Saturday 12 April 2014

32. No. 3 अव गीताको अर्थमा जानुपर्यो ।

No. 3

अव गीताको अर्थमा जानुपर्यो । जुन वेला हामी शरीर र शरीरीको विचार गर्छौं, त्यो वेला पनि शरीर र शरीरी त्यस्तै नै छन् । त्यस्तै हामीले तिनीहरुको वारेमा विचार नगरेको वेला पनि तिनीहरु त्यस्तै छन् । अर्थात्, तिनीहरुको गुण र धर्ममा कुनै अन्तर हुँदैन, शरीर त्यो वेला पनि नाशवान नै हुन्छ; शरीरी त्यो वेला पनि अविनाशी नै हुन्छ । त्यसो भए हामीलाई लाग्छ, त्यसो भए हामीले त्यो वारे किन विचार गर्नु पर्यो त ?

त्यसको उत्तर: विचार गर्दा वस्तुस्थितिमा केही फरक त पर्ने होइन, तर साधकको मोह हट्छ, उसको मनुष्य जन्म सफल हुन्छ ।

मनुष्य शरीर विवेकप्रधान हो । त्यसैले 'म शरीर होइन' भन्ने विवेक मनुष्य शरीरमा नै हुन सक्छ । शरीरलाई 'म-मेरो' मान्नु मनुष्य बुद्धि होइन, उल्टो पशुबुद्धि हो । यही कारण श्रीशुकदेवजी राजा परीक्षितसँग भन्नुहुन्छ,

त्वं तु राजन मरिश्येति पशुबुद्धिमिमां जहि ।
न जातः प्रागभूतोद्य देहवत्वं न ननङक्षसि ।।

अर्थ, 'हे राजन ! अव तिमी 'म मर्नेछु' भन्ने पशुबुद्धि छोडीदेऊ ' । जस्तो शरीर पहिले थिएन, पछि पैदा भएको हो, र फेरि मर्छ, त्यस्तै, तिमी पहिले थिएनौ, पछि पैदा भएका हौ र फेरि मर्छौ, यो कुरा होइन ।'

यहाँ पनि शरीर र शरीरीको भेदको नै चर्चा भएको छ । यही शरीर र शरीरीको भेदलाई बुझ्ने व्यक्तिलाई नै असली ज्ञानी भन्छ गीता । ज्ञानीले उसको आफ्नो विवेकशक्तिद्वारा सत् र असत् को भेदलाई सिद्धान्ततः जान्दछ, त्यही कुरालाई अनेक युक्ति लगाएर मनन गर्दछ, त्यही ज्ञानलाई आफ्नो जीवनमा विस्तारै विस्तारै उतारी पनि रहेको हुन्छ । उतार्ने क्रममा नै उसले आफ्नो शरीर, मन, बुद्धिको function पनि बुझिरहेको हुन्छ, त्यही क्रममा नै उसले गीताले भनेको ज्ञान प्रयोग गर्दा आफ्नो विचारमा आइरहने वाधाहरुको समेत पहिचान गर्दै, र ती वाधाहरु हटाउन के गर्न पर्ने हो भन्ने थाहा पाउँदै ती वाधाहरुको निराकरण पनि गर्दै जान्छ । कति पटक त उसलाई उत्साह पनि लाग्छ, तर धेरै पटक उसलाई नैराश्य पनि हुने गर्छ । तर, के गर्ने, उ सोच्छ, 'म यता (आध्यात्मिक क्षेत्रमा) लागि सकें, अव म संसारको विषयमा रमाउन सक्तिन, यो क्षेत्रमा नै मैले लागिरहनु पर्छ ।' भन्ने विचारले उ आफ्नो गन्तव्यतिर नै लागिरहन्छ, वाटो लागेपछि त पुगिहालिन्छ, होइन त ।

केही दिनअघि मैले you tube मा शिरडी साइवावाको movie हेरें । उहाँको दुइटा उपदेश रहेछन: (१) श्रद्धा; (२) सबुरी । श्रद्धा भनेको: गुरु र शास्त्रको वाक्यमा विश्वास हो; सबुरी भनेको: धैर्य र उत्साह हो । हामीलाई शाश्वत शान्ति पाउने तीब्र इच्छा छ भने हामीले यी दुइ कुराहरुलाई हाम्रो जीवनमा उतार्नै पर्ने रहेछ । भगवान गीताको अठारौँ अध्यायमा भन्नुहुन्छ, 'श्रद्धावान लभते ज्ञानम् ', 'धृति उत्साह समन्वितः' ज्ञान हुन श्रद्धा,धृति र उत्साहको आवश्यकता पर्छ । यही प्रसंगमा शिरडी साइवावाको एउटा प्रसङ्ग पनि लेख्न मन लाग्यो मलाई ।

एक दिन एउटा महाजन आफ्नो ट्रेनको return ticket समेत लिएर र एउटा टाँगामा साइ वावा कहाँ आयो । उसले साइ वावासँग 'ब्रह्मज्ञान' सुन्ने इच्छा प्रकट गर्यो, साथै उसले आफू चांडै आफ्नो घर फर्कनु पर्ने कुरा पनि गर्यो । अर्को शब्दमा, उसले ब्रह्मज्ञान जस्तो गहन विषयलाई त्यति चांडै उपलब्ध हुने कुरो भन्ने ठान्यो ।

साइवावाले उसलाई ब्रह्मज्ञान दिन आफ्नो अगाडि राख्नु भयो, त्यही वखत उहाँले आफ्नो आश्रमको एउटा ठिटोलाई भन्नुभयो, 'ए वावु, तिमी गाउँमा कसैसँग (कुनै एक व्यक्तिको नाम लिएर) पांच रुपियाँ लिएर आऊ' । उता त्यो ठिटो गयो, यता त्यो ज्ञान चाहने व्यक्ति मनमनै भन्दै थियो, 'आफूलाई हतारो भैसक्यो, यो वावालाई किन अहिले नै पाँच रुपियाँ चाहिएको होला ।' त्यो ठिटो फर्केर आयो र भन्यो, 'त्यो मान्छेको घरमा कोही पनि छैन, ढोकामा ताल्चा मारेको छ ।' वावाले त्यही केटालाई फेरि दोस्रो घरमा, अनि तेस्रो घरमा, अनि चौथो घरमा गरेर पटक पटक धेरै घरहरुमा पठाउनु भयो । तर सबै घरमा कसैलाई पनि भेट नभएको र पांच रुपियाँ पाउन नसकेको कुरो त्यो केटाले भनी रह्यो । उता, त्यो महाजनको छटपटी वढि नै रहेको थियो ।

त्यसपछि साइवावाले त्यहाँ उपस्थित अरुहरुलाई भन्नुभयो, 'हेर, यो व्यक्ति मसँग ब्रह्मज्ञान लिन आएकोछ, मैले पाँच रुपियाँ लिन गाउँमा मान्छे पठाइरहेको छु, यसको आफ्नै खल्तीमा अढाइ सय रुपियाँ छ, झिक्न सक्तैन, यस्ता 'असहिष्णु' व्यक्तिले के ज्ञान लिन्छ ?' त्यो महाजन लज्जित भएर फर्क्यो । यही सन्दर्भमा, एक जना सन्तको वचन: साइवावाले लिन पठाएको 'पाँच रुपियाँ' हाम्रो पाँच ज्ञानेंद्रियहरुको प्रतीक हो । साइवावाले यसो गर्नुको तात्पर्य हो कि ब्रह्मज्ञान कुनै पसलमा गएर केही सामान मागेको अथवा कसैको घरमा गएर कुनै माल मागेको जस्तो होइन, यसको अधिकारी हुन साधकले आफ्ना पाँच ज्ञानेंद्रियहरुलाई 'संयम'मा राख्नुको साथै आफ्नो मनलाइ पनि वशमा गर्नुपर्छ । अर्कोतिर, साइवावाले आफ्नो शक्तिद्वारा नै त्यो महाजनसंग अढाई सय रुपियाँ भएको थाहा पाउनुभएको थियो ।

श्लोक १२
कुनै कालमा म थिइन र तिमी पनि थिएनौ तथा हाम्रा सामुन्ने देखिएका राजाहरु थिएनन् भन्ने पनि होइन, र पछि पनि म, तिमी र यी सबै राजाहरु रहने छैनन् भन्ने पनि होइन ।

यो श्लोकको व्याख्या पछि ।

हजुरहरुको
इन्दिरा 


No comments:

Post a Comment