Monday 5 May 2014

57. No. 28 श्लोक २९ कोही यो शरीरीलाई आश्चर्य जस्तो गरी देख्छ (अनुभव गर्छ) र त्यस्तै अर्को

No. 28

श्लोक २९

कोही यो शरीरीलाई आश्चर्य जस्तो गरी देख्छ (अनुभव गर्छ) र त्यस्तै अर्को
कुनै यसलाई आश्चर्य जस्तो गरी वर्णन गर्छ र अर्को कोही यसलाई  (शरीरीलाई
) आश्चर्य जस्तो गरी सुन्छ र सुनेर पनि कोही यसलाई जान्नै सक्तैन, किनकि
यो तत्व (शरीरी) दुर्विग्येय छ ।

यो शरीरीलाई आश्चर्य  जस्तो जान्नु भनेको, अरु चीजहरु देख्न, सुन्न, पढ्न
र जान्नमा आउँछन्, त्यसैगरी यो देही जान्नमा आउँदैन । किनभने अरु
वस्तुहरु इदामताले जानिन्छन्, तर यो देही इन्द्रिय, मन,बुद्धिको विषय
होइन । यो शरीरीलाई त स्वयंले, आफैंले नै जानिन्छ । आफैं जानिने वस्तु
लौकिक ज्ञान जस्तो नभएर अत्यन्त विलक्षण हुन्छ ।

जस्तो दीपक (वत्ति) स्वयं प्रकाश छ, वत्तीलाई देख्न अर्को प्रकाशको जरुरत
छैन, त्यस्तै  यो देही (स्वरूप ) स्वयम् प्रकाश छ । यो आफैंले आफूलाई
जान्दछ । त्यसैले यसलाई जान्नु संसारिक वस्तु जस्तो जान्ने नभई वहुत
विलक्षण हुन्छ, यसैले यसलाई 'आश्चर्यवत् पश्यति' भनिएको हो ।

यहाँ भगवान भन्नुहुन्छ, यस्तो शरीरीको आफैंले आफैंमा अनुभव गर्ने कुनै एक
(दुर्लभ) नै हुन्छ। यही कारण यहाँ 'कश्चित्' पद आएको छ । यहाँ यो इंगित
गरिन्छ, यो तत्व जान्नु त्यति कठिन छैन, तर यो तत्वलाई साँचो हृदयले
जान्ने, यतातिर लाग्ने व्यक्तिको चाहिं अत्यन्त कमी छ । यस्तो कमी हुनुको
कारण पनि हाम्रो यो तत्वाप्रतिको जिज्ञासाको कमी नै हो ।

यो तत्व (शरीरी)को वारेमा वताउने महापुरुष पनि यसको वर्णन आश्चर्य जस्तो
गरी नै गर्छ, किनभने यो तत्व वाणीको विषय होइन । जसवाट (जुन तत्ववाट वाणी
प्रकाशित हुन्छ, त्यसलाई वाणीले कसरी प्रकाशित गर्ला ? यो तत्वलाई वर्णन
गर्ने महापुरुष पनि यसलाई 'शाखाचन्द्रन्याय' जस्तो वाणीले यसको केवल
संकेत मात्र गर्छ, जसवाट श्रोताको यो तर्फ लक्ष्य होस् ।

'शाखाचन्द्रन्याय' भनेको,  चतुर्थीको रात छ, कसैलाई चन्द्रमाको दर्शन
गर्नु परेको छ, उसले चन्द्रमालाई देख्न सक्तैन । अर्को व्यक्तिले उसलाई
चन्द्रमा देखाउनु परेको छ, तर त्यो व्यक्तिले पनि अर्को व्यक्तिलाई त
ठ्याक्कै भन्न सक्तैन । उसले यसरी भन्छ, 'हेर मेरो हातको लट्ठीलाई, उ
त्यो रुखलाई पनि हेर, त्यो रुखको दुइ हाँगाको वीचमा एउटा हँसिया जस्तो
आकारको एउटा सेतो घेरा देख्यौ, हो, त्यही हो चन्द्रमा' । वास्तवमा वताउने
व्यक्तिले अर्को व्यक्तिलाई केही गरे पनि चन्द्रमा देखाउन सक्तैन, खालि
संकेत मात्र गर्न सक्छ, त्यस्तै यसको वर्णन पनि आश्चर्य जस्तो नै हुन्छ ।

अर्को कुरा, जति पनि (यो शरीरी)लाई  जान्ने हुन्छन्, त्यसको वर्णन गर्ने
पनि ज्यादै कम हुन्छन् । सबै अनुभवी तत्वज्ञ महापुरुष पनि त्यो तत्वलाई
विवेचन गरेर श्रोतालाई त्यो तत्वसम्म पुर्याउन सक्तैनन्, श्रोताको
शंकाहरुको, तर्कहरुको पूर्णरूपले समाधान गर्नै सक्तैनन् ।

फेरि श्रोता पनि हालसम्म शास्त्रहरूको, लोक परलोकको वर्णन मात्रै सुन्दै
आएका हुनाले यो तत्वको यस्तो किसिमको वर्णन उनीहरुलाई विलक्षण लाग्छ ।
किनभने उनीहरुले अहिलेसम्म सुन्दै आएका सबै विषयहरु  इन्द्रीयहरू, मन,
बुद्धिको विषय हुन्छन्, तर यो देही इन्द्रियहरुको विषय नभएर यिनीहरुलाई
पनि प्रकाशित गर्ने विषय हो । त्यसैले यो विषयका श्रोता यो देहीको
विलक्षण कुरा आश्चर्य जस्तो गरी सुन्छन् ।

यहाँ गीताको अर्को आशय, जान्ने व्यक्ति र भन्ने व्यक्ति भन्दा पनि
विल्कुल अलग  सुन्ने व्यक्ति (तत्व जिज्ञासु) हुन्छ ।

यो तत्वलाई कुनै कुनै व्यक्ति त सुनेर पनि जान्दैनन् । यसको तात्पर्य,
खालि सुनेर मात्रै यसलाई जान्न कोही पनि सक्तैन । जव  व्यक्ति यो तत्वको
वारेमा सुनेपछि यसैमा स्थित होला, त्यो वेला मात्रै ऊ आफैंले आफैंलाई
जान्ला ।

यहाँ यो पनि भनिन्छ, यो कुरा बुझ्न साधक स्वयम् नै शास्त्र र गुरुमा
श्रद्धा-विश्वास गर्छ, शास्त्र  र  गुरुको सम्मुख हुन्छ ।
श्रद्ध-विश्वासपूर्वक सुन्दा स्वरूपमा स्थित हुन त अवश्य मदत मिल्ला, तर
स्वरूपमा स्थित त स्वयम् नै हुन्छ । यति धेरै कुरा भन्नु पर्ने तात्पर्य,
तत्वज्ञान असम्भव छ भन्नु नभएर यसको ज्ञान करण सापेक्ष नभएर करण निरपेक्ष
छ भन्नु नै हो । हामीले कुनै पनि तरिकाले तत्वज्ञान जान्ने प्रयत्न किन
नगरौं, तर यसलाई आफैंले आफैंमा जान्नु पर्छ । यसको वास्तविक बोध त करण
निरपेक्ष छ ।

अलि ध्यान दिनु पर्ने कुरा, स्वयम् द्वारा जानिने ज्ञान दुइ तरहको हुन्छ
-- (१) शरीर संसारसंग मेरो भिन्नता छ ; (२) परमत्मासंग मेरो अभिन्नता छ ।
 अर्को शब्दमा, (१) परिवर्तनशील नाशवान पदार्थहरुसँग मेरो कत्ति पनि
सम्बन्ध छैन र (२) अपरिवर्तनशील अविनाशी परमात्मासंग मेरो नित्य सम्बन्ध
छ । यस्तो जानेपछि फेरि स्वतः अनुभव हुन्छ । यो अनुभवको वर्णन वानीले हुन
सक्तैन ।

परमात्मतत्व केवल सुनेर मात्रै जान्न सकिंदैन, सुनेर उपासना गरे जान्न
सकिन्छ । यदि परमात्मतत्वको वर्णन गर्ने व्यक्ति अनुभवी भए र सुन्ने
व्यक्ति श्रद्धालु र जिज्ञासु भए तत्कालै ज्ञान हुन सक्छ ।

यो श्लोकले पनि हामीलाई धेरै कुराको जानकारी दिन्छ, यदि हामी आफ्नो
साधनामा सावधान छौं भने ।

No comments:

Post a Comment