No. 11
श्लोक १५
किनकि हे पुरुषहरुमा श्रेष्ठ अर्जुन ! सुख-दुःखमा सम रहने बुद्धिमान मनुष्यलाई यी 'मात्रास्पर्श' (पदार्थहरु) विचलित (सुखी-दुःखी) गर्दैनन् । यस्तो मनुष्य अमर हुन समर्थ हुन्छ, अर्थात् त्यो मनुष्य अमर हुन्छ ।
स्वरूप सत्तारूप हो । सत्तामा कुनै दुःख छैन । शरीरमा आफ्नो स्थिति मान्दा, शरीरलाई 'म,मेरो' मान्दा नै दुःख हुने हो । त्यसैले शरीरलाई आफू मान्ने व्यक्ति कहिले पनि व्यथारहित हुन सक्तैन । व्यथारहित हुनुको अर्थ, आफूलाई प्रिय लागेको पाउँदा 'हर्षित' नहुने र आफूलाई अप्रिय लागेको पाउँदा 'उद्विग्न' नहुने । व्यथारहित भएपछि मनुष्यको बुद्धि स्थिर हुन्छ । यही 'व्यथारहित' हुने कुरालाई लिएर गीता भन्छ:
'न प्रह्रिष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् । स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थित: ।।
अर्थ, 'जसको अन्तःकरण समतामा स्थित छ, तिनले यो जीवित अवस्थामा नै सम्पूर्ण संसार जितेका हुन्छन् अर्थात् त्यस्ता व्यक्ति जीवन्मुक्त हुन्छन्, किनभने ब्रह्म निर्दोष र सम छ, त्यसैले उनीहरु ब्रह्ममा नै स्थित छन् ।'
अव कुरो आयो, यो 'समता' के हो ?
सम भनेको परमात्माको अर्को नाम हो । समतामा स्थित भएको भन्नु र परमात्मामा स्थित भएको भन्नु एकै कुरा हो । समतामा स्थित मान्छेले सर्वत्र परमात्माको अनुभव गरेको हुन्छ: त्यसैले उसले गर्ने हरेक कृयाकलापमा उसको ध्यान परमात्मामा हुन्छ । यही सन्दर्भमा, गीता भन्छ:
'विद्यविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिन: ।
अर्थ, 'ज्ञानी महापुरुष विद्या-विनययुक्त ब्राह्मणमा र चाण्डाल तथा गाइ, हात्ती र कुकुरमा पनि समरूप परमात्मालाई देख्छ ।'
ब्राह्मण, चाण्डाल, गाई, हात्ती र कुकुर--यी सबै हरदम वदलिइरहेका छन् र अभावमा गैरहेछन्, तर तिनीहरुमा रहेको भावस्वरूप जुन सत्-तत्त्व छ , त्यो कहिले पनि वदलिंदैन, जस्ता-को-तस्तो रहन्छ । ज्ञानीहरू त्यही सत्-तत्त्वलाई नै देख्छन् । जसरी एउटा कमिलाले वालुवामा मिसिएको चिनीको दाना समातेर निकाल्छ, त्यस्तै ज्ञानीहरुको विवेकवती सूक्ष्म दृष्टि असत् संसारमा व्याप्त सत् तत्त्व समात्छ । अर्थात्, ब्राह्मण होस् या चाण्डाल, गाई होस् या कुकुर, हात्ती होस् या कमिला, विषमभन्दा विषम प्राणीहरुमा पनि उनीहरुको दृष्टि सम नै रहन्छ । व्यवहार विषम (यथायोग्य) हुँदा पनि उनीहरुको दृष्टि कहिले विषम हुँदैन । गीताको दोस्रो अध्याय विशुद्ध ज्ञानयोग भएकोले यो कुरा बुझ्न यसको निरन्तर मनन अनिवार्य जस्तै देखिन्छ । यसपछिका अरु अध्यायका विषयहरु पनि यही अध्यायको नै वरिपरि घुम्ने हुनाले यो अध्यायले विशेष राख्छ ।
यही सन्दर्भमा एउटा कथा:
एउटा राजाका मदालसा नाम गरेकी रानी थिइन् । ती मदालसा आफ्नो छोरालाई वेदान्तको शिक्षा दिन्थिन् । उनले त्यो वालक सुताउन गाउने गीत यस्तो थियो:
'शुद्धोसि बुद्धोसि निरन्जनोसि संसार माया परिवर्जितोसि, संसार स्वप्ना त्यज मोह निद्रा.....'
अर्थ, हे बाबु ! तिमी शुद्ध छौ, तिमी बुद्ध छौ, तिमी निरन्जन छौ, तिमीमा कुनै पनि मैलो छैन, कुनै पनि अशुद्धता छैन, संसारको मायाले तिमीलाई छुन पनि सक्तैन । (यो कुरा मदालसाले स्वयंलाई लिएर भनेकी हुन्) । यो संसार स्वप्ना हो, यसमा किन्चित्मात्र पनि सत्यता छैन । यो संसारलाई सत्य त मोहले देखिने हो, त्यसैले तिमीले यस्तो मोह छोड ।'
यसरी हुर्काउँदा उनले अरु कति शास्त्रीय कुराहरु आफ्नो छोरालाई सिकाइन् होला । त्यो राजकुमार ठूलो भएपछि 'म राज्य गर्दिन' भनेर घरवाट हिंडेर संन्यासी भयो । त्यसपछि दोस्रो छोरालाई त्यही अर्ति उपदेश दिंदा दिंदा त्यो राजकुमार पनि सन्यासी हुनलाई घर छोड्यो । त्यही प्रकारले तेस्रो छोरो पनि जोगी हुन घरवाट हिंड्यो । त्यसपछि चौथो वच्चा जन्मने वेलामा राजाले ती मदालसालाई भने, 'हेर महारानी ! तिम्रो अर्ति उपदेशले तीनोटा राजकुमारहरु वनवास गइसके, अव यो वच्चालाई तिमी यस्तो अर्ति उपदेश नदेऊ, यो वच्चाले हाम्रो राज्य चलाउनु पर्छ ।'
मदालसाले राजाको आज्ञा मानेर त्यो कान्छो छोरोलाई केही पनि सिकाइनन् । एक त राजाको छोरा, त्यसमाथि कुनै संस्कार नपाएपछि त्यो राजकुमार भोगी, विलासी भयो । यस्तो देखेर मदालसाले आफ्नो मृत्यु हुनु भन्दा केही समय अघि त्यो राजकुमारलाई एउटा बूटीमा केही लेखेर उसको घाँटीमा झुन्ड्याउन लगाइन् र भनिन्, 'हे वाबु, तिमीलाई अत्यन्त दुःख परेको वेलामा तिमीले यो बूटी खोलेर हेर्नु र त्यही अनुसार गर्नु' ।
मदालसाको निधन भयो, यही क्रममा वावु पनि मरेकोले त्यो राजकुमार राजा भयो । उसको विलासिता पनि झन् झन् बढ्दै गयो । त्यसै वीच त्यो राजकुमारको पहिले नै सन्यासी भएर घर छोडेर हिंडेको दाजुलाई आफ्नो भाइ विग्रेको देखेर नराम्रो लाग्यो । उनले आफ्ना चेला काशीका राजालाई आफ्नो भाइको राज्यमा हमला गर्न आदेश दिए । आफ्नो गुरुको आज्ञा मानेर काशीका राजाले पनि राजकुमारको राज्यमा हमला गरे । राजकुमार यसै त व्यसनी थियो, उसले आफ्नो राज्य हार्ने नै थियो, हार्यो । यो घटनाले त्यो राजकुमार अत्यन्त चिन्तित भयो । उसले इनारमा हाम्फालेर मर्ने इच्छा गर्यो । त्यही वेला उसले आफ्नो घाँटीको बूटी देख्यो । उसले आफ्नो आमाको आज्ञा सम्झेर त्यो बूटी खोल्यो, जसमा लेखिएको थियो, 'तिमी आफ्नो संन्यासी दाजुकहाँ जाऊ' ।
त्यो राजकुमार पनि सोही अनुसार त्यो संन्यासी दाजुकहाँ गयो । ती संन्यासीले आफ्नो भाइलाई वेदान्तको ज्ञान सुनाए, भाइलाई सबै कुराको ज्ञान भयो, उसको मोह हरायो । त्यसपछि ती संन्यासीले आफ्ना भाइलाई भने, 'अव तिमी आफ्नो राज्यमा जाऊ र राज्य गर।' त्यही वेला ती भाइ राजाले भने, 'मेरो राज्य त मैले हारिसकें, मेरो राज्य कहाँ छ र ?' आफ्नो गुरुको आज्ञा अनुसार काशीका राजाले आफूले जितेको राज्य फिर्ता दिए र ती सुधारिएका राजाले पनि ज्ञानपूर्वक, विवेकपूर्वक राज्य गरे ।
यसवाट हामीलाई थाहा हुन्छ, एउटा कुलमा कोही व्यक्ति ज्ञानी भयो भने उसले आफ्नो कुलकालाई र अरु आफ्ना वरिपरिकलाई पनि सपार्छ । अर्को कुरा, यो संसारमा कर्म गर्न भनौं या व्यवहार गर्न, हामीलाई ज्ञानकै आवश्यकता पर्ने रहेछ, नभए त हाम्रो यो लोक पनि विग्रने रहेछ, परलोक पनि विग्रने रहेछ ।
हस् त हजुर, आजलाई यत्ति, अरु पछि ।
No comments:
Post a Comment