Thursday 10 April 2014

31. No. 2 अहिलेसम्म हजुरहरुलाई मेरो लेख्ने शैली थाहा भइसकेको हुनुपर्छ ।

No. 2

अहिलेसम्म हजुरहरुलाई मेरो लेख्ने शैली थाहा भइसकेको हुनुपर्छ । गीताको दोस्रो अध्यायको ११ श्लोकको नै व्याख्या भैरहेछ । सबै व्याख्या एकै चोटी गर्दा पढ्नेलाई झर्को लाग्ने हो कि भनेर अरु अरु कुरा पनि लेखिंदैछ । यही सन्दर्भमा, एक जना सन्तको वचन:


एउटा वच्चालाई रोग लागेछ । डाक्टरले वच्चालाई राम्ररी जाँचेर भनेछ, 'यो वच्चालाई 'घिउ' खान दिनु' । घरका मान्छेले पनि डाक्टरको सल्लाह अनुसार वच्चालाई घिउ खान दिन थाले । केही दिनपछि वच्चालाई झाडा वान्ता लाग्यो । त्यो वेला चाहिं डाक्टरले भन्यो, 'यो वच्चालाई 'घिउ' पचेन, त्यसैले अवदेखि यसलाई घिउ, पिठो, चिनी, पानी राखेर 'हलुवा' खान दिनु' । यस्तै, खान त हामीलाई 'घिउ' (ज्ञान) नै खान पर्ने हो, तर, 'ज्ञान' मात्रैले नपच्ने हो कि भन्ने विचारले अलि अलि ज्ञानसंगै अरु ज्ञानसम्बन्धी नै चर्चा हुने गरेको छ, मेरो लेखाइमा ।

अर्जुनलाई ज्ञान दिने क्रममा दोस्रो अध्यायको एघारौँ श्लोकको व्याख्या गर्दै भगवान भन्नु हुन्छ, शरीरी (आत्मा) कुनै शरीरसँग पनि लिप्त छैन, यही कारणले यसलाई (शरीरी) सर्वव्यापी भनिएको हो, 'सर्वगतः', 'येन सर्वमिदं ततम्' । तात्पर्य हो कि साधकको स्वरूप सत्तामात्र छ; 'अव्यक्त', 'अव्यक्तादीनि भूतानि' । शरीर प्रतिक्षण नष्ट हुने खालको र असत् छ । असत् को सत्ता विद्यमान छैन, 'नासतो विद्यते भावः' । सत्ता नै विद्यमान नभएको शरीरलाई लिएर शरीरी (शरीरवाला) कसरी हुन सक्छ? त्यसैले साधक शरीर पनि होइन, शरीरी पनि होइन । तर, यो प्रकरणमा भगवानले साधकलाई बुझाउने दृष्टिले त्यो सत्ता मात्र स्वरूपलाई 'शरीरी' (देही) नाम दिनुभएको हो । 'तिमी शरीर होइनौ' भन्नकोलागि नै 'शरीरी' भनिएको छ यहाँ ।

एउटा कुरा बुझ्न कठिन जस्तो देखिन्छ । हामीले जन्मेदेखि नै यही शरीरलाई नै 'आफू' भन्दै आएका छौं । अहिले आएर गीताले 'तिमी शरीर होइनौ' भन्दा हामीलाई अलि अनौठो लाग्छ, साथै यो कुरा हाम्रो दिमागमा घुस्न पनि गाह्रो हुन्छ । अव वेदान्तमा चर्चा गरिने तीन सत्ताको उल्लेख गर्नु पर्नेभएको छ । तीन सत्ताहरू हुन्: (१) प्रातिभासिक सत्ता; (२) व्यावहारिक सत्ता; र पारमार्थिक सत्ता । 'प्रातिभासिक' सत्ता भनेको हाम्रो स्वप्नको अवस्था हो । स्वप्ना अवस्थामा स्वप्ना देख्न हामीले जाग्रत अवस्था छोड्नु पर्छ। अर्थात्, स्वप्न जगत् मा पुगेपछि हामीलाइ 'जाग्रत' अवस्थाको कुनै पनि भान हुँदैन । अर्को शब्दमा, जाग्रत अवस्थामा 'जाग्रत जगत्' सत्य र स्वप्न अवस्थामा 'स्वप्न जगत्' सत्य हुन्छ हामीलाई जति नै छोटो समय भए पनि । त्यस्तै, स्वप्न (प्रतिभासिक) सत्ता र जाग्रत (व्यवहारिक) सत्ता भन्दा पनि अर्को सत्ता छ, त्यो हो 'पारमार्थिक' सत्ता ।

हामी जाग्रत अवस्थामा जे जे गर्छौं, स्वप्न अवस्थामा पनि त्यही गर्छौं । अर्थात्, जाग्रत अवस्थामा हामीवाट भएका र हुने समस्त गतिविधि स्वप्न अवस्थामा पनि हुन्छ । अहिले जाग्रत अवस्थामा भएका समस्त कृयाकलाप हामीलाई 'साँचो' लाग्छ, त्यस्तै, त्यस्तै, स्वप्न अवस्थामा भएका सम्पूर्ण गतिविधि पनि हामीलाई स्वप्न देखुन्जेल 'साँचो' नै लाग्छ । स्वप्नवाट बिउँझेर जाग्रतमा आएपछि बेग्लै कुरा, स्वप्न देखुन्जेल स्वप्नमा देखिएका समस्त व्यक्ति, पदार्थ, वस्तु, देश, काल पनि त्यो वेला त 'साँचा' नै हुन्छन । हामी स्वप्नामा विहा पनि गर्छौं, परिवार पनि पाल्छौं, घर पनि वनाउँछौं, देश विदेश पनि घुम्छौँ, अनेक परिकार, मिठाई पनि खान्छौं, त्यो वेला सुखी दुःखी पनि हुन्छौँ । अर्को शब्दमा, हाम्रोलागि स्वप्न जगत र जाग्रत जगतमा कुनै पनि भेद हुँदैन । खालि फरक यत्ति हो कि, हामी स्वप्नवाट बिउँझेपछि त्यो स्वप्नलाई झूठो मान्छौं, जाग्रतलाई चाहिं झूठो मान्दैनौं ।

अव यहाँ कुरो आउँछ, स्वप्न जगत् र जाग्रत जगत् दुवै एक अर्कादेखि सर्वथा भिन्न छन् । हामी राति टन्न खाना खाएर सुत्छौँ, तर स्वप्नामा हामीलाई भोक लाग्न सक्छ, त्यस्तै, हामी स्वप्नामा टन्न खाएर बिउँझिन्छौँ, तर स्वप्नामा खाएको खानाले जाग्रतको हाम्रो पेट भर्न सक्तैन। त्यस्तै हामी जाग्रतमा जस्तै स्वप्नमा पनि सबै व्यवहार गर्छौं, तर स्वप्नमा गरेको क्रियाकलापले जाग्रतमा सन्तुष्टि दिन सक्तैन, र जाग्रतमा भएको क्रियाकलापले स्वप्नमा सन्तुष्टि दिन सक्तैन ।

माथि उल्लेखित स्वप्ना अवस्था (सत्ता) र जाग्रत अवस्था (सत्ता) दुबैदेखि पृथक पारमार्थिक सत्ता छ । यो सत्तामा अरु दुई सत्तामा जस्तो कुनै व्यक्ति, वस्तु, र पदार्थको जरुरत पर्दैन । स्वप्न सत्तामा र जाग्रत सत्तामा हामीले पाउने सुख-दुःख क्षणिक हुन्छ, तर परमार्थ सत्तामा मिल्ने आनन्दको वर्णन गर्न सक्तैन शास्त्रले पनि । अव यही क्रममा भन्नुपर्छ, जस्तो स्वप्नामा भएको अथवा गरेको भोगले हामीलाई जाग्रतमा आनन्द दिन सक्तैनन् र जाग्रतमा भएको र गरेको भोगले स्वप्नामा आनन्द दिन सक्तैनन, किनभने सत्ता फरक भएको हुनाले । यही कारण, जाग्रतमा र स्वप्नमा गरेको र भएको भोगले परमार्थमा शान्ति दिन सक्तैनन हामीलाई, यहाँ पनि त्यही कारण, एउटा मात्रै कारण, सत्ता पृथक भएकोले । वेदान्तले हामीलाई पारमार्थिक सत्ताको ज्ञान गराउन खोज्छ, कुनै व्यक्ति, वस्तु र पदार्थ विनाको असीम आनन्द, देशातीत, कालातीत, गुणातीत आनन्द, शान्ति र सन्तुष्टिको अधिकारी वनाउँछ । यही आनन्दको अधिकारी अर्जुनलाई माध्यम वनाएर भगवानले हामीलाई गीताको ज्ञान, उपनिषद्को ज्ञान, वेदान्तको ज्ञान भनिरहनु भएको छ । यो कुरा वुझाउन म कति सफल भएँ, थाहा छैन । एउटा सानो प्रसंगले आज विदा लिन्छु ।

लामो समयपछि दुइजना मित्रको भेट भएछ, एउटाले दोस्रोलाई सोधेछ: तिम्रो बिहे भयो? अर्कोको जवाफ: भयो । फेरि प्रश्न: कस्तो (सुख) छ त ? उत्तर: सुखै छ । प्रश्न: सुखै भनेको कस्तो? उत्तर: उनले झटारो हान्दा मलाई लाग्यो भने उनी सुखी हुन्छिन, उनले हानेको झटारो मैले छल्न सकें भने म सुखी हुन्छु , सुखै छ । यो कुराको विचार हजुरहरुले पनि गरिरहनु होला ।

हजुरहरुको
 
इन्दिरा

Song from Hajurmas Cassette Collection: Gara Rakhya Saba Ko Pasupatinath

No comments:

Post a Comment