Sunday 27 April 2014

47. No. 18 श्लोक १७ कै विस्तार:

No. 18 

श्लोक १७ कै विस्तार:

यो सत्रौं श्लोकले  जीवात्माको साधर्म्य सर्वव्यापक परमात्मासँग छ भन्ने कुरामा जोड दिइरहेको छ । त्यसैले जस्तो परमात्मा संसारसँग असंग हुनुहुन्छ, त्यस्तै जीवात्मा पनि शरीर-संसारसँग स्वतः स्वाभाविक असंग छ । यही हुनाले जीवको स्थिति कुनै एक शरीरमा मात्रै छैन । ऊ कुनै पनि शरीरसँग टाँसिएको छैन । तर जीवलाई उसको असंगताको अनुभव नभएर नै जन्म-मरण भइरहेको छ ।       

अहिले हामीले वर्णन गरिरहेको प्रसङ्ग उपनिषद्को 'तत्त्वमसि' कै विस्तार हो । यही ज्ञानले नै हामीलाई शरीर र संसारसँग असंग रहन सिकाउँछ । हामीले यसरी असंग रहन जान्यौं भने शरीर र संसार सम्बन्धी घटनाले हामीलाई विचलित गराउन सक्तैनन् । हामीले जानेको ज्ञान कसैलाई प्रदर्शन गर्न होइन, आफूले आफुलाई नै परिष्कृत गराउन हो । 

अव अलिकति हलुवा खानु पर्यो ।   

सनत, सनातन, सनन्दन र सनतकुमार ब्रह्माजीका मानसपुत्र हुन् । उनीहरुको  उमेर पाँच वर्ष भन्दा वढी नहुने थियो । उनीहरुले  वालक कालमा नै संन्यास लिएका थिए । उनीहरु चार जना जुन वेला पनि सत्संग गरिरहन्थे । कहिले एउटाले ज्ञानको चर्चा गर्ने, अरु तीनले सुन्ने, कहिले अर्कोले गर्ने, अरु तीनले सुन्ने गरेर आफ्नो जीवन विताइरहेका थिए, उनीहरु भगवत चर्चामा नै आनन्दित हुन्थे । यिनीहरु नारद ऋिषका दाजु हुन् । नारद ऋिषलाई मोह हुँदा यी चार कुमारहरुवाट ज्ञान सुनेर नारदजीको मोह हटेको थियो ।  भागवतमा हामीले पढ्ने अथवा सुन्ने ज्ञान, भक्ति, वैराग्यको प्रसंगमा पनि भागवत भनेर भक्तिको दुःख हटाउने पनि यी दाजु भाइ नै हुन् ।         

सनतकुमारवाट नै वैदिक गुरु परम्पराको प्रारम्भ भयो । हुन त यिनीहरुलाई ज्ञान नभएको होइन, तर पनि गुरु नभई ज्ञान हुन सक्तैन भन्ने संदेश दिनकोलागि पनि हो कि, एक चोटी यी ऋिषकुमारहरु गुरु खोज्दै देश विदेश घुम्न हिंडे । धेरै ठाउँ पुगेपछि पनि यी कुमारहरुले आफूलाई चित्त बुझ्दो गुरु पाएनन् । यही कारण उनीहरु निराश वनेर फर्के । तर भगवान् शंकरलाई उनीहरु निराश भएको ठीक लागेन, यसो हुँदा गुरु नै नभए पनि ज्ञान हुन्छ भन्ने गलत प्रचार हुने सम्भावना देखिन्थ्यो । भगवान शंकरले ब्राह्मणको भेष लिनुभयो र  कैलाश (कैलाश त उत्तरतर्फ छ,) वाट दक्षिणतर्फ फर्केर (किनभने सनतकुमारहरु दक्षिणतिर नै आइरहेका थिए) वस्नु भयो । फेरि, हाम्रो वेदमा उत्तर शब्दले 'माथि' र दक्षिण शब्दले 'तल' भन्ने बुझाउँछ । सिक्ने चेलोको स्तर कम भएकोले ऊ दक्षिणमा वसेर उत्तरतिर फर्कन्छ, तर गुरुको ज्ञानको स्तर माथि भएकोले ऊ चेलोकोलागि उत्तरवाट दक्षिणतिर (आफ्नो स्वरूपको स्थितिवाट चेलोको स्थितिमा आएर) फर्केर आफ्नो चेलोलाई ज्ञान सिकाउँछ ।

सनत्कुमारले ती ब्राह्मणलाई देखेर श्रद्धापूर्वक दर्शन पनि गरे । त्यही वेला ती ब्राह्मण भेषधारी शंकरले ती ब्रह्माजीका पुत्रहरुलाई ज्ञान मुद्रा देखाउनु भयो । ज्ञान मुद्रा भनेको दाहिने हातको बुढी औंला र चोरी औंला गोलो पारेर  जोड्ने र वांकी तीन औंला छुट्टै राख्ने हो । बुढी औंला 'ईश्वर'को प्रतीक हो र चोरी औंला 'जीव'को प्रतीक हो, वांकी तीन औंला तीन गुणका प्रतीक हुन् (कान्छी औंला 'सत्त्वगुण', साँहिली औंला 'रजोगुण' र माहिली औंला तमोगुण) ।  जीवले तीन गुणलाई छोडेर ईश्वरतिर लाग्यो भने शान्ति पाउँछ, होइन, तीन गुणतिर नै लाग्छ भने बन्धनमा पर्छ भन्ने संकेत गर्छ यो मुद्राले । यो देखेपछि ती कुमारहरुले ती ब्राह्मणरूपी शिवजीलाई गुरु माने । त्यही वेला देखि भगवान शंकरको नाम 'दक्षिणामूर्ति' भयो । त्यही वेलादेखि गुरु परम्परा पनि चल्यो ।  हामीले मान्ने गुरु पूर्णिमाको दिन गरिएको पूजा दक्षिणामूर्तिको शंकरको  नै पूजा हो ।  भगवान शंकराचार्य आफ्नो 'दक्षिणा मूर्ति स्तोत्र'मा भन्नुहुन्छ,                         

'तस्मै श्रीगुरुमूर्तये नम इदं श्रीदक्षिणामूर्तये '
 
अर्थ, तस्मै = त्यस्ता अद्भूत श्रीगुरुमूर्तये = श्रीगुरुमूर्तिरूप श्रीदक्षिणामूर्तये = श्रीदक्षिणामूर्ति भगवान् श्री महादेवलाई   नम = श्रद्धाभक्तिपूर्वक नमस्कार छ ।        

अर्थ, यस्तो अद्भुत साक्षात्कार जुन शिवरूप गुरुवाट मलाई प्राप्त छ, त्यस्तो श्रीगुरुमूर्ति-रुप श्रीदक्षिणा-मूर्ति भगवान् श्रीमहादेवलाई यो श्रद्धाभक्तिपूर्वक नमस्कार छ ।           

भनिन्छ, उनीहरुलाई भगवानको वैकुण्ठमा विना रोकटोक आउने जाने सुबिधा थियो । एक दिन वैकुण्ठ जाँदा ढोकामा पालो वसेका जय विजयले उनलाई वैकुण्ठ जान दिएनन् । यो कुराले ती ऋिषकुमारहरुले जय विजयलाई वैकुण्ठवाट झरेर पृथ्वीलोकमा तीन जन्मसम्म राक्षस हुनु पर्ने श्राप दिए । ती जय र विजयले त्यस्ता ज्ञानी महापुरुषहरुलाई अपमान गरेको कारणले नै राक्षस जुनी लिनु पर्यो । त्यही श्रापको कारणले नै उनीहरु एक जन्ममा हिरण्य कशिपू र हिरण्याक्ष, एक जन्ममा रावण र कुम्भकर्ण र एक जन्ममा शिशुपाल र दन्तवक्त्र भएर जन्मे । यिनीहरु राक्षस वनेर जन्मेकोले नै हिरण्यकशिपूको वध गर्न नृसिंह, हिरण्याक्षलाई नाश गर्न वराह, रावण र कुम्भकर्णको वध गर्न राम र शिशुपाल र दंतवक्त्रको वध गर्न कृष्णको अवतार लिनु पर्यो भगवानले ।    

कति गन्थन गर्नु !                             

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment