Wednesday 16 April 2014

36. No. 7 श्लोक १३ जस्तो यो मनुष्य शरीरमा वालकपन, जवानी र वृद्धावस्था हुन्छ, त्यस्तै अर्को शरीरको पनि प्राप्ति हुन्छ ।


No. 7
श्लोक १३


जस्तो यो मनुष्य शरीरमा वालकपन, जवानी र वृद्धावस्था हुन्छ, त्यस्तै अर्को शरीरको पनि प्राप्ति हुन्छ । यस्तो विषयमा धीर मनुष्य शोक गर्दैनन् ।

यो श्लोक पनि पहिलेकै दुइ श्लोकको विस्तार हो । यसमा भनिएको छ, शरीर कहिले पनि एकरूप रहँदैन, अर्थात् यो शरीरलाई एक चोटी देखेपछि अर्को चोटी देख्दा (एक सेकेन्डको मात्रै अन्तर भए पनि) उही रूपमा देख्न सकिंदैन, किनकि शरीरको प्रतिक्षण नाश भैरहेको छ । तर सत्ता कहिले पनि, कुनै वेला पनि, अनेकरुप हुँदै हुँदैन, किनभने यसको कहिले पनि, कुनै वेला पनि नाश छैन ।

शरीर जन्म भन्दा पहिले पनि थिएन, मरेपछि पनि रहँदैन र वर्तमानमा पनि प्रतिक्षण मरिरहेको छ । वाल्यावस्था मर्छ, युवावस्था आउँछ, युवावस्था मर्छ, वृद्धावस्था आउँछ, वृद्धावस्था मर्छ, देहान्तर अवस्था आउँछ, अर्थात् अर्को शरीरको प्राप्ति हुन्छ । वाल अवस्था, युवा अवस्था र वृद्धावस्था स्थूल शरीरको हो र देहान्तरको प्राप्ति सूक्ष्म शरीर तथा कारण शरीरको हो । परन्तु स्वरूपको चिन्मय सत्ता यी सबै अवस्था हरु भन्दा अतीत छ । अवस्थाहरु वदलिन्छन, तर स्वरूप चाहिं उही को उही नै रहन्छ । यस्तो किसिमले शरीर-बिभाग र सत्ता-विभागलाई छुट्ट्याउन जान्ने पुरुष नै तत्त्वज्ञ हो । त्यस्तो तत्त्वज्ञ पुरुष कहिले पनि, कुनै पनि अवस्थामा मोहित हुँदैन ।

हामीलाई हुने मोह नै शरीरलाई विनाशी मान्न नसकेर हो । जुनसुकै वस्तुलाई पनि जस्ताको तस्तो स्वीकार गर्न सक्नु पर्यो हामीले । शास्त्र भन्छ, विनाशी शरीरलाई विनाशी मान, अविनाशी शरीरी (आत्मा)लाई अविनाशी मान, यसमा प्रयत्न नै के गर्नु पर्यो र ! हामीलाई चिन्ता, शोक र भय हुनाको कारण नै जुन वस्तुको स्वभाव जे जस्तो हो, त्यसलाई त्यस्तो मान्न नसक्नु । त्यसको कारण एक मात्र अज्ञान नै हो भन्छ शास्त्र ।

शरीर मर्ने भन्ने कुरा पहिलो पटक सुन्दा हामीलाई डर जस्तो पनि लाग्छ, सुनी नै हाले पनि भित्रदेखि नै पत्याउन मन लाग्दैन । यो सत्य हामीले नदेखेको पनि होइन, आफ्नै आँखाले देखिरहेका छौं, क्षण क्षण । राजकुमार सिद्धार्थलाइ यही कुरो देखाएका थिएनन् राजा शुद्धोधनले । तर राजाले नचाहँदा नचाहँदै पनि सिद्धार्थलाई यस्ता दृश्य--रोग, बुढ्याइं र मृत्युले कति विचलित गरायो ! त्यही द्वन्द्ववीच त्यस्तो शोक र मोहको उपाय पनि सिद्धार्थले देखे--सिद्ध पुरुष । त्यही सिद्ध पुरुषको ज्ञानको आकर्षणले उनलाई जवान श्रीमती, वालक छोरो र आफ्नो राज्य त्याग्ने आँट दियो । सिद्धार्थले सारा दुनियाँलाई पर्ने मृत्युदेखि उन्मुक्ति हुने उपाय खोजे, पाए पनि ।

धैर्य गरेर विचार गर्दा हामीलाई थाहा हुन्छ, सृष्टिको हरेक वस्तु, व्यक्ति र पदार्थको हर पल नाश भै रहेको छ । हाम्रै शरीरमा क्षण क्षणमा हजारौं cell को जन्म भैरहेछ, हजारौं cell को मृत्यु पनि भइरहेछ । तर हामी यतातिर दृष्टि नै दिंदैनौं, आफ्नै सूरमा दौडिरहन्छौं, कुनै निकाश नै नखोजी । अरु परचक्रीलाई यस्तो घटना पर्दा हामीलाई कुनै फरक पर्दैन, अझ त्यति मात्र हो र, अरुलाई पर्दा हामी शिक्षा पनि दिन सक्छौं, तर आफूलाई पर्दा हामी विचलित हुन्छौं, आफूलाई जस्तो अवस्था कसैलाई परेको छैन कि भने जस्तो गरेर रोइ कराइ गर्छौं । जहाँ हाम्रो आसक्ति छ, त्यहाँ नै हाम्रो मन विचलित हुन्छ । के हो, के हो, के गर्ने, के नगर्ने !

उपनिषद्को ज्ञान पचाउन हामी सक्दैनौं, यसैले अरु संस्थातिर लाग्छौं, किनभने ती संस्थाहरुले हाम्रो मनोदशा बुझेका हुन्छन् , यही अनुसार हामीलाई शिक्षा दिन्छन् । तर शास्त्र भन्छ, वेदान्त, उपनिषद्को ज्ञान नबुझी व्यक्तिको मोह, शोक चिन्ता हट्दैन । हामीलाई मोह हटाउने इच्छा छ भने हामीले यो वेदान्तको महत्त्व बुझ्नु पर्छ, यसको श्रवण , मनन र निदिध्यासन गर्नु पर्छ, यसले भनेको उपदेशहरुलाई आफ्नो जीवनमा लगाउन तयार हुनुपर्छ, निरन्तरको मनन र चिन्तनले आफूमा त्यो खूवीको विकास गर्न खोज्नु र सक्नु पर्छ । त्यसकोलागि तुलसीदासजी भन्नुहुन्छ, ' विनु सत्सँग विवेक न होइ, रामकृपा विनु सुलभ न सोइ'। अर्थ, 'सत्सङ्ग नभई विवेक हुँदैन, त्यो सत्संग पनि रामको कृपा नभई हुँदैन'।

यो कुरा पनि बुझेका छौं हामीले कि संसारिक जीवनमा, यो शब्दले धेरै महत्त्व राख्छ । अव प्रश्न छ, कुनै व्यक्तिलाई 'ईश्वर कृपा' प्राप्त हुन कस्तो हुनु पर्ला । शास्त्रमा धेरै ठाउँमा भनिएको छ, ईश्वर कृपा भनेको सन्तसँगको भेट नै हो । किनकि ईश्वर त निराकार तत्त्व छ, ईश्वर साकार रूपले आएर जिज्ञासुलाई ज्ञान दिएको भन्ने प्रसङ्ग हामीले धेरै कम सुनेका छौं । यही क्रममा शास्त्र भन्छ,'मनुष्यत्वं मुमुक्षुत्वं महापुरुष संश्रय:' । अर्थ, 'यो संसारमा सब भन्दा पहिले मनुष्य जन्म पाउन नै गाह्रो छ, त्यसपछि वेदान्त जान्ने इच्छा हुन नै कठिन छ, फेरि त्यसमाथि महापुरुषको संगत पाउनु त झन् गाह्रो हुन्छ ।'

गीतामा भगवान भन्नुहुन्छ, 'मनुष्याणाम् सहस्रेषु कश्चिद्यतति सिद्धये । यततामपि सिद्धानां कश्चिंमां वेत्ति तत्त्वतः ।। अर्थ, 'हजारौं मनुष्यहरुमा कुनै एकले सिद्धि (आफ्नो कल्याण) कोलागि यत्न गर्छ र ती यत्न गर्ने सिद्धहरुमा पनि कुनै एकले मात्रै मलाई पाउँछ ।'

हस् त हजुर, मेरा कुरा जति गरे पनि सकिंदैनन्, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

No comments:

Post a Comment