Wednesday 16 April 2014

34. पहिले गीताको वारहौं श्लोकको नै व्याख्या गर्ने हो कि ?

पहिले गीताको वारहौं श्लोकको नै व्याख्या गर्ने हो कि ?

यो भन्दा अघिको 'सत्ता'को प्रसंगको व्याख्या गर्दै गीता भन्छ, परमात्माको सत्ता र जीवको सत्ता एकै छ, अर्थात् 'छ' र 'छु' अथवा 'हो' र 'हुँ' दुबैमा एक नै चिन्मय सत्ता छ । 'म' (अहम्)को सम्बन्धले नै 'छु' छ । यदि 'म' (अहम्) सँग सम्बन्ध नरहे 'छु' रहँदैन, खालि 'छ' नै रहनेछ । त्यही 'छ' अथवा 'हो' अर्थात चिन्मय सत्तामात्र नै हाम्रो स्वरूप हो, शरीर हाम्रो स्वरूप होइन । यसैले शरीरलाई लिएर शोक गर्नुहुँदैन ।

यहाँ विचारयोग्य कुरो हो, 'छु' अथवा 'हुँ' र 'छ' अथवा 'हो'मा तात्त्विक अन्तर के छ त? 'छ' अथवा 'हो' भन्दा त्यसमा कुनै पनि मिश्रण आदि केही छैन, यसमा केवल शुद्ध, बुद्ध, नित्य, अविनाशी, निर्विकार, निराकार 'आफू'लाइ लिनु पर्यो साधकले । तर 'छु' र 'हुँ' भन्ने वित्तिकै 'जगत्' खडा हुन्छ । संसार भन्दा एकदम पृथक 'छ' अथवा 'हो' भन्ने स्वरूपले 'हुँ' र 'छु' भन्दा आफू दुर्गतिमा पर्यो, उसको विनाश भयो । यही 'पतीत' 'छु' र 'हुँ' भन्ने जीवलाई नै 'छ' र 'हो' भन्ने कला सिकाउने शास्त्रको नाम नै उपनिषद् हो ।

यो 'छ' र 'हो' मा केही पनि छैन, संसार, शरीर, नातागोता, धन सम्पत्ति, जग्गा घर, केही पनि छैनन्, यहाँसम्म कि इन्द्रियहरु, मन, बुद्धि, अहंकार, महत्तत्त्व, अव्यक्त प्रकृति केही पनि छैनन् । केवल सत्, चित्, आनन्द, बुद्ध्मार्गीको 'शून्यवाद'को पनि साक्षी नाम, आकार र रुपदेखि पनि 'विलक्षण' तत्त्व 'छ' अथवा 'हो' हो । यसैलाई गीतामा भगवान भन्नुहुन्छ, 'अव्यक्तोय मचिन्त्योयमविकार्योयमुच्यते, तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि', अर्थ, 'यो देही (शरीरी) प्रत्यक्ष देखिंदैन, यो चिन्तनको विषय पनि होइन, यसलाई निर्विकार भनिन्छ, (वास्तवमा यसलाई 'निर्विकार' भनेको पनि विकारको दृष्टिले नै हो) अतः यो देहीलाई 'यस्तो हो' भन्ने जसले जान्दछ, (जान्दछ भन्नाले पूर्णरूपले बुझ्ने, अनुभव गर्ने ) उसलाई शोक हुँदैन ।

मेरा मित्रहरु, मैले पनि यहाँ श्रवण र मननकै क्रममा सिकेको, यो आउँदो नयाँ वर्षको पुनीत अवसरमा हामीले एउटा 'प्रण' (pledge) गर्ने हो कि! मैले चाहिं, वैशाख १ गतेदेखि 'किन' र 'कसरी' भन्ने शब्द प्रयोग नगर्ने भएकी छु । सन्तहरुको उपदेशमा पनि यही भनिएको छ, हामीले हाम्रो जीवनमा आध्यात्मिक उन्नति चाहने हो भने यी दुई शब्दलाई त्याग्न सक्नुपर्छ । यी दुइ शब्दले 'संसार'मा, अझ व्यवहारमा, अनावश्यक वहस निम्त्याउँछन्, साथै 'अध्यात्म'मा संशय र अश्रद्धा पैदा गर्छन् । सकेसम्म यी शब्दहरुको प्रयोग कम गर्ने, हैन, व्यवसायमा नै असजिलो हुन्छ भने यसलाई अत्यन्त 'हल्का' (lightly) रूपमा प्रयोग गर्ने । यी शब्दले नै हाम्रो 'अहंकार' नजानिँदो रूपले वढिरहेको हुन्छ । हाम्रो ज्ञानलाई ढाक्ने 'अहंकार' नै हो, अहंकार नहटी हाम्रो ज्ञान प्रकट हुने होइन ।

अरु कुरा त म के भनौं, २०७१ साल हामी सबैको 'आध्यात्मिक' उन्नतिकोलागि लाभदायक वनोस् । 'ओम् असतो मा सद्गमय; तमसो मा ज्योतिर्गमय; मृत्योर्मा अमृतम् गमय । ओम् शान्ति: शान्ति: शान्ति:' 'हरि ओम् श्री गुरुभ्यो नमः हरि ओम् '

हजुरहरुको

इन्दिरा

No comments:

Post a Comment