Thursday 10 April 2014

30. अहिलेसम्मको चर्चामा शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नुलाई हाम्रो भूल भन्यो गीताले ।

No 1

अहिलेसम्मको चर्चामा शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नुलाई हाम्रो भूल भन्यो गीताले ।

यो भूल मेटाउनकोलागि भगवान शरीर र शरीरीको भेद वताउंदै हामीलाई भन्नुहुन्छ, तिमी शरीर होइनौ । तिमी ज्ञाता (जान्ने) हौ, शरीर ज्ञेय (जान्नमा आउने) हो । तिमी सर्वदेशीय 'नित्यः सर्वगतः' (सर्वव्यापक) छौ, तर तिम्रो शरीर एकदेशीय ( एक ठाउँमा हुने, अर्को ठाउँमा नहुने) छ । तिमी चिन्मय लोकमा निवास गर्छौ, तर तिम्रो शरीर जड संसारमा निवास गर्छ । तिमी म परमात्माको अंश हौ, 'ममैवांशो जीवलोके', शरीर प्रकृतिको अंश हो 'मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि' । तिमी निरन्तर अमरतामा रहन्छौ, तर तिम्रो शरीर अमरतामा रहन सक्तैन । शरीरको क्षतिले तिमीलाई कत्ति पनि क्षति हुँदैन । त्यसैले शरीरलाई लिएर तिमीलाई शोक, चिन्ता, भय हुनु हुँदैन ।

यस्तै यस्तै कुरा हाम्रो बुद्धिले पचाउन गाह्रो पर्ने प्रसंग आउने भएर होला उहिले हाम्रा बुढापाकाहरु भन्ने गर्थे, 'गीता पढ्नु हुँदैन, गीता पढ्यो भने मान्छे वहुलाउँछ' । यसो हेर्दा उनीहरुको भनाइ ठीकै हो, किनभने गीताको उपदेश शुरु शुरुमा त हामीलाई पनि कहाली लाग्दो नै हुन्छ । तर, यो ग्रन्थको वारम्वार मनन गरेपछि यो कुरा ठीकै त हो नि जस्तो लाग्छ । हामीलाई अनुभव भएकै कुरा हो, हामीले हाम्रो विद्यार्थी अवस्थामा अध्ययन गरेका कुरा पनि सजिला त कहाँ थिए र! तर, अभ्यासले नै हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न सफल वनायो । यही नियम यो ग्रन्थको विषयमा पनि लागु हुन्छ जस्तो लाग्छ मलाई ।

फेरि, उहिले मान्छेहरु भन्ने गर्थे, 'फलानी महिला गीता पढेर वहुलाएकी हो' । किनभने गीता बुझेको मान्छेले गर्ने व्यवहार गीता नबुझ्ने मान्छेकोलागि अनौठो नै हुन्छ । यही क्रममा, भगवान अर्जुनलाई सिकाउनुहुन्छ, 'हे भरतवंशी अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानीहरु जुन प्रकारले कर्म गर्छन, आसक्तिरहित तत्त्वज्ञ महापुरुष पनि लोकसंग्रह गर्न परेको वेला त्यस्तै किसिमले कर्म गरोस' 'सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत । कुर्याद्विद्वान्स्तथासक्तश्चकीर्षु र्लोकसंग्रहम्'।।


यस्तै रहेछ, हजुर, गीता ज्ञानको रहस्य !

यो कुरा पनि एउटा महात्मावाट नै सुनेको: एकदिन उहाँ (महात्मा) एक दम्पतिसंग कतै गइरहनुभएको थियो । त्यो वेलामा श्रीमतीले महात्मासंग भनिछन्, 'स्वामीजी ! किन होला, कोही कोहीलाई सत्संगमा जान पटक्कै मन लाग्दैन ।' त्यही वेला उनका श्रीमानले महात्मासंग भनेछन, 'यो कुरा मेरो विषयमा भनिएको हो ।' फेरि तिनै श्रीमानले महात्मालाई सोधे, 'स्वामीजी, म हजुरलाई मन पराउंछु, हजुरसँग वस्न, यताउति जान मलाइ मन लाग्छ, तर हजुरको प्रवचन भएको 'हल'भित्र मलाई खुट्टै हाल्न मन लाग्दैन । यसको कारण के होला ?

महात्माको जवाफ, 'हरेक व्यक्तिले आफ्नो वारेमा, जगतको वारेमा, ईश्वरको वारेमा र आध्यात्मिक साधनाको वारेमा आफ्नै धारणा वनाएको हुन्छ । तर जव उ सत्संगमा जान्छ, त्यहाँ उसका सबै मान्यताहरु मुङ्ग्रो (hammer)ले सामान कुटिएको जस्तो शास्त्रीय बुँदाहरुले चुरचुर हुन्छन । यो कुरो उसलाई सह्य हुँदैन, त्यसैले उ सत्संगमा जाँदैन ।' अव के गर्ने होला लौ न हामीले ! ख्यालठट्टाको कुरा होइन रहेछ यो त !

अर्को शब्दमा, हाम्रो मोह (अज्ञान) हटाउने ज्ञानले नै हो । मोहको कारणले हामीलाई ममता हुने भयो । ममता भनेको हाम्रा वरपरका वस्तु र व्यक्तिमा हुने आसक्ति हो । यो ममतालाई 'राम्रो' मान्ने व्यक्तिको त कुरै गर्नु परेन । तर यो ममतालाई दोषको रूपमा स्वीकार गर्ने व्यक्तिले त सत्शास्त्रको अध्ययन गर्नुपर्ने रहेछ, शास्त्र आफूले पढेर मात्रै बुझिने विषय होइन, यसकोलागि अरु कुनै विशेषज्ञको परामर्शको जरुरत पर्छ हामीलाई । त्यसैले शास्त्रले हामीलाई सत्सँगमा जाने सल्लाह दिन्छ । सत्संगले हामीलाई विवेकरूपी शक्ति दिन्छ । यो विवेकले नै हामीलाई सत् के हो, असत् के हो, नित्य के हो, अनित्य के हो, गर्न हुने के हो, गर्न नहुने के हो भन्ने कुरा सिकाइरहन्छ ।

शास्त्रले हामीलाई भन्छ, हाम्रो आध्यात्मिक जीवनमा अघि वढ्न हामीलाई तीन कुराको आवश्यकता छ । ती हुन्: श्रवण, मनन र निदिध्यासन । श्रवण गर्दा अथवा शास्त्रको अध्ययन गर्दा शास्त्रमा भएका कुराहरुको ज्ञान हामीलाई हुन्छ । त्यसपछि ती ज्ञानहरुको विषयमा हामीले चिन्तन गर्नुपर्छ, चिन्तन गर्दा कति कुरो हामीलाई चित्त बुझ्छ, तर कति कुरो त चित्त नबुझ्न पनि सक्छ । त्यसकोलागि हामीले यो विषय सम्बन्धी विशेषज्ञसँग परामर्श गर्नुपर्छ । त्यसपछि आफूले धारण गरेको ज्ञानलाई आफ्नो जीवनमा प्रयोग गर्ने, त्यो क्रममा परेका वधाहरुको पहिचान गर्ने गरिरहनु पर्छ । यसो गर्दा गर्दा हामीलाई यो विषयमा रस लाग्न थाल्छ । यो वेलादेखि हाम्रो आध्यात्मिक यात्रा शुरु हुन्छ । 
 

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा
 
Songs from Hajurmas Cassette Collection: Sab Nidaye Parbhu Chaina Koi Satha Ma

 
 

No comments:

Post a Comment