Thursday 8 May 2014

59. No. 31 यही अध्यायको एघारौं श्लोकदेखि तीसौं श्लोकसम्म भगवानले अर्जुनलाई खालि शरीर र शरीरी वीचको भेद वारे धेरै प्रकारले बुझाउनु भयो ।

No. 31


यही अध्यायको एघारौं श्लोकदेखि तीसौं श्लोकसम्म भगवानले अर्जुनलाई खालि शरीर र शरीरी वीचको भेद वारे धेरै प्रकारले बुझाउनु भयो । यसको तात्पर्य, हामीले पनि आफ्नो जीवनमा  सवभन्दा पहिले जान्नु पर्ने कुरो नै शरीर र शरीरीको भेद रहेछ । त्यसपछि मात्रै अरु अरु कुरा जान्नु पर्ने रहेछ । अव भगवान अर्जुनले युद्धवाट भागेदेखि निकट भविष्यमा नै उनलाई पर्न सक्ने  संकट देखाउंदै स्वधर्म पालन गर्न अर्जुनलाई प्रेरित गर्नु  हुन्छ । ज्ञान भनेकै त्यही रहेछ ।हामीले हरेक कर्म शुरु गर्दा त्यो कर्म गरेर हामीलाई के फाइदा हुन्छ, के वेफाइदा हुन्छ भनेर विचार गरेर गरेको कर्मले हामीलाई भविष्यमा दुःख दिंदैनन् । होइन भने,  हामीले गरेको कर्मको परिणामले हामीलाई दुःखै दिन्छ । यही उल्लेख भएको छ अव आउने प्रसंगमा ।      

श्लोक ३१ 

तिम्रो आफ्नो क्षात्रधर्म देखेर (विचार गरेर) पनि तिमी विकम्पित अर्थात् कर्तव्य-कर्मदेखि विचलित हुनुहुँदैन; किनकि धर्ममय युद्ध भन्दा ठूलो क्षत्रियकोलागि कल्याणकारक कर्म अर्को हुँदैन ।

जीव स्वयं परमात्माको अंश हो । जव यो जीव शरीरसँग तादात्म्य गर्छ, त्यो वेला ऊ स्वयंलाई अर्थात् आफूले आफैंलाई जे जस्तो मान्छ, त्यो वेला उसको कर्तव्य स्वधर्म भनिन्छ । यही सन्दर्भमा, कसैले आफूलाई ब्राह्मण, कसैले क्षत्रिय, वैश्य अथवा शुद्र मान्छ, त्यो वेला उसले आफ्नो वर्णधर्म अनुसार कर्तव्यहरुको पालन गर्नु उसको स्वधर्म हुन्छ । त्यस्तै, कसैले आफूलाई शिक्षक, कसैले नोकर मानेको हुन्छ, त्यो वेला उसले आफ्नो पेशा अनुसारको कर्तव्य पालन गर्नु उसको स्वधर्म भानिन्छ । 

यहाँ क्षत्रियको कर्तव्य कर्मलाई 'धर्म' भनिएको छ । क्षत्रियको मुख्य कर्तव्य हो -- युद्धदेखि विमुख नहुनु । अर्जुन क्षत्रिय हुन्, त्यसैले युद्ध गर्नु उनको स्वधर्म हो । यसैले भगवान भन्नुहुन्छ, यदि स्वधर्मको हिसावले हेर्ने हो भने पनि क्षात्रधर्म अनुसार तिम्रोलागि युद्ध गर्नु नै कर्तव्य हो । आफ्नो कर्तव्यवाट  विमुख हुनुहुँदैन । 

अर्जुनले यही अध्यायको  सातौं श्लोकमा भगवानसँग प्रार्थना गरेका थिए, 'हजुर मेरोलागि निश्चित श्रेयको उपाय वताउनुहोस्' । यसको उत्तरमा भगवान भन्नुहुन्छ, 'तिम्रोलागि 'श्रेय' त आफ्नो धर्मको पालन गर्दा नै हुन्छ । कुनै पनि दृष्टिले आफ्नो धर्मको त्याग कल्याणकारक छैन । अतः तिमीले आफ्नो युद्धरूप धर्मवाट विमुख हुनु हुँदैन ।'

पहिलो प्रकरणमा देह-देहीको वर्णन भएपछि अव भगवान केही श्लोकसम्म देहीको स्वधर्मपालन (कर्तव्यपालन)को वर्णन गर्नुहुन्छ ।उहाँको विचारमा देह-देहीको विवेकले जुन तत्व पाइन्छ, त्यही तत्व देहको सदुपयोगले, स्वधर्म पालनले पनि पाउन सकिन्छ ।विवेकमा 'जान्नु' मुख्य हुन्छ, स्वधर्म पालनमा 'गर्नु' मुख्य हुन्छ । व्यवहारमा र परमार्थमा, लोक र परलोकमा विवेक सबैतिर काम लाग्छ । तर, देह-देहीको विवेक बुझ्न नसक्ने व्यक्तिलाई भगवान स्वधर्म पालनको कुरा गर्नुहुन्छ, यसो हुँदा त्यो व्यक्ति कोरा वाचक ज्ञानी नवनेर वास्तविक तत्वको अनुभव गर्न सकोस् । 

तात्पर्य, कुनै व्यक्ति परमात्मतत्व जान्न चाहन्छ , तर तीक्ष्ण बुद्धि र तीव्र वैराग्यको कमीले ज्ञानयोगले जान्न सकेन भने ऊ कर्मयोगले परमात्मतत्व जान्न सक्छ; किनकि ज्ञानयोगले हुने अनुभव कर्मयोगवाट पनि हुन सक्छ । 

अर्जुन क्षत्रिय थिए, त्यसैले भगवानले यो प्रकरणमा क्षात्रधर्मको कुरा गर्नुभएको छ । वास्तवमा क्षात्रधर्म चारै वर्णको प्रतिनिधि हो। तात्पर्य, ब्राह्मणले उसको वर्ण अनुसारको कर्म गर्ने, क्षत्रियले क्षात्रधर्म अनुसारको कर्म गर्ने, त्यस्तै, वैश्य र शुद्रले पनि आफ्नो आफ्नो वर्णले भने जस्तो कर्म गर्ने । 

'स्वधर्म'लाई नै स्वभावज कर्म, सहज कर्म, स्वकर्म पनि भनिएको छ । स्वार्थ, अभिमान र फलेच्छा छोडेर अरुको हितकोलागि कर्म गर्नु स्वधर्म हो । स्वधर्मको पालन नै कर्मयोग हो । 

No comments:

Post a Comment