No. 9
हे कुन्तिनन्दन ! इन्द्रियहरुका विषय (जड पदार्थ) त शीत (अनुकूलता) र उष्ण (प्रतिकूलता) द्वारा सुख र दुःख दिने खालका हुन् तथा आउने-जाने खालका हुन् । हे भरतवंशी अर्जुन ! तिमी तिनीहरुको सहन गर ।
जस्तो शरीर कहिले पनि एकरूप रहँदैन, प्रतिक्षण वदलिई रहन्छ, त्यस्तै हाम्रो इन्द्रिय-मन-बुद्धिद्वारा जसको ज्ञान हुन्छ, ती सम्पूर्ण सांसारिक पदार्थहरु (समस्त प्रकृति र प्रकृतिको कार्य) कहिले पनि एकरूप रहँदैनन् । ती प्रकृतिका पदार्थहरुको निरन्तर संयोग र वियोग भैरहन्छ । यही परिप्रेक्षमा हाम्रो शरीर पनि प्रकृतिको नै कार्य हो । किनभने हाम्रो शरीर, इन्द्रियहरु, मन-बुद्धि पंचमहाभूतका कार्य हुन् । भगवान गीताको सातौँ अध्यायमा भन्नुहुन्छ,
'भूमिरापोनालो वायु: खं मनो बुद्धिरेव च । अहंकार इतीयं मे भिन्ना प्रक्रितिरष्टधा ।'
अर्थ, 'पृथ्वी, जल, तेज, वायु, आकाश (यी पाँच महाभूत) र मन, बुद्धि तथा अहंकार--यी आठ प्रकार भेद भएको मेरो 'अपरा प्रकृति' हो ।
अहिले सम्म हाम्रो मूल गल्ति नै यसैमा छ, पंच महाभूतवाट वनेका शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई 'म, मेरो' भन्नु । अहिले मात्रै भनिरहिएको हैन, अझ भविष्यमा पनि कति भनिने हो ! भगवान शंकराचार्य भन्नुहुन्छ,
'पुनरपि जननं पुनरपि मरणम्, पुनरपि जननिजठरे शयनम् । इह संसारे खलु दुस्तारे, कृपयापारे पाहि मुरारे ।। भजo
अर्थ, 'हे मूढमते ! अनादिकालदेखि तिमीले वारम्वार असंख्य जन्म लिइसक्यौ, अर्थात् तिमीले अनेक ऊँच नीच शरीर धारण गरिसक्यौ । असंख्य चोटी फेरि फेरि त्यही भयङ्कर मृत्यु पायौ, असंख्य माताहरुको दुर्गन्धमय कष्टकर उदरहरुमा सुत्यौ, अर्थात्, तिमीले यो असार संसारको जन्म मरण एवं गर्भशयनरूपी चक्रमा असंख्य चोटी फँसेर महाकष्ट उठायौ । हे मूढ ! अव त तिमी यो संसार-चक्रदेखि उठ्नकोलागि मुरारि भगवानसँग प्रार्थना गर, 'हे मुरारि प्रभु ! यो दुस्तर अपार संसारवाट मेरो उद्धार गर्नुहोस, मेरो शरण केवल हजुर मात्रै हुनुहुन्छ' । यसरी हरदम ती कृपानिधि गोविन्द भगवानको एकाग्र मनले भजन गर ।'
हामीलाई मन परेको पदार्थ पाउँदा हामीलाई खुशी लाग्छ, ती पदार्थ सँधै रहिरहून् भन्ने पनि हामी चाहन्छौं, ती पदार्थको वियोगले हामी दुःखी हुन्छौं । तर जुन पदार्थलाई हामी चाहँदैनौं, ती पदार्थ छुट्दा हामीलाई सुख हुन्छ र मिल्दा दुःख हुन्छ । किनकि पदार्थ पनि आउने-जाने र अनित्य छन् । यस्तै, यस्तै, जेवाट हामीलाई पदार्थको ज्ञान हुन्छ, ती इन्द्रियहरु र अन्तःकरण पनि आउने-जाने र अनित्य छन्, र पदार्थहरुवाट हुने सुख दुःख पनि आउने-जाने तथा अनित्य छन् । परन्तु स्वयं जस्ता-को-तस्तो रहने र निर्विकार तथा नित्य छ । यसैले ती पदार्थ र तिनवाट हुने सुख-दुःखलाइ सहनुपर्छ अर्थात् तिनीहरुसँगको संयोग र वियोगलाइ लिएर सुखी-दुःखी हुनुहुँदैन, केवल निर्विकार रहनुपर्छ । सुख र दुःख दुवै अलग-अलग हुन्छन्, तर तिनीहरुलाई 'देख्ने' एक नै हुन्छ र ती दुबैवाट अलग (निर्विकार) हुन्छ । परिवर्तनशीललाई असंग भएर देखेपछि स्वयं (स्वरूप) को अपरिवर्तनशीलताको अनुभव स्वतः हुन्छ ।
मलाई यो अवस्थामा राखेर यसरी हजुरहरुलाई दुइ शब्द लेख्ने क्षमता दिने (शरीर दृष्टिले हेर्दा) मेरा माता -पिताको शिक्षा- दीक्षा र मेरा मित्रवत् पतिसँगको निरन्तर साहचर्य र मेरो गुरुजीको उपदेश हो, र (पारमार्थिक दृष्टिले हेर्दा) सर्वव्यापक परमात्मा नै हो । हरि: ओं श्री गुरुभ्यो नमः हरिः ओं श्री गुरुभ्यो नमः ।
हस् त, आजलाई यत्ति, अरुपछि ।
हजुरहरुको
इन्दिरा
No comments:
Post a Comment