Wednesday 16 April 2014

37. No. 8 तेर्ह्रौं श्लोकको नै व्याख्या :

No. 8

तेर्ह्रौं श्लोकको नै व्याख्या :

जीव आफ्नो कर्मको फल भोग्नको अनेक योनिहरुमा जान्छ, नरकमा जान्छ, स्वर्गमा पनि जान्छ । यही कथनवाट सिद्ध हुन्छ कि चौरासी लाख योनिहरु छुटछन्, स्वर्ग र नरक पनि छुटछन्, तर स्वयम् (शरीरी) उही रहन्छ । योनिहरु (शरीर) वदलिन्छन, जीव (शरीरी) वदलिंदैन । जीव एक नै रहन्छ, त्यही भएर नै ऊ अनेक योनिहरुमा, अनेक लोकहरुमा जान्छ । जो अनेक योनिहरुमा जान्छ, ऊ स्वयम् कसैसँग लिप्त हुँदैन, कहीं पनि फँस्दैन । यदि ऊ लिप्त हुने भए, फँस्ने भए चौरासी लाख योनिहरु कसले भोग्ने ? स्वर्ग र नरकमा को जाने ? मुक्त को हुने ?

जन्मने र मर्ने हाम्रो धर्म होइन, शरीरको धर्म हो । हाम्रो आयु अनादि र अनन्त छ । यो आयु अन्तर्गत अनेक शरीरहरु उत्पन्न हुन्छन, र मरिरहन्छन । जस्तो हामी अनेक वस्त्र वदलिरहन्छौं, तर वस्त्र वदल्दा पनि हामी वदलिंदैनौ, उहीको उही रहन्छौं । त्यस्तै, अनेक योनिहरुमा जाँदा पनि हाम्रो सत्ता नित्य-निरन्तर जस्ताको तस्तो रहन्छ । भन्न खोजिएको कुरा, हाम्रो स्वतन्त्रता र असंगता स्वतःसिद्ध छ । हाम्रो जीवन कुनै एक शरीरको मात्र अधीन छैन । असंग भएको कारणले नै हामी अनेक शरीरहरुमा जाँदा पनि उहीको उही रहन्छौं, तर शरीरसँग सम्बन्ध मानेको कारण हामी फेरि फेरि अनेक शरीरहरू धारण गरिरहन्छौं । हामीले मानेको सम्बन्ध अडदैन, तर हामी अझ नयाँ नयाँ सम्बन्ध वनाइरहन्छौं । यदि हामी नयाँ नयाँ सम्बन्ध वनाउदैनौं भने हाम्रो मुक्ति (स्वाधीनता) स्वतःसिद्ध छ ।

गीताको यो अध्यायको नाम नै ' सांख्ययोग' हो । भनिन्छ, भगवानले सबभन्दा पहिले अर्जुनलाई सांख्ययोग (ज्ञानयोग) को उपदेश गर्नुभयो । तर उपदेश दिने क्रममा अन्तर्यामी प्रभुले अर्जुनले यो ज्ञान बुझ्न नसकेको जस्तो लागेर उहाँले यही अध्यायमा नै 'बुद्धियोग', कर्मयोगको पनि व्याख्या गर्नुभयो । तर वीच वीचमा उहांले ज्ञानयोगको प्रशंसा पनि गर्नुभयो । अर्जुनले दोस्रो अध्यायमा वर्णित ज्ञानयोग बुझ्न सकेको भए गीता दोस्रो अध्यायमा नै समाप्त भइसक्थ्यो । त्यसैले, शास्त्रमा श्रोताको श्रेणीको वारेमा पनि चर्चा भएको छ ।

कठोपनिषदमा वर्णित नचिकेतालाई 'उत्तम' श्रोताको रूपमा लिनुपर्छ, अर्जुन 'मध्यम' श्रोताको दर्जामा पर्छन । यो कुराको पुष्टिकोलागि एउटा प्रसंग निवेदन गरिहालौं ।

महाभारतको युद्धको अवसरमा अर्जुनले भगवानवाट गीताको उपदेश सुने । त्यो वेला उनले भगवानसँग भने:

'नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत । स्थितोस्मि गतसन्देह: करिष्ये वचनं तव ।।

अर्थ,'हे अच्युत! हजुरको कृपाले मेरो मोह नष्ट भयो र मैले स्मृति प्राप्त गरें ।
अहिले म सन्देहरहित भएको छु, अव म हजुरको आज्ञा पालन गर्छु ।'

त्यसपछि भगवानको उपदेश अनुसार अर्जुनले युद्ध गरे र युद्ध जिते पनि । केही वर्षपछि भगवान वासुदेवसँग कुनै प्रसंगमा अर्जुनले भने: 'हे कृष्ण ! हजुरले मलाई महाभारतको युद्ध हुनु भन्दा केही समय अगाडि गीतोपदेश गर्नुभएको थियो । अहिले म त्यो गीताको ज्ञान सम्झन्न । कृपा गरेर मलाई त्यो गीताको उपदेश फेरि गर्नु होस् ।'

अर्जुनको यस्तो वचन सुनेर भगवानले भन्नुभयो: 'हे अर्जुन ! त्यति खेर मैले तिमीलाई त्यो ज्ञान भनेको वेला म 'योग'मा आरूढ़ (त्यसैले संजयले भगवानलाई गीताको अन्तिम श्लोकमा 'योगेश्वर' भनेर सम्बोधन गरेका छन्) भएको थिएँ । तिमीलाई म अव त्यो ज्ञान फेरि भन्न सक्तिन ।' त्यसपछि उहाँले 'केही त भन्नै पर्यो' भन्ने लागेर अर्जुनलाई 'अनुगीता' सुनाउनु भयो । तर भगवदगीताको जस्तो ज्ञान अनुगीतामा छैन भनिन्छ ।

अव हामी विचार गरौँ, के भयो त अर्जुनलाई ?

अर्जुनले भगवानलाई आफ्नो मोह नष्ट भएको कुरा पनि गरे, त्यही अनुरूप युद्ध पनि गरे । तर उनको मोह छोटो समयकोलागि मात्रै हटेको रहेछ । किनकि अर्जुन महाभारतको युद्धपछि युधिष्ठिरले राज्य गर्दा त्यो राजकाजमा नै अलमलिए, आफूले पाएको गीताको उपदेशतिर उनको ध्यानै गएन । कालान्तरमा उनले आफूले केही समय अघि पाएको ज्ञान विर्से, फेरि सुन्न इच्छा गर्दा त्यो अवसर पाएनन् उनले ।

युद्धपछि पनि अर्जुनले आफूले पाएको त्यत्रो वहुमूल्य ज्ञानको श्रवण, मनन र निदिध्यासन गरिरहनु पर्थ्यो, त्यो नगरेको भएर उनले जानेको ज्ञान लोप भयो । कतै हामीले आर्जन गरेको ज्ञान पनि त्यस्तै भइरहेको त छैन ?

यही क्रममा गीताको चौथो अध्यायमा वर्णन भएको वेदान्तमा आवश्यक तीन साधनको पनि वयान गरौँ न त ।

'श्रद्धावाँल्लभते ज्ञानम् तत्पर: संयतेंद्रिय: । ज्ञानं लब्ध्वा परां शान्ति मचिराणेधिगच्छति ।।

अर्थ, जितेन्द्रिय तथा साधनपरायण र श्रद्धावान मनुष्य ज्ञान पाउँछ ज्ञान पाएर ऊ तत्काल परम शान्ति पाउँछ ।'

अर्थात्, वेदान्तको अधिकारी हुन हामीले श्रद्धावान हुनु पर्यो, तत्पर (साधनपरायण) हुनु पर्यो, र आफ्नो इन्द्रियहरु वशमा गर्न सक्ने हुनु पर्यो । यस्तो विचार गर्दा हामीलाई थाहा हुन्छ, हामीले गर्नु परेको 'साधन'वारे वारम्वार 'पुनरावृत्ति' भइरहेछ । वास्तवमा साधकलाई पुनरावृत्ति गराउने नै उद्देश्य हो शास्त्रको । त्यसो भए मात्रै त्यो विषय हाम्रो बुद्धिमा स्थिर रहन्छ ।




आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

Song from Hajurma's Cassette Collection: Rachana Timro Apar Bhagwan

No comments:

Post a Comment