Wednesday 16 April 2014

35. No. 6 अझै पनि दोस्रो अध्यायको वारहौं श्लोकको नै व्याख्या गर्नुछ हामीलाई ।

No. 6

अझै पनि दोस्रो अध्यायको वारहौं श्लोकको नै व्याख्या गर्नुछ हामीलाई ।

भूतकाल वितिसकेको समय हो, त्यसैले भूतकाल हामीवाट टाढा छ , त्यस्तै भविष्यकाल आएकै छैन, त्यो पनि हामीवाट टाढा नै छ । अव गीता भन्छ, वर्तमान पनि हामीवाट त्यत्तिकै टाढा छ । जस्तो भूत र भविष्यसँग हाम्रो कुनै सम्बन्ध छैन, त्यस्तै वर्तमानसँग पनि हाम्रो (स्वरूप) सम्बन्ध छैन । जव सम्बन्ध नै छैन भने भूत, भविष्य र वर्तमानमा के फरक भयो ? यी तीनै कालहरु काल अन्तर्गत छन्, जवकि हाम्रो स्वरूप कालदेखि 'अतीत' छ । कालको त खण्ड हुन्छ, तर स्वरूप (सत्ता) अखण्ड छ । शरीरलाई आफ्नो स्वरूप मान्दा नै भूत, भविष्य र वर्तमानमा फरक देखिएको हो । वास्तवमा भूत, भविष्य र वर्तमान विद्यमान नै छैन स्वरूपमा स्थित भएको व्यक्ति (ज्ञानी) को दृष्टिमा ।

अनेक युग वदलिंदा पनि शरीरी (आत्मा) वदलिंदैन, यो जस्ताको तस्तो नै रहन्छ । किनकि यो परमात्माको अंश हो । तर शरीर वदलिई नै रहन्छ, क्षण मात्र पनि उही को उही रहँदैन, किनकि यो प्रकृतिको (संसार) अंश हो ।

'हलुवा' खाँदा 'घिउ' खाने क्रममा ।

केही दिनअघि चर्चा भएको 'आयु'को विषयमा हामी मध्ये धेरैलाई लाग्न सक्छ, हाम्रो आयु हाम्रो जन्मसँगै 'निश्चित' हुने हो भने हाम्रो परम्परामा 'आयु' वढाउने कसरत किन गरिन्छ ?

मेरो विचार: वास्तवमा हामीले जे सुकै गरे पनि हाम्रो आयु वढ्न सक्तैन, तर हामी हाम्रो 'आयु' नघटाउन चाहिं सक्छौं । विचरा हाम्रो स्थूल शरीरले के गर्न सक्छ र ? यो शरीरलाई कसैले 'तँ को' भनेर सोध्यो भने यसले जवाफ पनि दिन सक्तैन । हामीलाई राम्रो अथवा नराम्रो जे गर्ने हो यही मन नै हो । त्यसैले मनलाई दुइतिर वग्ने नदी भन्छ शास्त्र । अरु सामान्य नदीहरु एकातिर, समुद्रतिर नै जान्छन, तर मनरूपी नदी त दुइतिर वग्छ-- यो कि त आफ्नो उद्धार गर्नतिर लाग्छ, कि त आफ्नो पतन गर्नतिर लाग्छ ।

शास्त्रमा आफ्नो उद्धारतिर लाग्ने मार्गलाई 'श्रेय मार्ग' भनिन्छ, आफ्नो पतनतिर लाग्ने मार्गलाई 'प्रेय मार्ग' भनिन्छ । गीताको अर्जुन र कठोपनिषदको कुमार (उनको उमेर त्यो वेला केवल नौ वर्षको थियो) नचिकेताले श्रेय मार्ग छाने, अर्थात् आफूलाई आइपरेको जटिल परिस्थितिमा पनि आफ्नो 'उद्धार' नै रोजे ।

फेरि आयुकै विषयमा जाँदा, शास्त्र भन्छ, हामीले यति पटक हामीले सास फेर्ने भन्ने कुराको निर्णय पहिले नै भइ सकेको हुन्छ । हाम्रो आयु घटाउने काम हामीले (मनद्वारा) गर्छौं । हामीलाई थाहा नै छ, जुनसुकै आवेग आउँदा पनि हाम्रो मुटूको धड्कन वढ्छ, त्यो वेला हामी चाहिने भन्दा वढी सास फेर्छौं । अर्को शब्दमा, हाम्रो हरेक आवेगमा, काम (इच्छा)को आवेगमा, क्रोधको आवेगमा, लोभको आवेगमा, ईर्ष्याको आवेगमा हाम्रो सासको गति निश्चय नै वढ्छ । जति जति हामी आवेगको वशमा पर्छौं, त्यति त्यति हाम्रो सास घट्दै जान्छ । फेरि हामीलाई रोग लाग्दा पनि हाम्रो आयु अघिपछिको भन्दा वढी व्यय हुन्छ । अर्थात्, हामीलाई एक दिनमा खर्च हुने सास (एक दिनमा एक स्वस्थ व्यक्तिले २१,६०० पटक सास फेर्छ ) भन्दा वढी सास हामीवाट फेरियो भने हाम्रो सासको व्यय वढी हुने भयो ।

फेरि, हामीले के खाने भन्ने कुरोको निधो पनि मनले नै गर्ने हो । अनि हाम्रो आयु घटाउने र घट्न नदिने काम हाम्रो नै भएन त !

हामी हाम्रो मनद्वारा नै आफ्नो शरीरलाई नचाहिने कुरा खुवाइरहेका हुन्छौं । त्यसैले शास्त्र भन्छ, 'सात्त्विक आहार' गर । आहार भन्दा यहाँ हाम्रो स्थूल शरीरले लिने आहार मात्रै होइन, हाम्रो सूक्ष्म शरीर (मन)ले लिने आहारको वढी महत्त्व छ । यही क्रममा मैले मेरो गुरुवाट सुनेको: निरोगी हुन, हाम्रो आयु नघटाउन र हाम्रो ज्ञान अड्न हामीले चार कुराको अभ्यास गर्नु पर्छ । ती हुन्: (१) सात्विक आहार; (२) सात्विक चिन्तन; (३) सात्विक कर्म ; (४) सात्विक संग ।

गीताको सत्रौं अध्यायमा सात्विक आहारको वर्णन;

'आयु: सत्त्वबलारोग्यसुखप्रीतिविवर्धना: । रस्या: स्निग्धा: स्थिरा: हृद्या: आहारा: सात्त्विकप्रियाः ।।' अर्थ, 'आयु, सत्त्व-गुण, बल, आरोग्य, सुख र प्रसन्नता बढाउने, स्थिर रहने (एक चोटी खाएपछि तीन या चार घण्टा भोक नलाग्ने) हृदयलाई शक्ति दिने, (यहाँ 'हृदय' भन्दा हाम्रो 'पम्प' गर्ने मुटू होइन, परमात्मा वस्ने 'हृदय'लाइ बुझाउँछ) रसयुक्त, तथा चिल्लो आहार अर्थात् भोजन गर्ने पदार्थ सात्विक मनुष्यलाई 'प्यारो' (मीठो) लाग्छ ।

राजसी भोजनको पनि वर्णन यसरी गरिन्छ गीतामा ।

'कट्वम्ललवणात्युष्णतीक्ष्ण रूक्ष विदाहिनः ।आहारा राजसस्येष्टा दुःखशोकामयप्रदा: ।।' अर्थ, 'अति तीतो, अति अमिलो, अति नुनिलो, अति तातो, अति पीरो, अति रूखो (सुक्खा) र अति दाहकारक आहार अर्थात् भोजनका पदार्थ राजस मनुष्यलाई प्यारो (मीठो) लाग्छ, यस्तो राजसी भोजन दुःख, शोक र रोगहरु निम्त्याउने हुन्छ ।'

अव तामसी भोजनको पनि वर्णन गरिहालौं न त ।

'यातायामं गतरसम् पूति पर्युषितं च यत् । उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।। सडेको, रसरहित, दुर्गन्धित (गन्हाउने), वासी र जूठो तथा महान् अपवित्र (माछा मासु) तामस मनुष्यलाई प्यारो लाग्छ ।

संक्षेपमा, माथि उल्लिखित यी तीन प्रकारका भोजनले नै हाम्रो आयु र गुण (सात्विक, राजस र तामस) निर्धारण हुने भयो । यही आधारमा सात्विक भोजनले साधकको 'आयु, सत्त्व गुण, बल, आरोग्य, सुख र प्रसन्नता वढाउने' काम गर्छ, राजसी भोजनले साधकलाई दुःख, शोक र रोगहरु प्रदान गर्छ । तर, तामसी भोजनले गर्ने प्रभावको वर्णन नै छैन गीतामा । किनकि तामसी भोजन मनुष्यले खाने भोजन नै भएन गीता अनुसार ।

हस् त हजुर, आजलाई यत्ति ।

हजुरहरुको

No comments:

Post a Comment