त कतिसम्म भन्नु हुन्छ, 'तिमीले विहान उठेर खाने 'वेड टी' पनि पहिले नै निश्चित भै सकेको छ ।' कसैले उहाँलाई प्रश्न सोधे, 'त्यसो भए हामी संसारमा आउनुको कारण के हो ?' उहाँको जवाफ, 'ईश्वर प्राप्ति' ।

यस्तै हो, आजको विषय कतिलाई नयाँ लाग्न सक्छ, चित्त नबुझ्न पनि सक्छ, तर शास्त्रीय कुरा यही हो हजुर!

हजुरहरुको
इन्दिरा 

Song from Hajurma's Cassette Collection: Bhagwan timi lai ma kasari pau

No comments:

Post a Comment