No. 10
यहाँ 'शीत' शब्द अनुकूलता र 'उष्ण' शब्द प्रतिकूलताको वाचक हो । तात्पर्य, धेरै जाडो हुँदा पनि वृक्ष (रुख) सुक्छ, धेरै गर्मी हुँदा पनि वृक्ष (रुख) सुक्छ, त्यसैले परिणाममा जाडो र गर्मी दुबैले वृक्षलाई सुकाउने नै हो, दुबैले गर्ने काम (नाश) नै हो । त्यस्तै, अनुकूलता र प्रतिकूलता पनि एकै हुन् । यदि हामी आफ्नो जीवनमा आइ पर्ने अनुकूलता र प्रतिकूलताको प्रभाववाट वच्न सक्तैनौं भने हामीलाई शोक, भय र चिन्ताले सताउने तथ्य अवश्यम्भावी छ । यही कारण भगवान यी दुबैलाई सहनु पर्ने कुरा, यी दुवैवाट माथि उठ्ने कुरा गर्नुहुन्छ, अर्जुनलाई ।
सुख-दुःख हर्ष-शोक, राग-द्वेष, काम-क्रोध आदि आउने-जाने, वदलिने स्वभावका छन्, तर स्वयं (स्वरूप) जस्ता-को-तस्तो रहने स्वभावको छ । हामीवाट ठूलो गल्ति यही भइरहेछ, हामी वदलिने दशा हेर्छौं, तर स्वयंलाइ हेर्दैनौं । दशालाई स्वीकार गर्छौँ, तर स्वयंलाइ स्वीकार गर्दैनौं । दश पहिले पनि थिएन र पछि पनि रहँदैन, अतः वीचमा देखिंदा पनि त्यो (दशा) छँदै छैन । तर स्वयंमा आदि, अन्त र मध्य छँदै छैन । दशा कहिले पनि एकरूप रहँदैन र स्वयं कहिले अनेकरुप हुँदै हुँदैन । जे देखिन्छ, त्यो पनि दशा हो र जुन देख्ने बुद्धि हो, त्यो पनि दशा हो । जान्नमा आउने पनि दशा हो र जान्ने पनि दशा हो । स्वयंमा न देखिने छ, न देख्ने छ, न जान्नमा आउने छ, न त जान्ने नै छ । यी देख्ने-देखिने आदि सबै दशाकै अन्तर्गत हुन । देखिने-देख्ने त रहँदैनन्, तर स्वयं रहन्छ; किनकि दशा त मेटिन्छ, तर स्वयं रहिरहन्छ । तात्पर्य, 'देखिने' (दृश्य)सँग सम्बन्ध हुँदा नै स्वयं 'देख्ने' लाइ (द्रष्टा) भनिन्छ । यदि 'देखिने'सँग सम्बन्ध नै नरहे स्वयं त रहन्छ, तर उसको नाम 'देख्ने' (द्रष्टा) रहँदैन । यस्तै, यस्तै 'शरीर'सँग सम्बन्ध भएकोले नै स्वयं (चिन्मय सत्ता) 'शरीरी' भनिन्छ । यदि 'शरीर'सँग सम्बन्ध नरहे स्वयं त रहन्छ, तर उसको नाम 'शरीरी' रहँदैन । भगवानले केवल मनुष्यलाई सम्झाउनकोलागि नै 'शरीरी' भन्नुभएको हो ।
वेदान्तको 'सार' नै यही हो ।
विडम्बना यसैमा छ, स्वयंको सत्ता नभई दशा हुनै सक्तैन, कोठामा उज्यालो नभई कोठाका वस्तु देख्नै सकिंदैनन्, हाम्रा इन्द्रियहरुमा स्वयंको प्रकाश नभई यिनीहरु कुनै काम नै गर्न सक्तैनन्, त्यो सत्ताको प्रकाश विना हाम्रो मनले केही सोच्नै सक्तैन, त्यही सत्तावाट सत्तावान् भएर नै हाम्रो बुद्धिले निश्चय गरिरहेछ, त्यति मात्र होइन, त्यही सत्तावाट नै समस्त जगत् चलिरहेको छ । तर, हामी त्यो स्वयंलाई, त्यो प्रकाशलाई, त्यो सत्तालाई स्वीकार्दैनौं, तर जुन सत्तावाट हाम्रो शरीर सहित यो समस्त सृष्टि चलि रहेको छ, त्यो शरीर र सृष्टिलाई स्वीकार्छौं । अर्को शब्दमा, हामी 'द्रष्टा'लाई स्वीकार्दैनौं, 'दृश्य'लाई स्वीकार्छौं, कारणलाई स्वीकार गर्दैनौं, कार्यलाई स्वीकार गर्छौं ।
हामीले गरेको यस्तो भूल सच्च्याउने जिम्मेवारी पनि हाम्रै हो । त्यो भूल सच्च्याउन केही गर्नु पर्दैन, यति मात्रै गरे पुग्छ, जेलाई अहिलेसम्म स्वीकारिरहिएको थियो, त्यसलाई अवदेखि, अझ अहिलेदेखि नै नस्वीकार्ने, जेलाई स्वीकारिएको थिएन, त्यसलाई अवदेखि, अझ अहिलेदेखि नै स्वीकार्ने । अर्थात् अहिलेसम्म 'म, मेरो' भनिरहेको शरीरलाई म, मेरो भन्न छोडिदिने र अहिलेसम्म 'म' नभनेको स्वयंलाई म भन्ने वानी वसाल्ने । महात्माहरु भन्नुहुन्छ, हामीवाट हुने सबभन्दा ठूलो 'पाप' आफ्नो 'स्वरूप'लाइ नचिन्नु नै हो ।
अव प्रश्न आउँछ, हामीलाई त्यस्तो के प्रतिवन्ध छ, जसले गर्दा हामीले परमात्मालाई म नभनेर, संसारलाई म भनिरहेका छौं ? त्यसको एक मात्र कारण, शास्त्र भन्छ, हाम्रो अज्ञान नै हो । अज्ञानको उत्पत्ति रजोगुणवाट हुन्छ । यो गुणले हामीलाई सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो देखाइदिन्छ । हामी मध्ये धेरैले वेदान्तको सबै भन्दा धेरै प्रचलित 'डोरी र सर्प'को प्रसंग थाहा पाएकै हुनुपर्छ ।
कल्पना गरौँ, अष्टमीको रात छ, यो वेला पुर्णिमाको ज्योत्स्ना पनि छैन, औसीको वाक्लो अन्धकार पनि छैन । यही पूर्णिमाको रातमा हामी कतै गैरहेका छौं, अचानक वीच वाटोमा हामी सर्प देख्छौं, त्यो देखेर हामी डराउँछौं, रुन्छौँ, कराउँछौं, जमीनमा पछारिन्छौँ, हात खुट्टा पनि भाँच्छौं । यही समयमा कोही व्यक्ति हामी कराएको सुनेर घटनास्थलमा आउँछ, उसले आफ्नो हातमा रहेको 'torch light' वाल्छ, त्यो ठाउँ उज्ज्यालो हुन्छ । त्यसपछि हामीलाइ थाहा हुन्छ, अष्टमीको आधा उज्यालो र आधा अँध्यारोमा त हामीले सत्य ठानेको 'सर्प' त एक फिट लामो, गुजुल्टिएको एउटा डोरी रहेछ । त्यो दृश्य देखेपछि हामी शान्त हुन्छौं, हामी रुन, कराउन त छोड्छौं, तर हामीलाई लागेको चोट पटक त केही समयसम्म रही नै रहन्छ ।
अव हामी विचार गरौँ, यो के भएको त ? अष्टमीको रातको समाधान: यो रातमा पूरै उज्ज्यालो पनि छैन, पूरै अँध्यारो पनि छैन । यदि पूर्णिमाको रात भएको भए पूरा उज्यालो हुन्थ्यो, हामी डोरीलाई डोरी नै देख्थ्यौं, डोरीलाई सर्प मान्ने 'भ्रम' हुने थिएन, यदि औंसीको नै रात भएको भए पनि हामी केही पनि देख्दैनथ्यौं, हामीलाई भ्रम हुने थिएन, हाम्रो हात खुट्टा भाँचिने थिएन । यही भ्रमलाई नै 'मिथ्याज्ञान', अर्थात् 'अज्ञान मिसिएको ज्ञान' अर्थात् 'अपूर्ण ज्ञान' भन्छन् । अहिले हाम्रो हालत त्यही छ, आफूले आफूलाई जानेको जस्तो पनि ठान्छौं, वेला वेलामा आफूमा नै अपूर्णताको अनुभव पनि गर्छौं । 'सबै भन्छन् म पागल, यस्तै छ मेरो हाल' ।
No comments:
Post a Comment